चितवनमा भित्रिए च्याङ्ग्रा, व्यवसायीलाई बेच्न मुस्किल

 चितवन । हो, दसैँमा च्याङ्ग्राको मासु खान सबैको गच्छेले भ्याउँदैन, तर खान सक्ने गच्छे भएकाले दसैँमा च्याङ्ग्राको मासु नखाई मन नै मान्दैन । भरतपुर र नारायणगढको बजारका मासु व्यवसायीहरूले बर्सेनि तातोपानी, मुस्ताङ, बेनीलगायत हिमाली जिल्लाबाट व्यवसायीले च्याङ्ग्रा ल्याएका छन्, तर बेच्न मुस्किल परिरहेको उनीहरूको भनाइ छ ।

यस वर्षको दसैँमा चितवनका ठूला मासु व्यवसायीहरूले च्याङ्ग्रा ल्याएका हुन् । विगतका वर्षहरूको तुलनामा चितवनमा कम च्याङ्ग्रा ल्याइएको भए पनि बिक्री गर्न मुस्किल परिरहेको व्यवसायी बताउँछन् । ‘चितवनका केही व्यवसायीले बेनी बजारबाट, केहीले तातोपानीबाट च्याङ्ग्रा ल्याएका छन्, तर बेच्न सकिरहेका छैनन्’ खसी बोका मासु व्यवसायी संघ चितवनका अध्यक्ष उद्धव तिमिल्सिनाले भने, ‘तर यस वर्ष धेरै च्याङ्ग्रा चितवन ल्याइएको छैन, कम च्याङ्ग्रा भित्रिएका छन् ।’ उनका अनुसार गत वर्ष च्याङ्ग्रा बेच्न मुस्किल परेको हुनाले यस वर्ष थोरै परिमाणमा च्याङ्ग्रा ल्याइएको हो, तर यस वर्ष पनि बेच्न मुस्किल परिरहेको छ ।

अध्यक्ष तिमिल्सिनाले भरतपुर र नारायणगढका ७ जना व्यवसायीले मात्र च्याङ्ग्रा ल्याएको बताए । उनका अनुसार चितवनमा यस पटक करिब ३०० वटा च्याङ्ग्रा व्यवसायीले ल्याएका छन् । उनले भने, ‘पूर्णिमाको दिनसम्म च्याङ्ग्रा विक्री त हुन्छ, तर बेच्न मुस्किल परिरहेको छ, हेरौँ, दसैँको टीकाको दिनसम्म कति जान्छ ?

व्यवसायीले अहिले एउटा १८ देखि २० किलोसम्मको च्याङ्ग्राको मूल्य ३५ हजारभन्दा बढी हालेर ल्याएका छन्’, अध्यक्ष तिमिल्सिनाले भने, ‘च्याङ्ग्रा महँगो भएको हुनाले व्यवसायीहरूले थोरै लगानी गरेर च्याङ्ग्रा ल्याएका हुन्, तर व्यवसायीले बेच्न सकिरहेका छैनन्, उपभोक्ताको च्याङ्ग्राको मासु खरिदमा पनि महँगो परिरहेको छ ।

भरतपुरका मासु व्यवसायी सलिम देवानले गत वर्ष पनि च्याङ्ग्रा ल्याएका थिए, तर उनलाई गत वर्ष च्याङ्ग्रा बेच्न मुस्किल परेको थियो । कोरोनाको कहरका कारणले पनि उनले मुस्ताङबाट ल्याएको च्याङ्ग्राले खासै फाइदा दिएन । यस पटक उनले पनि थोरै परिमाणमा नै च्याङ्ग्रा ल्याए । उनले भने, ‘हेरौँ, कति बेच्न सकिन्छ, तर सोचेजस्तो बिक्री भइरहेको छैन ।’  उनले यस वर्ष च्याङ्ग्रा खरिदमा महँगो पर्ने भएको हुनाले बिक्री पनि महँगो नै परिरहेको बताए ।

व्यवसायीले आर्थिक मन्दीका कारण यस पटक महँगो मासु खरिदमा उपभोक्ताहरूको कमी हुने अनुमान गरेका छन्, जसका कारण ठूलो परिमाणमा च्याङ्ग्रा नल्याइएको उनीहरूको भनाइ छ । खसी बोका मासु व्यवसायी संघले एक व्यवसायीले च्याङ्ग्रा खरिदमा १५ लाखसम्म लगानी गरेको जनाएको छ । कोभिड–१९ महामारीपछि च्याङ्ग्रा झन् महँगिएको व्यवसायी बताउँछन् ।  बढ्दो करजस्ता कारणले पनि यसको मूल्य बढ्दै गएको व्यवसायीको भनाइ छ । स्थानीय तहसहित ठाउँ–ठाउँमा दस्तुर र कर तिर्नुपर्दा व्यवसायीले च्याङ्ग्राको मूल्य बढी परेको गुनासो गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *