पीएम कप पुरुष क्रिकेटमा गण्डकी प्रदेशकाे विजयी सुरुआत

काठमाडौँ । गण्डकी प्रदेशले पीएम कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । टियु क्रिकेट मैदानमा सोमबार सुदूरपश्चिम प्रदेशलाई ६९ रनले हराउँदै गण्डकीले सुखद् सुरुआत गरेको हो । गण्डकीले दिएको २ सय ९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको सुदूरपश्चिमले ३२ ओभर ४ बलमा अलआउट हुँदै १ यस ३९ रन बनाउन सक्यो । सुदुरपश्चिमका मिलन बोहराले ५१ रनको अर्धशतकीय इनिङ खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै गजेन्द्र बोहराले ३५ रन जोडे । बसन्त कार्की १० रनमा आउट भए । गण्डकीका विपिन कार्कीले ४ विकेट लिए । सुवास भण्डारी र अभिषेक बस्नेतले २÷२ विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८ रन बनायो । गण्डकीका लागि अर्जुन कुमालले ६३ रनको अर्धशतकीय इनिङ खेले । जितसँगै गण्डकीले पहिलो खेलमै २ अंक जोडेको छ । गण्डकी समूह ’ए’ को शीर्ष स्थानमा रहेको छ । त्यसअघि सोमबार नै भएको अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले दोस्रो जित निकालेको छ ।

मुलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश–१ लाई ७ विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो । प्रदेश–१ ले दिएको १ सय ३ रनको लक्ष्य पुलिसले १४ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले ३५ ओभर १ बलमा अलआउट हुँदै १ सय २ रन बनाएको थियो ।

कात्तिक २६ गतेसम्म चल्ने प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ । समूह ए मा नेपाल एपीएफ, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश रहेको छ । समूह बी मा नेपाल पुलिस क्लब, बागमती प्रदेश, लुम्बिनी प्रदेश, मधेश प्रदेश, प्रदेश १ रहेको छ । हरेक समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

प्रतियोगिताको विजेताले १० लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ५ लाख पाउने छन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार पाउने छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *