महँगीले संकटमा चाडपर्व !

आज तिहारको सबैभन्दा विशेष दिन भाइटिका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी । फलफूल, मिठाइ, किराना सबैतिर चर्को भीड छ । यसपटक पोहोरभन्दा सामानको भाउमा निकै मूल्यवृद्धि भएको पाइन्छ । उपभोक्ताहरू सामान छुन नसक्ने भएछ भन्दै गुनासो गरिरहेको पाइयो ।
हरेक सामानको भाउ बढेको छ । आजलाई विशेष चाहिने भाइमसला त झनै आकासिएको छ । गत वर्ष दुईमा पाउने सामान अहिले पाँच सयमा किन्नुपरेको उपभोक्ताहरूको भनाइ छ । व्यापारीहरूले जथाभाबी रेट राखेर सामान बेच्दा पनि सम्बन्धित निकाय भने मौन छ । पसलपिच्छे सामानको मूल्यमा फरक पाइन्छ । चाडपर्व भनेर व्यापारीहरू ग्राहक ठग्नमा उत्रिएका छन् ।
बजार अनुगमन नहुँदा उपभोक्ताहरू थप मर्कामा परेका छन् । साइत हेरेर अनुगमन गर्ने सरकारको प्रवृत्तिका कारण चाडबाड मनाउन नसक्ने अवस्था आएको उपभोक्ताहरूको गुनासो छ । महँगीले सीमा नाघ्दा गरिबले चाडबाड मनाउन नसक्ने स्थिति सिर्जना भएको छ । सामानमा अत्यधिक मूल्यवृद्धिले जनतालाई बिहानबेलुकाको छाक टार्न पनि महामुश्किल बनाएको छ ।
बजार अनुगमन हुन नसक्दा चाडपर्व नै संकटमा परेको छ । माछामासु, दूध, दहीमा पनि मनलाग्दी छ । मासु पसलेले आफूखुसी रेट राखेर मासु बेचेको छ । अन्य बेला भन्दा मासुमा दुई तीन सयको फरक पाइन्छ । यता, मासु पसल पनि सफा सुग्घर छैनन् । भ्याइनभ्याइ छ भन्दै मासु पसलेले राम्ररी सफा नगरेको मासु बचिरहेका छन् । राँगा भनेर भैँसी, खसी भनेर बोकाको मासु बेच्ने चलन त हामी कहाँ पहिलैदेखि छ ।
कहिले काटेको मासु फ्रिजमा राखेर बेचिरहेका छन्, पसलेहरूले । यता, मासु पसलेले लिइरहेको रेट सरकारले तोकेको पनि होइन, उनीहरूको महासंघले निर्धारण गरेको हो । अहिले बजारमा एक केजी खसीको मासु १३ देखि १५ सय छ । मरेको कुखुराको मासुसमेत पनि बिक्रीवितरण भइरहेको छ । अनि खोइ त अनुगमन ? मासु खानयोग्य छ कि छैन सरकारले नियमन गर्दैन ।
सरकारले बनाएका मापदण्डहरू मासु पसलेले पूरा गरेका छैनन् । यता, तौलमा समेत पसलेले ठगिरहेको छ । वेटिङ मेशिन र ढक तराजु मिलाएर ठग्न यिनलाई कसले भ्याउने ? दूध, दही पसलेले पनि आफ्नो खुशअनुसार पैसा लिइरहेको छ । आज सबैभन्दा बढी भीड मिठाइ पसलमा देखिन्छ । भाइटिकामा विशेषतः दिदीबहिनीले मिठाइ र भाइमसला दिने गर्दछन् । मिठाइ पसलमा पनि उस्तै लुटको धन्दा मच्चिएको छ ।
सबैभन्दा बढी कमाउने मौका यही हो भनेर मिठाइ पसलेहरू ठग्नमा तुलिएका छन् । गत वर्षभन्दा मिठाइको भाउ पनि धेरै बढेको पाइन्छ । एकातिर भाउ बढाएका छन् अर्कोतिर सफा सुग्घर पनि न्यून छ । मानिसको स्वास्थ्य हानी गर्ने केमिकलहरू मिसाएर गुणस्तरहीन मिठाइ बनाएका छन् । जसले गम्भीर रोग निम्त्याइरहेको छ । पैसा तिरेर किन्नु छ तापनि स्वास्थ्यलाई हानिकारक ।
मिठाइ पसलहरू पनि एकदमै फोहोर छ । पसले पनि त्यस्तै फोहोरी छन् । मिठाइ पनि छोपेर राखेको पाइँदैन । झिँगा, भुसुना भन्किरहेका छन् । फलफूल, हरिया तरकारीहरूको भाउ पनि आकासिएको छ । प्रति किलो दुई सय रुपैयाँ घटीको कुनै तरकारी नै छैन । अनि जनताले के खाने ? सरकारले बजार अनुगमन नगरेर जनतालाई मर्न बाध्य बनाइदियो । व्यापारीहरूले रातारात घर बनाउने सपना देखेका छन् ।
यतिखेर व्यापारीहरूले लुट मच्चाएका छन्, जसमा जनता पिल्सिएका छन् । आजका दिन दाजुभाइलाई नदिई नहुने सामग्री भनेको भाइमसला हो । तर, भाइमसला यति महँगिएको छ, कुरा गरिसाध्य छैन । काजु, किसमिस, बदाम, पिस्ता, ओखरलगायत अन्य सामग्री छोइनसक्नु भएको छ । भाइमसला महँगिँदा चेलीबेटीहरूलाई तनाव भएको छ । दुई तीन हजार रुपैयाँ खर्च गर्दा पनि एउटा ढंगको मसला आउँदैन ।
प्याकेटको मसलाभित्र सबै कुहिएका सामानहरू मात्र प्याक गरिएका छन् । तिहार भनेको फुलको पर्व हो । तिहारमा सबैतिर फुल सजाइएको हुन्छ । यता, दाजुभाइलाई टीका लगाइदिएर माला लगाइदिने गरिन्छ । यसपटकको तिहारमा फुलको भाउ पनि अत्यधिक महँगो भएको छ । नेपाली फुल समयमा नफुल्दा र बाहिरबाट आयात गर्नुपरेको बहानाबाजी गर्दै व्यापारीहरूले फुलमा ठगेका छन् । पाँच थुँगा फुलको एक सय रुपैयाँ तिर्नुपरेको छ ।
यता, माला त हेरीहेरी दुईदेखि चार हजार रुपैयाँसम्मको छ । किराना सामान पनि पनि अत्यन्तै चर्को छ । चामल, दाल, तेल, पिठोलगायत अन्य खाद्यान्न सामानको भाउ आकासिएको छ । सरकारले हरेक सामानको रेट तोक्ने अधिकार निजी क्षेत्रलाई दिँदा जनताहरू मारमा परेका छन् । व्यापारीले भाउ बढाएको बढाएकै छन्, राज्य निरीह भएर हेरेर बसेको छ ।
व्यापारीहरूले राज्यको ऐनकानून नमानेर जथाभाबी लुट मच्चाउँदा पनि सरकार मौन छ । सामान बेचेका छन्, बिल दिँदैनन् । सामान किनेपछि बिल पाउनु उपभोक्ताको अधिकार हो । तर, आफ्नै अधिकारबाट उपभोक्ताहरू वञ्चित भएका छन् । व्यापारीले जथाभाबी मूल्य राखेर सामान बेच्दा पनि किन्नुपर्ने बाध्यता छ । सरकारले उजुरी गर्ने ठाउँको समेत व्यवस्था मिलाइदिएको छैन ।
यसो हेर्दा सरकार नै व्यापारीको पक्षमा छ जस्तो देखिन्छ । यतिखेर उपभोक्तावादी भनिएका ज्योति बानियाँ, प्रेम महर्जनहरू पनि सुस्ताएका छन् । जताबाट पैसा आउँछ उतै टाँसिने यस्ता नामका उपभोक्तावादीहरूबाट अपेक्षा राख्नु पनि के नै छ र ? पैसा आएसम्म यिनीहरू पनि चुप लाग्छन् । जब पैसा आउन छोड्छ त्यसपछि तातिन्छन् । जसले पैसा दिँदैन यसको विरोधमा खोइरो खन्छन् ।
राजनीतिक पार्टीका झोलेहरूले छिनका लागि कराएर बजारमा केही सुधार भएको छ ? पोहोर अलिकति भएपनि कराएझैँ गरेका थिए, योपालि त त्यति पनि गरेनन् । उपभोक्तावादी भन्दै व्यापारीसँग पैसा उठाएर यिनीहरूले करोडौँको सम्पत्ति जोडेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शुद्धीकरण विभागले यिनीहरूको सम्पत्ति छानबिन गरेको छैन ।
यिनीहरूकै संरक्षणमा जनता ठग्ने व्यापारीलाई कारबाही हुन सकेको छैन । आज तिहारको अन्तिम र विशेष दिन भाइटिकामा चोकचोकमा भीड देखिन्छ । गाडी पनि न्यून मात्र चलेको छ । यही मौका छोपेर ट्याक्सी र पठाओको ठगीधन्दा शुरु भएको छ । बसस्टपमा झोला बोकेर गाडी कुरिरहेकी दिदीबहिनीको चाप एकदमै धेरै छ । यता, ट्याक्सी पनि बिहानैदेखि प्याक छ ।
टीका लगाउने जाने दिदीबहिनीहरूलाई सवारी साधनले धेरै सास्ती भएको छ । हातहातमा झोला भएकाले सार्वजनिक यातायातमा लैजान सक्ने अवस्था छैन । आज धेरै जनालाई ट्याक्सीको खाँचो पर्छ । त्यसमाथि पनि अधिकांश महिला छन् । बसले घरघरसम्म नपुर्याइदिने भएकाले ट्याक्सी नै अन्तिम विकल्प हो । उपत्यकामा ट्याक्सीको खोजी बढेको छ ।
अघिपछि त मिटरमा नहिँड्ने, यात्रुले भनेको ठाउँमा नजाने ट्याक्सीको रजाइँ आज अझ बढी छ । एक किलोमिटरमै हजार रुपैयाँसम्म माग्छन् । भक्तपुरको सुर्यविनायक चोकमा बिहानै ट्याक्सीको खोजी गर्ने महिलाहरूको हुल देखिन्थ्यो । अन्य समय चोकमा ट्याक्सी पार्क गरेर राखेको देखिन्थ्यो । आज एउटा पनि ट्याक्सी थिएन किन कि बिहानैदेखि चालकलाई भ्याइनभ्याइ छ ।
कुनै काँडाघारी, कुनै अनामनगर त कुनै बनेपा । कोही सातदोबाटो त कोही कपन जान निस्किएका थिए । बल्लतल्ल आधा घण्टापछि दुई वटा ट्याक्सी आयो । भएजति सबै त्यही दुई वटा ट्याक्सीतिर होमिए । चालकले मिटरमा यात्रु लैजानुको साटो पैसाको बार्गेनिङ गर्न शुरु गरे । सुर्यविनायकबाट कपन भएको तीन हजार मागे, चालकले । यात्रुले दुई हजार दिन्छु भनिन् । अन्तिममा २५ सयमा कुरा मिल्यो ।
सुर्यविनायकबाट कपन बढीमा १० किलोमिटर होला । सरकारले निर्धारण गरेको भाडाअनुसार ट्याक्सी चल्ने हो भने प्रति किमी ५० र सेवाशुल्क ५० रुपैयाँ छ । यता, पठाओमार्फत ट्याक्सी बुक गर्यो भने शुरुमा १७७ रुपैयाँ तिर्नुपर्छ । पठाओले यसरी ठगिरहेको छ । सुर्यविनायकबाट अनामनगर लगेको पनि चालकले २५ सय मागे । यात्रुले १५ सय भनेपनि अन्तिममा दुई हजारमा कुरा मिलाएर जानुपर्यो ।
अरू हेरेको हेप्यै भए । ट्याक्सी नपाएपछि निजी प्लेटको गाडीमा जानुपर्ने बाध्यता भयो । निजी प्लेटको गाडीले बनेपा जानका लागि तीन हजार मागे । आज त सबैतिरबाट सर्वसाधारण ठगिए । अरू सामान पनि त्यस्तै महँगो, ट्याक्सी भाडा पनि उस्तै । अब भाइटिका लगाउन नसक्ने अवस्था बन्यो । दाजुभाइले टीका लगाएर दिएको पैसा ट्याक्सी भाडा तिर्न पनि पुग्दैन ।
ट्राफिक प्रहरीले कडाइ गरेको पनि पाइँदैन । मिटरमा नहिँड्ने ट्याक्सीलाई ट्राफिक प्रहरीले कारबाही गरेका छैनन् । चालकले मोलमोलाइ गर्दा ट्राफिक प्रहरी हेरेर बस्छन् । कारबाही नगर्दा चालकको दादागिरी बढ्दै गयो । जनताले तिरेको करबाट तलब खाने ट्राफिक प्रहरीकै कारण चालकमा जनता ठग्ने मनोबल बढेको हो । ट्याक्सी व्यवसायीको अगाडि ट्राफिक प्रहरी महाशाखा निरीह बनेको हो ?








