‘जनताले संघीय संसदमा सही कानुन बनाउन सक्ने अनुभवी मान्छे खोजेका छन्’ (अन्तरवार्ता)

मोरङ निर्वाचन क्षेत्र नम्बर ३ अघिल्लो निर्वाचनमा चर्चामा थियाे नै, आगामी मंसिर ४ गते हुने निर्वाचनमा पनि निक्कै चर्चामा छ । यो निर्वाचन क्षेत्रमा नेकपा एमालेका स्थायी कमिटी सदस्य, पूर्व स्वास्थ्य मन्त्री तथा कानुन मन्त्री भानुभक्त ढकाल, नेपाली कांग्रेसका महासमिति सदस्य तथा मेडिकल व्यवसायी सुनिल शर्मा र राप्रपाकी नेतृ तथा नायिका रेखा थापाबीच राेचक प्रतिस्पर्धा हुँदैछ । एक जना कानुन बनाएर आएका र स्वास्थ्य क्षेत्र सम्हालेका व्यक्ति र अर्का स्वास्थ्य क्षेत्रमा नै व्यवसायीक अनुभव हासिल गरेका व्यक्तिबीचको भिडन्त निक्कै रोचक हुने आकलन गरिएको छ । यति बेला नेता ढकाल आफ्नो निर्वाचन क्षेत्र नम्बर ३ मा मतदाता केन्द्रित छलफल  र भेटघाटमा व्यस्त छन् । व्यस्तताकै बीच नेता ढकालसँग मकालु खबरकर्मी सुमन सुस्केराले संक्षिप्त संवाद कुराकानी गरेका छन् ।

निर्वाचनको तयारी कसरी गर्दै हुनुहुन्छ  ? 
निर्वाचनको तयारीमा सबै दल जुटिसकेका छन् । नेकपा एमाले निर्वाचनको यो अभियानमा अग्रमोर्चामा उभिएर लागिपरेको छ । विगतको भन्दा यो निर्वाचनमा निक्कै  प्रभावकारी रूपमा काम सुरु भएको छ ।  मेरो निर्वाचन क्षेत्रमा २६ वटा वडा छन् । ती वडा मध्ये २४ वटा वडाका वडा कमिटीसँग बसेर छलफल भइसकेको छ ।  पार्टी कमिटी सक्रिय भएर  लागेको छ । पहिलो चरणमा वडागत रूपमा पार्टी कमिटीका साथीहरूसँग बसेर छलफल गरिसकेकाे छु । पहिलो चरणमा आफ्नै नेता र पार्टी कमिटीका गुनासालाई सम्बोधन गर्दै अघि बढेको छु । क्षेत्रीय कमिटीहरू सहित वडा कमिटी सक्रिय रूपमा अघि बढेको छ । जनसङ्गठनहरू सबै प्रदेश कमिटी बसेर परिचालित भएका छन् । पार्टीको तर्फबाट वडा कमिटीहरूलाई नागरिकको बिचमा कमाण्डर बनाएर पठाइएको छ। आगामी मंसिर ४ गते निर्वाचन हुँदाको दिनसम्मका लागि कार्यतालिका र कार्य योजना बनाएर अघि बढिसकिएको छ ।
आगामी मंसिर ४ गतेको निर्वाचनलाई तपइँले कसरी लिनु भएको छ ?
यो एउटा अभियान हो । जनताको मन जित्ने एउटा आन्दोलन पनि हो । यो स्थानीय तहको जस्तो निर्वाचन हैन । अहिलेको निर्वाचनबाट जनताले अनुमोदित गरेर पठाएका जनप्रतिनिधिले जनताले चाहे अनुसारको कानुन बनाउने हो । विकास निर्माण गर्ने दायित्व भनेकाे स्थानीय सरकारलाई छ । संघीय संसद्मा निर्वाचित भएर जाने व्यक्ति भनेको अनुभवी र कानुन बनाउने सक्षमताका साथ जानु पर्छ । नागरिकले पनि त्यही अनुसार बुझ्नु भएको छ जस्तो मलाई लाग्छ । यो पटकको निर्वाचन बुझेका र अनुभवीलाई मतदाताले बुझ्नु हुन्छ भन्ने नै हो ।
कार्यकर्ताको सन्तुलन कसरी मिलाएर जानुहुन्छ ?
अरू निर्वाचन क्षेत्रको जस्तो मेरो निर्वाचन क्षेत्रमा समस्या छैन । प्रदेशमा र संघीय निर्वाचन क्षेत्रमा छनाेट भएका उम्मेदवारहरूमा सन्तुलन मिलेकोले मेरो निर्वाचन क्षेत्र सबै हिसाबले सहज छ । केही साथीहरूको असन्तुष्टि भएको हुनसक्छ ती साथीहरूले पनि कुरा बुझिसक्नु भएको छ। पार्टीको बैठकमा आएर आफ्ना असन्तुष्टि राखिसक्नु भएकोले हाम्रो आन्तरिक समस्या समाधान भइसकेको छ । चुनावको बेलामा कार्यकर्ता आउने र जाने क्रम चल्छ । यो सबै दल भित्रको समस्या र एउटा प्रक्रिया पनि हो । पार्टीभित्र हिजो रुष्ट देखिनुभएका साथीहरू आज सकारात्मक हुनुहुन्छ ।
अघिल्लाे निर्वाचनपछि जनतामा आउनु भएन भनेर टिका टिप्पणी भइरहेका छन् नि ?
त्यो गुनासोलाई मैले अत्यन्त महत्वका साथ लिएको छु । जोसुकै नागरिकले पनि आफूले जिताएर पठाएका जनप्रतिनिधिसँगै यही निर्वाचन क्षेत्रमा बसिदिए हुन्थ्यो भनेर सोच्नु, नजिकै हुन पाए हुन्थ्यो, आफ्ना कुरा सिधासिधी राख्न पाए हुन्थ्याे भन्नुलाई स्वाभाविक रूपमा लिएको छु । तर, नागरिकले के बुझ्नु भएको छ भने राजकीय रूपमा काम गरेको व्यक्ति अलिक व्यस्त हुन्छ । कानुन निर्माणको काममा लाग्नु पर्छ भन्ने पनि उहाँहरूलाई थाहा छ । हाम्रो मान्छे हो, घुलमिल भएन, पहुँच पुगेन भन्ने नागरिकका गुनासाहरू आएका थिए त्यो सम्बोधन हुँदै गएका छन् । मबाट भएका केही कमीकमजोरी छन् भने त्यसलाई सुधार गर्नुपर्छ, गर्छु । मतदाताले यो मान्छे इमान जमानको मान्छे हो भनेर राम्रोसँग बुझ्नु भएको छ । नागरिकले मेरो बारेमा पनि राम्रो बुझ्नु भएको छ र मैले पनि नागरिकका समस्यालाई राम्रोसँग बुझेको छु ।
तपाइँले प्रतिस्पर्धीलाई कसरी लिनुभएको छ ?
मतदाताले मलाई इमान, क्षमता र योग्यता भएको व्यक्तिको रूपमा बुझ्नु भएको छ । अबको निर्वाचनमा जनताले  पार्टीभित्र जनप्रतिनिधिको हैसियत पनि हेर्छन् । अर्को पार्टीको उम्मेदवारको प्रभावलाई पनि हेर्नुपर्ने हुन्छ । अर्को पार्टीमा जनताबाट अनुमोदित नभएका साथीहरू हुनुहुन्छ । हिजोको भन्दा आजको आकर्षण मेरो पक्षमा देखिन्छ । कोही हिजो मनोरञ्जनको क्षेत्रमा थियो र आज निर्वाचनमा जाँदैछ भने त्यसले तात्त्विक अर्थ राख्दैन । बाहिर देखिएका र फोटो खिचाउन झुम्मिनेहरूले भोलि मतदानको बेला भोट हाल्छन् भन्ने कुनै ग्यारेन्टी छैन ।
जनप्रतिनिधिको काम विकाससँग पनि जोडिन्छ।  यो पाँच वर्षमा तपाईँले के गर्नु भयो ?
संविधान निर्माणको ५ वर्ष हामीले सङ्घीयताको जग बसाउँदै संविधानलाई  कार्यान्वयनमा लगेका छौँ । त्यसैको लागि मेरो कार्यकालमा मैले १३९ कानुन निर्माण गरेँ र १६ वटा मौलिक हकहरुसम्बन्धी कानुनहरू बनायाैँ । यो सानो काम हैन । कानुन निर्माणसँगै जनताको विकास पनि जोडिएको छ । मैले त्यो बेला मतदातासँग गरेकाे प्रतिबद्धताअनुसार सुकुम्बासी समस्या समाधानका लागि कानुन बनाएर कार्यान्वयनमा लान्छु  भनेको थिएँ । सुकुम्वासी समस्या समाधानसम्बन्धी कानुनको आधारमा आयोग बनेर देवी ज्ञवालीको अध्यक्षतामा धेरै कामहरू हुँदै थिए । यसैबीच सरकारको हेरफेरले जग्गाधनीपूर्जा  वितरण गर्न केही समस्या देखियो । अब धनी पूर्जा पाउने बाटो खुलेको छ, त्यो कार्यान्वयनमा जाँदैछ ।  पूर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सार्न कानुन निर्माण गरी स्थानान्तरण गर्ने काम भएको छ । निर्वाचन क्षेत्रमा पर्ने डाँस, लोहन्द्रासहितका ४ वटा खोलाले हरेक वर्ष कटान गर्ने र ठुलो क्षति हुने गरेकोले त्यसको रोकथामको लागि बहुवर्षीय कार्यक्रमको रूपमा तटबन्ध निर्माणको काम भएको छ ।
सात वटै प्रदेशमा सरुवा रोग अस्पताल बनाउने कुरालाई पूर्णता दिन सुन्दर हरैँचामा नै २५ करोड बजेट विनियोजन गरेर सरुवा रोग अस्पताल बनाउने कामको शिलान्यास गरिएको छ। त्यो काम अघि बढ्न सकेको छैन म निर्वाचित भएर गएपछि पूरा गर्नुपर्ने छ । हरेक पालिकामा ५, १० र १५ बेडसम्मका अस्पताल बनाउनको लागि बजेट छुट्याइयो । र सबै पालिकामा ती अस्पताल बन्ने चरणमा पुगेका छन् भने कतिपय पालिकामा निर्माण पूरा भएर सञ्चालनमा आइसकेको छ । यीबाहेकका धेरै विकास निर्माणका कामहरू पूरा भएका छन् । विकास निर्माणका कामहरू स्थानीयको माग र आवश्यकताका आधारमा छनौट भएका योजनाहरूलाई स्वीकृति प्रदान गरेर कार्यान्वयनमा गएका छन् । हिजोको निर्वाचनमा बोलेका र उठाएका कामहरू मैले पूरा गरेको छु ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *