विदेशी मुद्राको सञ्चिति २.२ प्रतिशतले कमी, साढे ७ महिनाको आयात धान्ने

काठमाडौँ । चालू आर्थिक वर्षको पहिलो २ महिना अर्थात् साउन मसान्तसम्ममा कुल विदेशी विनिमय(विदेशी मुद्रा)को सञ्चिति २.२ प्रतिशतले खुम्चिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार २०७९ असार मसान्तमा १२१५ अर्ब ८० करोड रुपैयाँबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २.२ प्रतिशतले कमी आई २०७९ भदौ मसान्तमा ११८९ अर्ब १६ करोड कायम भएको छ ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ भदौ मसान्तमा २.० प्रतिशतले कमी आई ९ अर्ब ३५ करोड कायम भएको छ ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १०५६ अर्ब ३९ करोड रहेकोमा २०७९ भदौ मसान्तमा ०.५ प्रतिशतले कमी आई रु.१०५१ अर्ब ५३ करोड कायम भएको छ ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा रु.१५९ अर्ब ४१ करोड रहेकोमा २०७९ भदौ मसान्तमा १३.७ प्रतिशतले कमी आई रु.१३७ अर्ब ६३ करोड कायम भएको छ ।
२०७९ भदौ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.३ प्रतिशत रहेको छ ।
सञ्चिति पर्याप्तता सूचक
आर्थिक वर्ष २०७९/८० को दुई महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ९.० महिनाको वस्तु आयात र ७.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ ।
२०७९ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २४.५ प्रतिशत, ६४.६ प्रतिशत र २१.८ प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।










