दुई महिनामा साढे २ खर्बकाे व्यापार घाटा : २७३ अर्बको आयात, २८ अर्बको निर्यात

काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो दुई महिना (भदौसम्म)मा आर्थिक कुल वस्तु आयातमा १३.० प्रतिशतले कमी आई २ खर्ब ७३ अर्ब ६० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७५.९ प्रतिशतले बढेको थियो । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ९.५ प्रतिशत, १३.३ प्रतिशत र २०.७ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, औषधी, हवाईजहाज तथा स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ । सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, कच्चा सोयाविन तेल, हट रोल्ड शिट इन क्वाइल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।

त्यस्तै चालु आर्थिक वर्षको पहिलो २ महिनामा कुल वस्तु निर्यात ३४.९ प्रतिशतले कमी आई रु.२८ अर्ब ६८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ११५.४ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४५.२ प्रतिशत र २१.६ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात १३.२ प्रतिशतले वद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, ऊनी गलैँचा, पार्टिकल बोर्ड, तयारी पोशाक, औषधी (आयुर्वेदिक) लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, अलैंची, दन्त मञ्जन लगायतका वस्तुको निर्यात घटेको छ ।

निर्यात–आयात व्यापार घाटा

निर्याततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कैलाली, कृष्णनगर, मेची र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ सुख्खा बन्दरगाह, जलेश्वर, कृष्णनगर र तातोपानी बाहेकका प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।

आर्थिक वर्ष २०७९/८० को दुई महिनामा कुल वस्तु व्यापार घाटा ९.४ प्रतिशतले कमी आई रु.२४४ अर्ब ९२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७०.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १४.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधि (चालू आवको पहिलो २ महिना) मा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.२६ अर्ब २३ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तोआयात रु.३६ अर्ब २७ करोड बराबरको भएको थियो ।

वैदेशिक व्यापारको संरचना
वृहत्त आर्थिक वर्गीकरण अनुसार समीक्षा अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ५७.८ प्रतिशत र ४२.२ प्रतिशत रहेको छ भने पुँजीगत वस्तुको अनुपात नगन्य अर्थात् ०.०३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भएको कुल निर्यातमा मध्यवर्ती, पुँजीगत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात क्रमशः ३८.७ प्रतिशत, ०.०२ प्रतिशत र ६१.३ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भएको कुल आयातमा मध्यवर्ती वस्तुको अनुपात ५३.७ प्रतिशत, पुँजीगत वस्तुको ८.७ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३७.७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यी अनुपातहरु क्रमशः ५३.७ प्रतिशत, ११.४ प्रतिशत र ३४.८ प्रतिशत रहेका थिए ।

निर्यात–आयात मूल्य सूचकाङ्क
वार्षिक विन्दुगत आधारमा २०७९ भदौ महिनामा भन्सार तथ्याङ्कमा आधारित निर्यातको एकाइ मूल्य सूचकाङ्क ५.६ प्रतिशतले बढेकोछ भने आयात मूल्य सूचकाङ्क १३.६ प्रतिशतले बढेको छ । २०७८ भदौ महिनामा ३.० प्रतिशतले घटेको व्यापारको शर्त २०७९ भदौ महिनामा ७.० प्रतिशतले घटेको छ ।

सेवा
समीक्षा अवधिमा खुद सेवा आय रु.१८ अर्ब ६२ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.१७ अर्ब ५२ करोडले घाटामा रहेको थियो । सेवा खाता अन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ७२.२ प्रतिशतले वृद्धि भई रु.५ अर्ब ९५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.३ अर्ब ४६ करोड रहेको थियो ।

समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६२.७ प्रतिशतले वृद्धि भई रु.१७ अर्ब ९५ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.१२ अर्ब ७६ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.११ अर्ब ३ करोड रहेकोमा शिक्षातर्फको व्यय रु. ६ अर्ब ३७ करोड रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + seven =