काठमाडौँ क्षेत्र नं ७ : प्रतिनिधिसभामा २९ उम्मेदवार, को को छन् ?

काठमाडौँको।  उत्तर–पश्चिम क्षेत्रमा अवस्थित क्षेत्र नं ७ को प्रतिनिधिसभा निर्वाचनका लागि १६ स्वतन्त्रसहित २९ जनाले उम्मेदवारी दिएका छन्। आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि प्रतिनिधिसभामा १६ स्वतन्त्र र १३ राजनीतिक दलको सहभागिता रहेको छ।
यस्तै सोही क्षेत्रको प्रदेशसभा (क)मा चार स्वतन्त्रसहित १२ र प्रदेशसभा (ख)मा तीन स्वतन्त्रसहित नौ जनाले उम्मेदवारी दिएको काठमाडौँ क्षेत्र नं ७ का प्रमुख निर्वाचन अधिकृत उषा श्रेष्ठले जानकारी दिइन्। कुल ६१ हजार दुई सय ९१ मतदाता रहेको उक्त क्षेत्रमा प्रमुख राजनीतिक दलका नेताबीच नै प्रतिस्पर्धा हुने देखिएको छ। काठमाडौँ महानगरपालिकाको १६, १७, १८ र २५, नागार्जुन नगरपालिकाको १, २ र ३ वडाका साथै तारकेश्वर नगरपालिकाको ३, ४ र ५ वडा उक्त क्षेत्रमा रहेको छ।
को को छन् उम्मेदवार?

तेह्र राजनीतिक दल र १६ स्वतन्त्रसहित २९ उम्मेदवारले भाग लिएको उक्त क्षेत्रमा वाम–लोकतान्त्रिक गठबन्धनको तर्फबाट मानुषी यमी भट्टराई र नेकपा (एमाले)को तर्फबाट श्यामकुमार घिमिरे उम्मेदवार छन्।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट धुव्रविक्रम मल्ल, राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली, हाम्रो नेपाल पार्टीका प्रवेन्द्र पोखरेल, नेपालका लागि नेपाली पार्टीका राम नेपाली, नेपाल मजदुर किसान पार्टीका किरण महर्जन, नेपाली कांग्रेस ९विपी०का कमलाकुमारी शर्मा भुसाल, नेपाल आमा पार्टीका कृष्णप्रसाद दबाडी, राप्रपा नेपालका कुमार श्रेष्ठ, जनसमाजवादी पार्टी नेपालका राजेन्द्रप्रसाद श्रेष्ठ, जनसमाजवादी पार्टीका शैलेशराज श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यस्तै स्वतन्त्र उम्मेदवारका रूपमा रामवीर मानन्धर, यादवलाल कायस्थ, प्रशन्नकुमार अवाले, किरण केसी, रवीन्द्रकुमार श्रेष्ठ, ईश्वर अर्याल, प्रकाश कुँवर, भरत तामाङ, लक्ष्मणप्रसाद गजुरेल, लोकप्रसाद सिंखडा, रोजिना अवाले, राजकुमार कोइराला, मन्जुमाया तामाङ, सुजनरत्न बज्राचार्य, हेमबहादुर ढुङ्गेल र जानुका पौडेलले उम्मेदवारी दिएका छन्।

प्रदेशसभा (क)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट वसन्तप्रसाद मानन्धर र एमालेको तर्फबाट जीवन मानन्धरले उम्मेदवारी दिएका छन्।

यस्तै राष्ट्रिय जनमुक्ति पार्टीबाट जगदीशमान राजभण्डारी, नेपाल मजदुर किसान पार्टीबाट धर्मसेन महर्जन, राप्रपाबाट रोजिन गुरुङ, हाम्रो नेपाल पार्टीबाट रवीन्द्र मोइन श्रेष्ठ, राप्रपा नेपालबाट रत्नाकुमारी श्रेष्ठ प्रधान र जनसमाजवादी पार्टी नेपालबाट बाबुराजा प्रजापतिले उम्मेदवारी दिएका छन्।

यस्तै प्रदेशसभा (क)मा स्वतन्त्र उम्मेदवार प्रधुमान महर्जन, सर्वज्ञ बज्राचार्य, गोपालप्रसाद माली र रवीन्द्र महर्जनले उम्मेदवारी दिएको प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताइन्। काठमाडौँ क्षेत्र नं ७ को प्रदेशसभा (ख)मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट सविन तामाङ र एमालेको तर्फबाट प्रकाश श्रेष्ठले उम्मेदवारी दिएका छन्।

यस्तै राप्रपाबाट लालकुमार लामा, नेपाल मजदुर किसान पार्टीबाट इन्द्रकुमार बज्राचार्य, राप्रपा नेपालबाट राजन महर्जन, जनसमाजवादी पार्टी नेपालबाट शङ्करदेव लामाले उम्मेदवारी दिएका छन्। यस्तै प्रदेशसभा (ख)मा शिवकुमार तामाङ, दिनेश लामा र साजन केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन्।

के भन्छन् उम्मेदवारहरू?
अब पालो नयाँ पुस्ताको भन्ने मूल अभियानका साथ वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार बनेकी भट्टराई काठमाडौंभित्रको संस्कृति तथा सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धनमार्फत क्षेत्रको विकास गर्ने आफ्नो प्रमुख योजना रहेको बताउँछिन्। ‘सहरी क्षेत्रमा संस्कृति तथा सम्पदाको संरक्षण, बस्ती क्षेत्रमा खानेपानी, ढल र विद्युत्को समस्या समाधान र काठ क्षेत्रमा कृषि र घरेलु उद्योगको विकास गर्नु मेरो प्रमुख योजना हो’ उनले भनिन्।

एमालेका उम्मेदवार घिमिरे काठमाडौँभित्रको संस्कृति, सम्पदा, संस्कार र परम्परा जगेर्ना आफ्नो मुख्य प्राथमिकता भएको बताउँछन्। ‘नेवारी संस्कृतिको संरक्षण गर्दै नैतिक शिक्षामा आधारित प्राविधिक शिक्षालाई जोड दिने मेरो प्रमुख एजेन्डा हो’, उनी भन्छन्। नगर क्षेत्रमा कौशीखेतीलाई प्राथमिकता दिने उनको भनाइ छ ।

सोही क्षेत्रका निवर्तमान सांसद एवं स्वतन्त्र उम्मेदवार रामवीर मानन्धर काठमाडौँ क्षेत्र नं ७ को विकासलाई पूरा गर्नका लागि आफू पुनः उम्मेदवार बनेको बताउँछन्। ‘म विसं २०४९ देखि यस क्षेत्रको स्थानीय जनप्रतिनिधि हुँ, यस क्षेत्रको सबै समस्या मैले बुझेको छु, विकासका अधुरा कामलाई पूरा गर्न मैले उम्मेदवारी दिएको हुँ’, उनी भन्छन्।

उक्त क्षेत्रमा क्षेत्रपाटी, ठमेल, बालाजु, नयाँबजार, सोह्रखुट्टे, म्हैपी, टौडोल, माछापोखरी, वनस्थली, ढल्को, धोबीचौर, ठैँटी, नरदेवी, भुरुञ्खेल, ढोकाटोल, मच्छिन्द्रटोल, न्ह्यौखा, तीनपिप्ले, पुरानो गुह्येश्वरी, भैरवथान, गोलढुङ्गा, रानीवन, ठूलो भ¥याङ, इचङ्गु, गैरीगाउँलगायतका क्षेत्र पर्दछन्।

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing button
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × three =