बढ्यो रेमिट्यान्स, बढे विदेशिने : दुई महिनामै भित्रियाे झण्डै २ खर्ब

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को पहिलो २ महिनामा रेमिट्यान्स (विप्रेषण आप्रवाह) १९.८ प्रतिशतले बढेको छ । यो अवधिमा १ खर्ब ८७ अर्ब ४ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ ।
नेपाल राष्ट्रको तथ्यांक अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ११.३ प्रतिशतले वृद्धि भई १ अर्ब ४७ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ५.३ प्रतिशतले घटेको थियो ।
यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १६९.९ प्रतिशतले वृद्धि भई १ लाख ३ हजार ८ सय ९८ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ७०.६ प्रतिशतले वृद्धि भई ३९ हजार १ सय ८९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ४२९.५ प्रतिशतले बढेको थियो ।
चालू वर्षको पहिलो २ महिनामा खुद ट्रान्सफर १९.५ प्रतिशतले वृद्धि भई रु.२०६ अर्ब ४६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ६.० प्रतिशतले घटेको थियो ।










