योजनावद्ध ढंगबाट मलाई सिध्याउन खोजियो : सन्दिप

काठमाडौँ । बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको बयान आइतबारदेखि सुरु भएको छ। सोमबार पनि म्याद थप गरेपछि उनको बयान भइरहेको छ।

बयानका क्रममा सन्दीपले आफूमाथि लागेका सबै आरोपको खण्डन गरेका छन्। जाहेरी दिने युवतीले योजनावद्ध ढंगबाट आफूलाई सिध्याएको उनको बयान छ।
सरकारी वकिलको रोहबरमा प्रहरीले बयान गराइरहेको छ। बयान र अनुसन्धान सकिएसँगै मुद्दा अदालतमा दर्ता हुनेछ।

सोमबार अदालतले ७ दिन हिरासतमा राख्न म्याद थप गरेको छ। तर ७ दिन अनुमति दिएपनि ५ दिन बितिसकेको छ। अब बुधबारसम्म मात्रै प्रहरीले सन्दीपलाई हिरासतमा राख्न पाउँछ। त्यसपछि उनलाई पुनः अदालतमा उपस्थित गराउनुपर्छ।

सोमबार म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउँदा सन्दीपले न्यायाधीशसँग पनि आफूमाथीको आरोप बारे कुरा गरेका छन्। तपाईको केही भन्नु छ भनेर न्यायाधीशले सोधेपछि सन्दीपले आफ्ना कुरा राखेका थिए। त्यस क्रममा उनले युवती नाबालिग नभएको समेत बताए।

नगरकोट जाने योजना पनि आफ्नो नभएर युवतीकै भएको सन्दीपले बताएका छन्। ‘नगरकोट नजाउँ दरबारमार्गमै कफी खाउँ भनेको थिएँ, तर उनले नगरकोट जाउँ त्यहाँबाट काठमाडौंको दृश्य हेर्न मन छ भनेपछि चाँडै फर्किने शर्तमा गएको हो। बेलुका फर्किएपछि उनी होस्टल जान नमानेपछि होटलमा बसेको र त्यो पनि उनकै योजना अनुसार भएको हो’, सन्दीपले इजलाससामु भने।

पहिले जाने बेलामा जतिबेला पनि होस्टल फर्किन मिल्छ भनेको तर पछि होस्टल जान मिल्दैन भनेको सन्दीपको भनाई छ। नगरकोट जाने क्रममै उमेरको विषयमा पनि कुरा भएको र युवतीले आफू १९ वर्षकी भएँ भनेको सन्दीपले बताएका छन्।

सोमबार नै अधिवक्ता सुधा रिजालले पनि युवतीले उमेर घटाएर अर्को जन्मदर्ता बनाएको बताएकी थिइन्। अदालत परिसरमै सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘सन्दीपलाई योजनाबद्धढंगबाट फसाइएको प्रमाण हामीसँग छ। ती प्रमाणसहित हामी अदालत जान्छौं। दुईवटा जन्मदर्ता गरेको प्रमाण हामीसँग सुरक्षित छ।’

नगरकोट गएको भोलिपल्ट नेपाली राष्ट्रिय क्रिकेट टिम केन्या प्रस्थान गरेको थियो। केन्या प्रस्थान गर्नु पर्ने कारण नै आफू बाहिर जान नमानेको सन्दीपले बताएका छन्।
नगरकोटबाट युवती फर्किन समेत नमानेको र आफू केन्या जानु पर्ने कारण फर्किनुपर्दा युवती रिसाएर गाडीमा चढेको उनले बताएका छन्।

आफूलाई झुटो आरोप लगाएर फसाइएको भन्दै यसको उपचार के हुनसक्छ भनेर उनले न्यायाधीशलाई समेत सोधेका थिए। न्यायाधीशले त्यस विषयमा मुद्दाको सुनवाई हुँदा कुरा गर्न भनेका छन्।

सन्दीपलाई म्याद थपका लागि लैजाँदा उनका कानुन व्यवसायी पनि अदालतमा पुगेका थिए।

सन्दीपका कानुन व्यवसायीले जाहेरी र अन्य कागजात हेर्न पाउँ भन्दै अनुरोधभ गरेका थिए। तर न्यायाधीशले आफैं पढेर जाहेरीका मुलभुत विषय सन्दीप पक्षका कानुन व्यवसायीलाई सुनाएका थिए।

सन्दीपका कानुन व्यवसायीले मुद्दाको छिटो टुंगो लगाइदिन र सन्दीप निर्दोष ठहरिए छिट्टै राष्ट्रिय टिममा फर्किने भएकाले प्राथमिकताका साथ सुनुवाइ गरिदिन आग्रह गरेका थिए।

सन्दीपको बयान अझै केही दिन चल्ने प्रहरीले बताएको छ। गत भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध जाहेरी दिएकी थिइन्।

सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न अदालतको अनुमति

जाहेरवाला नाबालिग होइनन् : लामिछाने

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *