बाटो अवरुद्ध भएपछि कक्षा १२ को परीक्षा जुम्लामै

जुम्ला । लगातारको वर्षाले कर्णाली राजमार्ग अवरुद्ध भएपछि कक्षा १२ को परीक्षा जुम्लामै हुनेभएको छ । जुम्ला घर भइ विभिन्न जिल्लामा परीक्षा केन्द्र भएका विद्यार्थी जाँच दिन जान नसकेपछि जिल्लामै परीक्षा केन्द्र कायम गरिएको हो ।

गएको असोज १९ गतेदेखिको वर्षाका कारण गएको पहिरोले कर्णाली राजमार्ग बन्द भएको र हवाई उडानमार्फत जान सम्भव नभएपछि कक्षा १२ का २७ जना परीक्षार्थीहरूका लागि जुम्लामै परीक्षा केन्द्र तोक्न परीक्षा नियन्त्रण कार्यालयले स्वीकृति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले विद्यार्थीको भविष्य अन्योलमा नपरोस् भनेर परीक्षा नियन्त्रण कार्यालय, राष्ट्रिय परीक्षा बोर्डलाई जिल्लामै केन्द्र निर्धारण गरिदिन आग्रह गरिएको जानकारी दिए । आग्रह अनुरुप परीक्षा नियन्त्रण कार्यालयले जुम्लामै परीक्षा गर्न स्वीकृति दिएको हो । उनका अनुसार चन्दननाथ उच्च माध्यामिक विद्यालयमा ती विद्याथीको परीक्षा हुनेछ ।

परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अर्जुन रायमाझीले परीक्षा सञ्चालनका लागि अनुमति पत्रसमेत पठाइसकेको जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *