प्रहरीकाे सफलता : सर्लाहीमा सहकारीका कर्मचारीमाथि गोली हान्नेहरू पक्राउ

जनकपुरधाम । सर्लाहीको बागमती नगरपालिका–१ मिलन चोकस्थित सगुन सहकारी संस्थाको सेवा केन्द्रका कर्मचारी साजन कार्कीमाथि गोली प्रहार गर्नेहरूलाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।

घटनामा संलग्न चार जनालाई सर्लाहीको सीमावर्ती क्षेत्रबाट प्रदेश प्रहरी कार्यालय जनकपुरका इन्स्पेक्टर उमाशंकर साह नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

सिटिभी फुटेज र स्थानीयले दिएको आधारमा इन्स्पेक्टर साहले घटनाको २४ घण्टा नबित्दै अभियुक्तहरूलाई पक्राउ गर्न सफल भएका छन् । पक्राउ पर्नेहरूमा भारत विहार राज्यको शिवहर जिल्लामा पर्ने छप्रा ग्राम पञ्चायतका १९ वर्षीय आलोक सिंह, विहार राज्यको बैशाली जिल्लामा पर्ने सुलतानपुर ग्राम पञ्चायतका १९ वर्षीय सौरभ कुमार यादव, बिहार राज्यकै मोतिहारी जिल्लामा पर्ने हराज ग्राम पञ्चायतका १९ वर्षीय गुलसन कुमार सिंह र सर्लाहीकै धनकौल गाउँपालिका १ का ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी छन् ।

पक्राउ परेका सहनीको खुट्टामा गोली लागेको छ । पक्राउ गर्ने क्रममा भाग्न खोज्दा प्रहरीले चलाएको गोली सहनीको खुट्टामा लागेको बुझिएको छ ।

उनीहरूमाथि थप अनुसन्धान प्रहरीले गरिरहेको जनाएको छ । बुधवार बिहान करिब साढे १० बजे सहकारीको सेवा केन्द्रमा लुटपाट गर्ने उद्देश्यले कर्मचारी कार्कीमाथि चार गोली प्रहार गरिएको थियो । कार्कीको अवस्था गम्भीर छ । उनको उपचार जिल्लामा सम्भव नभएपछि काठमाडौँ लगिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *