बीमा कम्पनीबीच मर्जर बढ्दै

सूर्या र ज्योति लाइफबिच मर्जरको अन्तिम सम्झौता, मंसिरभित्रै एकीकृत कारोबार गर्ने  

काठमाडौँ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आपसमा गाभिन (मर्ज हुन) शुक्रबार अन्तिम सम्झौता गरेका छन् । उक्त सम्झौता पत्रमा दुवै कम्पनीका सञ्चालक समितिका अध्यक्षले हस्ताक्षर गरेका छन् । दुवै कम्पनी बिच मर्जर गर्न प्रारम्भिक सम्झौता १२ असारमै भएको थियो । बिमा समितिबाट समेत यी कम्पनीले मर्जरका लागि १३ असारमै सैद्धान्तिक सहमति पाइसकेका छन् ।

नेपालको बिमा क्षेत्रमा जीवन बिमा कम्पनीहरू बिच मर्जरको लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर सम्पन्न भई मर्जरको ढोका खुलेको यो नै पहिलो सम्झौता हो । होटल याक एण्ड यतीमा सम्पन्न उक्त कार्यक्रममा दुवै कम्पनीका सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतहरू लगायत विभागीय/क्षेत्रीय प्रमुख तथा अन्य कर्मचारीहरूको उपस्थिति थियो ।

अन्तिम सम्झौता पत्रमा उल्लेख भए अनुसार गाभिएपछि बन्ने कम्पनीको नाम सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड रहने छ । रजिष्टर्ड कार्यालय विराटनगर, मोरङमा तथा केन्द्रीय कार्यालय ज्ञानेश्वर काठमाडौँमा रहने छ ।

मर्जरपछि बन्ने सञ्चालक समितिमा गाभिएपछि बन्ने कम्पनीको साधारण सभा सम्पन्न नभएसम्मका लागि दुवै कम्पनीबाट ३–३ जना र एक जना स्वतन्त्र सञ्चालक गरी ७ सदस्यीय सञ्चालक समिति बन्नेछ भने साधारण सभाले नयाँ सञ्चालक समितिको चयन गर्नेछ । नयाँ बन्ने सञ्चालक समितिको अध्यक्षमा सूर्या लाइफ इन्स्योरेन्सका केशवप्रसाद भट्टराई र प्रमुख कार्यकारी अधिकृतमा ज्योति लाइफ इन्स्योरेन्सका प्रकाशविक्रम खत्री रहने छन् । सूर्या लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्का वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहनेछन् ।

शेयर स्वाप अनुपात १ः०.८२४५ अर्थात् गाभिएपछि बन्ने कम्पनीको शेयर सूर्या लाइफका शेयरधनीले १ शेयर बराबर १ शेयर पाउनेछन् भने ज्योति लाइफका शेयरधनीले १ शेयर बराबर ०.८२४५ शेयर पाउनेछन् । उक्त शेयर स्वाप अनुपात अनुसार गाभिए पश्चात् बन्ने कम्पनीको कुल चुक्ता पुँजी करिब रु.४ अर्ब ५५ करोड पुग्नेछ । नियमनकारी निकाय बिमा समितिको निर्देशन बमोजिम कायम गर्नुपर्ने चुक्ता पुँजी रु. ५ अर्ब तोकिएको समय सीमा भित्र सहजै पुर्‍याउन कम्पनी सफल हुनेछ ।

अन्तिम सम्झौता भएसँगै दुवै कम्पनीले छिट्टै नै साधारण सभा आह्वान गर्ने र साधारण सभाबाट मर्जरसम्बन्धी अन्तिम सम्झौता पत्र अनुमोदन भएपछि सम्बन्धित नियमनकारी निकायमा मर्जरको लागि स्वीकृति माग गरी आवेदन दिनेछ । ती निकायहरूबाट स्वीकृति आएपछि २०७९ मंसिर मसान्तभित्र एकीकृत कारोबार सञ्चालन गर्ने सहमति समेत भएको छ ।

गाभिए पश्चात् बन्ने कम्पनीको सञ्चालन खर्चमा कमी आउने, व्यवसायको आकार तथा शाखा सञ्जाल वृद्धि हुने, पुँजीकोष, जगेडा कोष, जीवन बीमाकोष लगायतका आर्थिक सुचकांङ्कमा सकारात्मक परिवर्तन आउने र आगामी दिनमा बलियो तथा जीवन बिमा कम्पनीहरू मध्ये उत्कट एवं सबल कम्पनीको सूचिमा पर्ने विश्वास दुवै कम्पनीले लिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *