प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकार लागेको छ : प्रधानमन्त्री देउवा

भक्तपुर । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन शान्तिपूर्ण र निष्पक्ष रुपमा सम्पन्न गर्न सरकारले प्रबन्ध मिलाएको बताएका छन।
राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आज शङ्खधर चोक मध्यपुरथिमिमा आयोजना गरेको नेपाल संवत्का प्रवर्तक राष्ट्रिय विभूति शङ्खधर साख्वाःको प्रतिमामा माल्र्यापर्ण गर्दै उनले निर्वाचनलाई सफल बनाउन सबै राजनीतिक दल तथा सरोकारवाला निकायको सहयोग आवश्यक रहेको बताए ।
देशमा लोकतान्त्रिक सरकारले मात्रै रचनात्मक कार्य सम्पन्न गर्न सक्ने चर्चा गर्दै उहाँले आगामी निर्वाचनले लोकतन्त्रलाई मजबुत बनाउने बताए । प्रधानमन्त्री देउवाले नेपाल संवत् नेपालको आफ्नै मौलिक संवत् भएको चर्चा गर्दै सरकारले साख्वाःको योगदानको उच्च सम्मान गर्दै यसअघि नै राष्ट्रिय विभूति घोषणा गरेको, उनको नाममा हुलाक टिकट प्रकाशित गरेको, विद्यालय तहको पाठ्यक्रममा समावेश गर्ने व्यवस्था गरेको बताए ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले शङ्खधर साख्वाःको योगदानलाई चीरस्थायी बनाउन नेपाल सरकारले साख्वाःको नाममा राष्ट्रिय पुरस्कारको घोषणा गर्ने तयारी गरेको बताए । उनले सरकारले साख्वाःको नाममा हरेक वर्ष तीन जना व्यक्तिलाई रु एक लाखका दरले राष्ट्रिय पुरस्कार प्रदान गर्ने बताउँदै त्यसको प्रक्रिया सरकारले अगाडि बढाइसकेको बताए ।








