पहिरो पीडित भन्छन्, :‘घर छैन्, तिहार कहाँ मनाउँने’

बलेवा । गत भदौको दोश्रो साता खसेको पहिरो थपिँदै जाँदा बागलुङको रायडाँडाको सिंगो बस्तीका मानिस बस्न छाडेका छन् । छिमेकीको घरमा गएर आश्रय लिएका उनीहरु अझै पनि घर फर्कन सकेका छैनन् ।
बागलुङ नगरपालिका वडा नं ११ रायडाँडाको तल्लो रामतोलामा घर भत्कने, पहिरोले खेतबारी बग्ने क्रम नरोकिएपछि घर छाडेका फर्कन सकेका छैनन् । घर बगेकाहरुले पनि बनाउने ठाउँ नभेटेको गुनासो गरेका छन् ।
पानी पर्दा वा नपर्दा पनि निरन्तर पहिरो खसेर भदौमा क्षति भएको बस्तीमा दसैँको झरीले थप क्षति पुगेको छ । यहाँका १२ घरसहित जैमिनी नगरपालिका–१ को ओडारका आठ घरमा पहिरो पसेको थियो । सुख्खा पहिरो पनि खस्ने गरेकोले उनीहरुले पुरानै थलोमा फर्कन नसकेको बताए । अहिले पनि यहाँ जोखिम कायम छ । अधिकांश खेतबारी र घरगोठ बगेकोले पुनःस्थापना गर्न समेत कठिन छ । जोखिम रहेको स्थानमा पनि जबर्जस्ती ल्याएर राख्न नसकिने वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।
‘घरै भत्कियो, घर छैन्, तिहार कहाँ मनाउँने, अन्यत्रै सरेर बसेको थिएँ, अब फर्कने अवस्था रहेन’ स्थानीय ७८ बर्षिय ढालनाथ शर्माले भने, ‘‘खेतीपाती पनि बगायो, अब कहाँ गएर बस्ने ’ उनले घर गोठ र खेत पहिरोले पुरेको थियो । पहिरोले शर्मासहित यहाँका दुइवटा खानेपानीका ट्याङ्की पनि बगाएको थियो । अहिले पनि स्थानीय टाढाबाट पानी बोकेर खान बाध्य छन् । पोल बगेकोले बिजुली थिएन, अहिले स्थानीयले अस्थायी पोल गाडेर बिजुली बालेका छन् । पहिरो थपिँदै जाँदा यहाँको गैराघर र तमाखुबारीमा पनि जोखिम बढेको हो ।’
पहिरोले रायडाँडादेखि जैमिनी नगरको कुश्मीसेरा जाने मोटरबाटो बगेको बन्न सकेको छैन । जैमिनी नगरपालिका–१ को ओडारका दर्जन घर पनि पहिरोले जोखिममा परेका छन् । यहाँको सिँचाइ योजनाको कुलो बगेकोले सिँचाइ छैन । ‘‘यतिको ठूलो पहिरो अहिलेसम्म देखिएको थिएन, अहिले भोग्नु परेको छ’ स्थानीय बिष्णु पौडेलले भने, ‘खानेपानी र बिजुली नभएको दसैँ मान्नु प¥यो ।’ पहिरो पीडितलाई दसैँमा नगरपालिका, लायन्स क्लबले खाद्यान्न सहयोग गरेका थिए ।








