भूगोलको समस्या समाधान मेरो प्रतिबद्धता हो : पर्शुराम बस्नेत (अन्तरवार्ता)

प्ररायुसंघको वडा सदस्यदेखि पार्टीका विभिन्न निकायमा भूमिका निर्वाह गरेका पर्शुराम बस्नेत नेपाल खेलकुद महासंघको अध्यक्षको जिम्मेवारीमा छन् । आमनिर्वाचन २०७९ मा मोरङको क्षेत्र नम्बर ६ (ख) बाट प्रदेशसभा सदस्यका लागि निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका पर्शुराम बस्नेतसँग मकालुखबरकर्मी सुमन सुस्केराले गरेको कुराकानीको सम्पादित अंश :-

टिकट पाउन निकै सकस भयो नि ?
नेकपा एमालेका विरुद्धमा सबै राजनैतिक दलहरूले गठबन्धन गरेर नेकपा एमालेकाविरुद्ध देशभर एउटा माहौल बनाएको अवस्थामा गठबन्धनमा रहेको एउटा महत्त्वपूर्ण पार्टनर जसपा, जो उपेन्द्र यादवले नेतृत्व गर्नुभएको छ । उहाँले अब सरकारको पक्षमा होइन प्रतिपक्षमा रहेको एमालेसँग मिलेर चुनावी अभियानमा हामी चाहिँ साथी बनेर तालमेल गरेर अब भावी प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंसिर ४ पछिको मुलुकको प्रधानमन्त्री केपी शर्मा ओलीलाई बनाउने जुन नेकपा एमालेले घोषणा गरेको छ ।

त्यसलाई सफल बनाउनका लागि हामी चुनावी तामेलमा जाऔँ भनेर जुन प्रकारको सहमति जसपासँग भएको थियो । त्यो मैले टिकट पाउने कुराभन्दा पनि यो राष्ट्रका लागि, राष्ट्रियताका लागि, राष्ट्रिय स्वधिनताका लागि र राष्ट्रिय एकताका लागि राष्ट्रियता रहने कि नरहने भन्ने विषय चाहिँ नेकपा एमाले हार्ने वा जित्नेसँगै अर्थ राख्छ । त्यस कारणले को व्यक्तिले कहाँ टिकट पायो भन्ने विषय ठूलो कुरो भएन ।

तपाईँका एजेण्डा के के हुन् ?
व्यक्तिगत एजेण्डाभन्दा पनि हाम्रा पार्टीका घोषणापत्र छ, पार्टीकै योजना छ, मुख्य कुरा चाहिँ समृद्ध नेपाल सुखी नेपालीको आकांक्षा पूरा गर्ने कुरा छ । त्यो हिसाबले हामीले पार्टीका घोषणापत्र सँगसँगै उम्मेद्वारहरुका प्रतिबद्धता छन् ।

मेरो प्रतिबद्धता चाहिँ यो भूगोलको समस्या के हो । यो समस्या समाधान गर्ने कुरामा मेरो पहल कदमी हुन्छ र क्रियाशीलता हुन्छ । मैले तीन तहको सरकारसँग त्यो पहल कदमी गर्न सक्छु । त्यो भूमिका खेल्न सक्छु । यहाँको सबैभन्दा समस्या बाढी, ढलको छ । अर्को बेरोजगारी समस्या मुलुकै ठूलो समस्याका रूपमा छ । त्यसबाट पनि यो क्षेत्र अछुतो हुन सक्दैन । त्यसकारणले यावत समस्या स्वास्थ्य, शिक्षा, रोजगार र सबैभन्दा पारदर्शिताको समस्या छ ।

राजनैतिकमा लागेका मान्छेहरूलाई सधैँ धारेहात लगाउने अवस्था छ । त्यो अवस्थालाई चिर्नका लागि राजनैतिकमा लागेका मान्छेहरू निष्पक्ष हुनुपर्छ । राजनैतिकमा लागेका मान्छेहरू समाजको रोलमोडल हुनुपर्छ । हामीले बाहिरबाट राजनीतिकभन्दा बाहिरबाट रोलमोडल खोज्यौँ भने राजनैतिक दलभन्दा बाहिरबाट प्रतिनिधि खोज्न थाल्यौँ भने दलीय व्यवस्था नै समाप्त हुने खतरा हुन्छ ।

त्यस कारणले गर्दा के हो त भन्दा दलीय व्यवस्थालाई स्थापित गर्दै दलीय प्रतिस्पर्धालाई स्थापित गर्दै नयाँ संस्कार, सकारात्मक सन्देश प्रवाह कसरी गर्न सकिन्छ । आज नकारात्मक कुरा धेरै बिक्ने हाम्रो समाज छ ।

त्यसलाई सकारात्मक मात्रै बिक्ने, राम्रो मात्रै काम गर्ने मान्छेको पहिचान हुने र काम गर्न सक्ने मान्छेको पहिचान हुने र सही कुरा बिक्ने समाज निर्माण गर्नका लागि हामी जस्ता युवाहरूले राजनीतिकर्मीहरुले भूमिका खेल्नु पर्छ ।

मैले यहीँ सेरोफेरोमा रहेर मेरो व्यक्तिगत केही प्रतिवद्धताहरु पनि छन् । आज शिक्षा, स्वास्थ्य र खेलकुदलाई मिलाएर त्यो क्षेत्रमा ठूलो एउटा रोजगारीको सिर्जना गर्न सकिन्छ । त्यो दिशाबाट हामीले अघिल्लो दिनहरूमा सोच्न सकेनौँ ।

मैले पटक पटक खेलकुद महासंघकै केन्द्रीय अध्यक्षको हैसियतले काम गरिरहँदा यो प्रदेशको खेलकुद विकास बोर्डको संस्थापक सदस्यसचिवको हिसाबले काम गरिसकेको हुँदा मैले युवाहरूको बीचमा एउटा नयाँ सन्देश र नयाँ गति ल्याउन खोजी रहेको थिएँ ।

मुलुकको राष्ट्रिय राजनैतिकको घटनाक्रम जसरी विकास भयो । त्यसपछि मैले खेलकुदको जिम्मेवारी छोड्नु पर्यो । सरकार परिवर्तन भयो र जुन किसिमले सरकारले बल मिच्याइँ गरेर बर्खास्त गर्यो । जस गर्दा मैले सोचे र मैले देखाउन खोजेका सपनाहरू साकार हुन सकेन । मैले एउटा उचाइबाट एउटा नयाँ सन्देश दिँदै रोजगारीका अवसरको सिर्जना गर्न खेल, शिक्षा र स्वास्थ्य क्षेत्र रहेको बताएको थिएँ । व्यवस्थित रूपमा योजना बनाउन सक्थ्यौं । तीन तहकै सरकारसँग सहकार्य गरेर हामीले त्यो खालको कामलाई अगाडि बढाउन सक्थ्यौँ । नीति निर्माण गर्ने तह र सरोकारवालसँग पनि व्यापक छलफल गरेको थिएँ ।

पार्टीले अब युवालाई अवसर दिन थालेको हो ?
तयार भएको युवा उम्मेद्वारहरुलाई अघि सार्ने कुरामा यो पटक पहिलो प्राथमिकतामा युवाहरूलाई राखेको छ । अर्को कुरा युवा मात्रै भए भएन जनताकाबीचमा ‘पपुलर’ पनि हुनु पर्यो । जनताले विश्वास गर्ने मान्छे पनि हुनु पर्यो । जनताले चाहेको मान्छे हुनु पर्यो । समाजले यसलाई र यो नेता हो भन्नु पर्यो । पदले मात्रै नेता होइन कि भूमिकाले क्रियाशीलताले पहल कदमी र व्यवहारले चाहिँ नेता हुनु पर्यो ।

त्यही भएर त्यस्ता मान्छेहरूलाई अवसर दिने कुरामा नेकपा एमाले चुकेको छैन । तर, के हो त भन्दा हामी राजनैतिककर्मी र राजनैतिक दलहरू पनि संस्थागत रूपमा भन्दा पनि हामीहरू व्यक्तिवादी हिसाबले नीति, विधिभन्दा बाहिरबाट चल्ने । जनताले जे चाहिरहेको छ जनताको नजरमा यो आयो भने राम्रो हुन्थ्यो भनेर आश गरिरहेको छ ।

त्यस्तो मान्छेहरूले टिकट नपाउने र नेतृत्व गर्न नपाउने भएको कारणले गर्दा पनि एक प्रकारको वितृष्णा राजनैतिक दलप्रति केही हदसम्ममा भयो । स्वतन्त्रका नाममा या पार्टी नै खोलेर नयाँ पुस्ता चाहिँ राजनैतिकभन्दा बाहिरका मान्छे जो हिजो राजनैतिकलाई गाली गर्नेहरू आइरहेका छन् । त्यो चाहिँ एकदममै सकारात्मक हो ।

पार्टीको पकड भएको स्थानमा स्वतन्त्र उम्मेदवारहरूले उल्लेख्य मत पाइरहेका छन् नि ?
त्यो स्वतन्त्रको मत होइन दलीय मत हो । दलीय मतबाट स्वतन्त्र व्यक्तिले जितको भनेको चाहिँ राजनैतिक दलहरूले जनताको जुन माग छ जुनभावना अनुसारको उम्मेदवार चयन गर्न नसकेको हुँदा दलप्रति आशा विश्वास अनुसारको हामीले काम गर्न नसकेको कारणले हो कि । केही हामीमा कमी कमजोरी भएका कारणले गर्दा पनि यस्ता घटना परिघटना देखिन्छन् । तर, हामीले काठमाडौँको कुरा गर्दा काठमाडौँको जनप्रतिनिधिले राम्रो काम गरेको कुरा हामीले प्रशंसा गर्नुपर्छ । हाम्रै पार्टीका नेताहरूले सकारात्मक काममा हाम्रो साथ र सहयोग हुन्छ भनिरहनु भएको छ ।

नेताहरू त्यो भनिरहेको बेलमा हामीले चाहिँ राजनैतिक दलका ‘क्याडर्स’ भएकै कारणले स्वतन्त्र व्यक्तिले जनप्रतिनिधि भएर काम गरेको छ । उ राजनैतिकमा आइरहेको छ । समाजको रोलमोडल भइरहेको छ भने हामीले त्यो कुरालाई ग्रहण गर्नुपर्छ । उनीहरूको राम्रो कुरालाई साथ सहयोग पनि गर्नुपर्छ भन्ने हाम्रो पार्टीको कुरा पनि यहीँ छ ।

नेपाली काँग्रेस भर्खर उपनिर्वाचनबाट निर्वाचित भएको मेयर हुनुहुन्थ्यो । उहाँले टिकट नपाएर अर्को साथीले पाएर हुन सक्छ र नयाँ ‘टेष्ट’ खोजिरहेको अवस्थामा चाहिँ जुन हिसाबले जनताको लेबलकोबाट जनताको प्रतिनिधि हुन्छ भनेर जुन प्रकारको प्रतिबद्धता जाहेर जनताको विश्वास जित्ने कुरामा उहाँले भूमिका खेल्नु भयो । त्यो भूमिका कहीँ हामी चुक्यौँ कि ? त्यो कारणले गर्दा आएको हो कि भन्ने कुरालाई आत्मसाथ गरेर हामीमा कमी कमजोरी छ भने ती कमी कमजोरीलाई सच्याएर जानुपर्छ राजनैतिक दलहरूले ।

यदि ममा पनि केही कमी कमजोरी छ भने सच्याएर जान तयार छु । हरेक पार्टीमा लागेको नेता, कार्यकर्ताले ती कमी कमजोरीलाई सच्याएर जनताको प्रतिनिधि भएर जनताको पक्षमा सेवक हो जनप्रतिनिधि भन्ने अनुभूति दिनसक्नु पर्छ ।  म आफूलाई जनताको सेवक ठान्छु ।

मतदाताले तपाईँलाई नै भोट दिनुपर्ने कारण के हो ?
पहिलो कारण त नेकपा एमालेको बलियो जनआधार छ । त्यो हाम्रो पार्टीको भोट छ । यो समाजमा निरन्तर रूपमा सामाजिक, राजनैतिक काममा लागेको एउटा व्यक्तित्वको हिसाबले र मैले अहिलेसम्म कुनै पनि राजैनितक अवसर प्राप्त नगरेको हिसाबले जनताले जुन हिसाबले रेसपोन्स गरिरहनु भएको छ ।

जुन हिसाबले मलाई विश्वास गरिरहनु भएको छ । जनतालाई मैले झुट्टा सपनाहरू बाँडिरहेको छैन । म चाहिँ नेचुरल हिसाबले जनताको सेवक हुन्छु भनिरहेको छु । मैले हिजो जति प्रतिनिधिहरूले गल्ती गर्नु भयो । त्यो गल्ती मबाट हुँदैन र तपाईँहरूले गरेको मतदानको अपमान हुँदैन ।

तपाईँहरूले जसरी मलाई मतदान गरेर जिताउनु हुन्छ गर्ववोध हुने हिसाबले काम गर्छु । म सधैँ तपाईँहरूकै बीचमा रहेर तपाईँहरूको सल्लाह र सुझाव अनुसार अगाडि बढ्छु । त्यो हिसाबले लाग्छु भन्ने कुरा चाहिँ तीन दशक जति यो समाजमा गरेको काम र मैले जिरो लेबलबाट एउटा सामान्य मजदुरबाट आफ्नो राजनैतिक जीवन सुरु गरेको हो ।

म एउटा वडा सदस्यबाट राजनैतिक जीवन सुरु गरेको हुनाले मजदुर, युवा, उद्योगी व्यवसायीको प्रतिनिधि पनि हो । यहाँका दुःखमा पर्दा समस्याको समाधान गर्ने र अग्रपंक्तिमा रहेर सधैँभरि संकचमोचन गर्ने एउटा सामाजिक कार्यकर्ताको हिसाबले पनि काम गरेको हिसाबले पनि अरूभन्दा चाहिँ यो पटक मलाई विश्वास गर्नुहुन्छ उहाँहरूकै भनाइबाट उहाँहरूको विश्वास जितेको कारणले मलाई नै जिताउनु हुन्छ भन्ने मलाई विश्वास छ ।

गठबन्धनका उम्मेद्ववारसँग कसरी प्रतिस्पर्धा गर्नुहुन्छ ?
गठबन्धन त कहाँ छ र ? गठबन्धन भएको भए एउटा उम्मेदवार हुन्थे । काँग्रेसकै २/३ जना र स्वतन्त्र उम्मेदवार पनि धेरै हुनुहुन्छ । गठबन्धन भएका साझेदारी दलहरूमध्येबाट पनि उम्मेदवारी दर्ता भएको छ । त्यसैले नेताहरूले यसो गरिदिएर गठबन्धन हुने होइन । त्यस कारणले गठबन्धनको प्रभाव यस क्षेत्रमा छैन ।

विजयी हुनुभयो भने आफ्नो क्षेत्रका लागि के गर्नुहुन्छ ?
यो चाहिँ तीन तहकै सरकारसँग सहकार्य गरेर विराटनगर प्रदेशको राजधानी पनि हो । विराटनगर राजनैतिक र औद्योगिक क्षेत्रको राजधानी पनि हो । यसलाई सुन्दर, सफा र हराभरा विराटनगरका साथै ६ नम्बर क्षेत्रलाई बनाउनका लागि पहिलो पहल कदमी हुने छ ।

अर्कोतर्फ रोजगारीको अवसर सिर्जना गर्ने र प्राविधिक शिक्षामा सुरु गर्ने कुरामा हामीले चाहिँ रोजगारी पाएनौँ भन्ने कुरामा गर्छौं । तर, प्राविधिक शिक्षा हासिल गरेका हुँदैनौं । त्यो कारणले गर्दा हामीले ठ्याक्कै रोजगारी खोज्दै गर्दा त्यो आफूसँग भएको क्वालिफिकेसन अनुसारको अर्थात् त्यो खालको विज्ञता नभएका कारण अवसरबाट वञ्चित भएका धेरै कुराहरू छन् ।

त्यही भएर रोजगारीका अवसरहरू सिर्जना गरेर दिने कुरामा मेरो भूमिका रहने छ । लालबाबु पण्डित २० महिना मन्त्री हुँदा ६ नम्बर क्षेत्रअन्तर्गत विराटनगरको नहरको पूर्वतर्फ पिच भइरहेको छ । यसलाई वाइपास रोडको रूपमा विकास गरेका छौँ । पश्चिमतर्फ मर्निङ वाकको ट्रयाक, हरियाली पार्कसहित खुला व्यामशाला निर्माण गर्न प्राथमिकता दिएको छु । त्यस कामको थालनी मैले गर्छु ।

कोहलपुरदेखि ११ नम्बर वडाको सीमानासम्म पिच भएर आइसकेको छ । यसलाई रानीसम्म पुर्याउने लक्ष्यका साथ अघि बढेको छ । अहिलेको सबैभन्दा ठूलो समस्या के हो भने युवाहरूको बीचमा फिजिकल व्याम गर्न विराटनगरको ६ वटै वडामा खुला व्यामशालाको परिकल्पना गरेको छु । खाली जग्गाहरू खोजी गर्ने र स्थानीय तहसँग सहकार्य गरेर पार्क निर्माणको कामलाई अगाडि बढाउने छु । जनताले देखिने काम गर्ने र उनीहरूको जे आवश्यकता छ त्यो काम गर्नका लागि मेरो भूमिका हुन्छ । स्पोर्ट्स कम्प्लेक्सको कन्सेप्ट ल्याएका छौँ । हामीले त्यसमा रोजगारी पनि सिर्जना गर्न सक्छौं ।

यसमा वृद्धवृद्धादेखि टिन एज उमेर समूहकाहरु व्याम गर्न सक्छन् । स्पोर्ट्स कम्प्लेक्सभित्र पसेपछि स्वीमिङ, भजन, योगदेखि धेरै जति पनि स्पोटर््सका विधाहरू छन् यहाँभित्र पाइन्छ । कला प्रस्तुत गर्ने, विभिन्न खेलका प्रतियोगिता र प्रशिक्षणलगायत एकै थलाबाट हुने गरीको स्पोर्ट्स कम्प्लेक्सको परिकल्पना खेलकुद महासंघको अध्यक्ष भएकाले पनि गरेको छु ।

हाम्रो संस्कृति बिस्तारै हराउँदै गएको छ । हाम्रो संस्कृतिलाई कसरी जर्गेना गर्ने ? संस्कृतिको रक्षा कसरी गर्ने ? राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वधीनताको पक्षमा कसरी जनतालाई आकर्षित गर्ने र जनतालाई बुझाउने कुरालाई कसरी लाने ? त्यस कुरामा मैले भूमिका खेल्छु भनेर लागिरहेको छु ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *