मधेशमा सत्तारुढ गठबन्धनका मन्त्री हटाउने तयारी

जनकपुरधाम । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका चार जना मन्त्रीलाई हटाएपछि त्यसको असर मधेश प्रदेशमा पनि पर्ने देखिएको छ । मधेशमा जसपा नेतृत्वको सरकार छ ।

यहाँ सत्तारुढ गठबन्धनबाट पनि मन्त्री छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्रीलाई हटाउने तयारी गरिएको छ ।

सत्ता गठबन्धनसँग आबद्ध दलका मन्त्रीहरूलाई हटाउने विषयमा मुख्यमन्त्री राउतले पार्टी नेतृत्वसँग परामर्श गरिरहेको मधेस प्रदेश सरकारका अर्थमन्त्री एवं प्रवक्ता शैलेन्द्रप्रसाह साहले जानकारी दिए । उनले त्यस विषयमा तत्काल निर्णय लिइने बताए ।

प्रदेश सरकारमा संघीय सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, वीरेन्द्रप्रसाद सिंह र ओमप्रकाश शर्मा, नेकपा माओवादी केन्द्रका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साह र सोही मन्त्रालयका राज्यमन्त्री रुबी कर्ण, नेकपा (एकीकृत समाजवादी)का शत्रुधन महतो र कानुन मन्त्री प्रमोदकुमार यादव छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको मनोनयपत्र दाखिला गर्ने निर्धारित मितिको अघिल्लो दिन असोज २२ गते संघीय सत्ता गठबन्धनका जसपा नेपालले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग चुनावी तालमेल गरेको थियो ।

तर, जसपा नेपालका चार मन्त्रीहरू संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठ, भौतिक पूर्वाधार मन्त्री मोहम्मद इस्तियाक राई, वन तथा वातावरण मन्त्री प्रदीप यादव र कृषि तथा पशुपक्षी मन्त्री मृगेन्द्रकुमार सिंहले राजीनामा दिएका थिएनन् । बिहीबार प्रधानमन्त्री देउवाले ती चारै मन्त्रीलाई बर्खास्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *