माओवादी, एकीकृत समाजवादी र राप्रपाले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौं । मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन २० दिन बाँकी रहँदा दुई सत्तारुढ दलसहित तीन पार्टीले आज चुनावी घोषणा सार्वजनिक गर्ने तयारी गरेका छन् ।

आज सत्तारुढ दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चुनावी संकल्पपत्र सार्वजनिक गर्ने भएका छन् ।

नेकपा (माओवादी केन्द्र) को चुनावी घोषणापत्र आज सार्वजनिक हुँदैछ । माओवादीको घोषणापत्र मस्यौदा समितिका सदस्य समेत रहेका स्थायी कमिटी सदस्य गणेश साहका अनुसार आज दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालयमा घोषणापत्र सार्वजनिक हुनेछ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन मंसिर ४ गते हुँदैेछ । माओवादीले स्थानीय निर्वाचनमा भने केन्द्रीयस्तरबाट घोषणापत्र बनाएको थिएन ।

यता सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले सोमबार पार्टी अध्यक्ष माधवकुमार नेपालले घोषणापत्र सार्वजनिक गर्ने जानकारी दिएका छन् ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पनि आजै चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । राप्रपाले बिहान साढे ११ बजे घोषणापत्र ल्याउन लागेको हो । बानेश्वरस्थित बानेश्वर ब्याङ्क्वेटमा घोषणापत्र सार्वजनिक गरिने राप्रपाले जनाएको छ । घोषणपत्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले सार्वजनिक गर्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले भने शनिबार नै संकल्प पत्र सार्वजनिक गरेको छ । अहिलेसम्म कांग्रेस, विवेकशील साझा पार्टी र नेपाल समाजवादी पार्टीले मात्र घोषणापत्र सार्वजनिक गरेका छन् । निर्वाचन आयोगले मतदानको १७ दिनअघिदेखि मात्रै चुनावी सभा गर्न अनुमति दिएकाले दलहरूले घोषणापत्र सार्वजनिक गर्न ढिलाइ गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + 10 =