पम्फा भुसाल भन्छिन् : ‘६० वर्ष पुगेँ, यो मेरो अन्तिम उम्मेदवारी हो’

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवम् माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसालले आफूले प्रत्यक्षतर्फ अन्तिम पटक चुनाव लडिरहेको बताएकी छन् ।
ललितपुर क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्य उम्मेदवार समेत रहेकी भुसालले अर्को निर्वाचनमा भने आफू प्रत्यक्षतर्फको उम्मेदवार नबन्ने घोषणा गरेकी हुन् ।
शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले अर्को निर्वाचन आउँदा आफू ६५ वर्ष पुग्ने भएकाले आफूले निर्वाचन नलड्ने बताइन् ।
‘म ६० वर्ष पुगेँ। १६ वर्ष हुँदा म ललितपुर आएको हुँ। ४४ वर्ष भयो यहाँ बसेको। म गत साउन ४ गतेबाट ६० वर्ष पुगेँ। अब अर्को संसद् आउने बेलासम्म म ६५ वर्ष पुग्छु,’ उनले भनिन्, ‘अरु कुनै कारणले होइन, म चाँहिँ अब उमेर अवस्थाले प्रत्यक्ष निर्वाचन लड्दिनँ,’ उनले भनिन् ।
उनले थपिन्, ‘अब मभन्दा युवा साथीहरु आउनुहोस्। मलाई रहर लाग्यो भने समानुपातिकमा जान्छु भने पनि हुन्छ। राष्ट्रिय सभा पनि छ ।’








