पिएम कप क्रिकेटमा प्रदेश १ र एपीएफ विजयी

काठमाडौँ । राजधानीमा जारी पीएम कप पुरुष एकदिवसीय क्रिकेट प्रतियोगीतामा मंगलबार प्रदेश एक र विभागीय टोली एपीएफ क्लबले जीत हासिल गरेको छ ।

मंगलबार कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा मंगलबार बागमती प्रदेशलाई ६९ रनले हराउँदै प्रदेश–१ ले पहिलो जित निकालेको हो । प्रदेश–१ ले दिएको ३ सय ५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बागमतीले ४५ ओभर ५ बलमा अलआउट हुँदै २ सय ३५ रन मात्र बनाउन सक्यो । बागमतीका लागि नन्दन यादवले ४३ रन बनाए । इशान पाण्डेले ३५ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले २७ रन जोडे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ४९ ओभर ५ बलमा अलआउट हुँदै ३ सय ४ रन बनाएको थियो । प्रदेश–१ का लागि अंकित सुवेदीले १ सय १० रनको शतकीय इनिङ खेले । उनले १ सय ३४ बलमा १२ चौका र १ छक्का प्रहार गरे । कप्तान सिद्दान्त लोहनीले ७२ रनको अर्धशतकीय इनिङ खेले । यस जितसँगै समूह ’बी’ मा प्रदेश–१ ले २ खेलमा २ अंक जोडेको छ । प्रदेश–१ दोस्रो स्थानमा रहेको छ । बागमती प्रदेशको यो लगातार दोस्रो हार हो ।

त्यस्तै मुलपानी क्रिकेट मैदानमा मंगलबार सुदुरपश्चिम प्रदेशलाई १० विकेटले हराउँदै एपीएफले लगातार दोस्रो जित निकालेको हो । सुदुरपश्चिमले दिएको ६८ रनको लक्ष्य एपीएफले ११ ओभर २ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । एपीएफको जितमा ओपनर आशिफ शेखले अविजित ४२ रन जोडे । अर्का ओपनर प्रदिप ऐरी २५ रनमा अविजित रहे ।

त्यसअघि पहिले ब्याटिङ गरेको सुदुरपश्चिमले २७ ओभरमा अलआउट हुँदै ६७ रन बनाएको थियो । मैदान ओसिलो भएपछि ढिला खेल सुरु हुँदा खेल ४३ ओभरमा झारिएको थियो । यस जितसँगै एपीएफले २ खेलमा २ अंक जोडेको छ । एपीएफ समूह ’ए’ को शीर्ष स्थानमा उक्लिएको छ । सुदुरपश्चिमको यो लगातार दोस्रो हार हो ।

कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *