सिट बाँडफाँड : सत्तागठबन्धनका सबै दल असन्तुष्ट

जसपा केन्द्रीय कार्यकारिणी समितिको शनिबार बसेको बैठकले सिट बाँडफाँडसम्बन्धी छलफलमा आफ्नो पार्टीका लागि सन्तोषजनक नेखिएको भन्दै अन्य दलसँग तालमेल गर्न सक्ने निर्णय गरेको छ । पाँचदलीय गठबन्धनमा रहेका दलमध्ये कुनै एकले औपचारिक निर्णयमार्फत गठबन्धनबाहिर तालमेलको विकल्प खुला गरेको यो पहिलो घटना हो।

खास गरेर मधेस प्रदेशमा आफूलाई कम सिट दिन खोजिएको र त्यसले प्रदेश सरकार गठनमा असर पर्न सक्ने आकलनसहित जसपाले वैकिल्पक गठबन्धनबारे निर्णय लिएको हो । केन्द्रमा पनि उसले चाहेजति सिट पाउन सक्ने अवस्था नरहेको अध्यक्ष उपेन्द्र यादवको भनाइ छ।

आफ्नो निर्णयमा जसपाले भनेको छ, ‘संघीय संसद् र प्रदेश सभा सदस्यको निर्वाचनमा सिट तालमेलको सम्बन्धमा भइरहेको सिट बाँडफाँडसम्बन्धी छलफलमा हाम्रो पार्टीका लागि सन्तोषजनक अवस्था नदेखिएको हुँदा यसका अतिरिक्त सम्भव भएसम्म विकल्पका रूपमा अन्य राजनीतिक दलहरूसँग पनि निर्वाचनमा सिटको तालमेल गर्न सकिनेछ। सो पनि हुन नसकेको अवस्थामा जसपा नेपाल एक्लै निर्वाचनमा भाग लिने निर्णय ।’

जसपाले औपचारिक निर्णय लिए पनि गठबन्धनमा रहेका अन्य दल पनि दाबी गरेअनुसार पाउन सक्ने भएपछि सिट बाँडफाँडमा सन्तुष्ट छैनन् । असन्तुष्टिमा सबै दलका आ–आफ्ना कारण छन् । दलहरूभित्र सकेसम्म धेरै सिट पाउने गरी तालमेल गर्न शीर्ष नेतृत्वमाथि दबाब छ । सातै प्रदेशमा सरकार बनाउनुपर्ने भएकाले दलहरूले प्रदेश सभामा पनि बलियो उपस्थिति खोजेका छन् । कांग्रेस एक्लैले ५० प्रतिशत दाबी गरेको ।

गठबन्धन गर्दा सीमित सिट हुने, एक–एक व्यक्तिको व्यवस्थापन गर्न कठिन हुने भन्दै कांग्रेस असन्तुष्ट छ । सम्माजनक सिट बाँडफाँडमा जोड दिएको माओवादी चुनावपछि कांग्रेसले अर्कै सरकार बनाउने दिशामा नजाओस् भनेर असन्तुष्ट देखिन्छ।

यसबाहेक एमालेका भोट काट्न धेरै उम्मेदवार माग गरेको एकीकृत समाजवादी भूमिकाअनुसार सिट नपाइने भयो भनेर असन्तुष्ट देखिएको छ । प्रदेश सभामा केन्द्रमा जस्तै उपस्थिति चाहेको जनमोर्चा पनि त्यस्तो अवस्था नआउने देखेर असन्तुष्ट छ।

मुख्यगरी कांग्रेस र अन्य चार दलले एक–अर्काका कारण सहमति जुट्न नसकेको दाबी गरेका छन् । कांग्रेसले हैसियतभन्दा बढी सिटमा गठबन्धनका अन्य दलहरूले दाबी गरेका कारण सहमति नजुटेको आरोप लगाएका छन् । अन्य चार दलले पनि कांग्रेसले बढी सिट दाबी गरेर समस्या भएको बताउँदै आएका छन् । यद्यपि, उनीहरूले गठबन्धनको विकल्प नभएको बताउँदै आएका छन्।

कांग्रेसले ९० सिटमा दाबी गरेको छ । अन्य दल कांग्रेसलाई ८२ सिटभन्दा बढी छाड्न तयार छैनन् । यद्यपि, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले ८५ सिटसम्ममा झर्न सकिने बताएका छन् । ‘जसपाको निर्णय के आएको छ भन्ने औपचारिक जानकारी पाएका छैनौँ । जुन उद्देश्यले जसपा गठबन्धनमा सामेल भएको छ त्यसलाई प्राप्त गर्न र गठबन्धनलाई अझै सुढृढ बनाउन गठबन्धनमा नै रहन्छ भन्नेमा विश्वास छ,’ कांग्रेस कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले भने।

माओवादी निर्वाचनपछि पनि निर्णायक शक्ति बन्न चाहन्छ । सत्ता सञ्चालनको ‘चाबी’ आफ्नै हातमा रहिरहोस् भन्नेमा उसको दाबी छ।
माओवादी केन्द्रका महासचिव एवं पाँचदलीय गठबन्धनको कार्यदल सदस्य देव गुरुङले दलहरूले अडान नछाडेका कारण सहमतिमा समस्या भएको बताए । ‘गठबन्धनमा निरन्तर छलफल भइरहेको छ । दलहरूको आ–आफ्नै अडान छन् । असन्तुष्टि छन् । हाम्रा पनि असन्तुष्टि छन् । मुख्य कुरा गठबन्धन गर्ने कि नगर्ने भन्ने हो । गठबन्धन गर्दा सबैले केही न केही छाड्नुपर्ने हुन्छ । नत्र त गठबन्धन नै हुँदैन नि,’ उनले भने।

माओवादी उपमहासचिव हरिबोल गजुरेलले गठबन्धनको विकल्प नभएकाले सबै लचिलो हुनुपर्ने बताए । ‘केही सिट तलमाथि होला, हामीले ५० आसपास सिट लिने समझदारी भइसकेको छ,’ गजुरेलले भने, ‘गठबन्धन निर्माणको नेतृत्व गरेकाले अरूलाई मिलाउने दायित्व पनि माओवादीसँग छ । हामीले गठबन्धन निर्माणमा खेलेको भूमिका र शक्तिका आधारमा ५० आसपास सिट लिनु स्वाभाविकै हो । प्रचण्ड उदार भएकै कारण हामी लचिलो भएका हौँ।’

एकीकृत समाजवादीले पनि गठबन्धन निर्माणमा खेलेको विशिष्ट भूमिका र हैसियत हेरेर समझदारी गर्नुपर्ने बताएको छ । कांग्रेस र अन्य चार दल ५०–५० को अवस्थामा सहमतिमा पुग्न सक्ने समाजवादीको सुझाव छ । ‘गठबन्धनबीच एकता कायम गर्न सम्मानजनक सिट बाँडफाँड हुनुपर्छ।

पाँचवटै दलबीच समझदारी कायम गरेर अगाडि बढ्नुपर्छ । कांग्रेस र माओवादीले अझ बढी ध्यान दिनुपर्छ । हामी नयाँ पार्टी हुँदाहुँदै पनि हैसियत देखाइरहेका छौँ । हाम्रो विशिष्ट योगदान र हैसियत हेर्नुपर्छ,’ एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भने । खनालका अनुसार करिब ७० प्रतिशत सिटमा अझै सहमति जुट्न बाँकी छ । सबै सिटमा समझदारी नगरी तालमेल नहुने उनले बताए।

एकीकृत समाजवादीका उपाध्यक्ष एव कार्यदल सदस्य प्रमेश हमालका अनुसार एकले अर्कालाई गलाउने प्रयास जारी छ । पछिल्ला बैठकहरूमा ठोस प्रगति छैन । ‘दलहरूका दाबी छन् । हाम्रो पनि दाबी छ । आफ्नो दाबीबाट पछि नहट्ने र अन्यलाई गलाउने प्रयास जारी छ । गठबन्धन भन्नेबित्तिकै कतिपय विषयमा फरक मत हुन्छ । नत्र त एउटै दल भइहाल्थ्यो नि।’

एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको बैठक बसे पनि परिणाम आउन नसकेको भन्दै असन्तुष्टि जनाउँदै आएका छन् । ‘आजै हुन्छ, भोलि नै हुन्छ भन्दै बैठक बसिरहेका छौँ । तर, कहिले टुंगिन्छ भन्न सकिँदैन । हामी बालुवाटारबाट तेल निकन्छ कि भनेर तेल पेलिरहेका छौँ ।’ एकीकृत समाजवादीले कम्तीमा २४ सिट पाउनुपर्ने दाबी गरेको छ।

जसपाले सिट बाँडफाँड सन्तोषजनक नभएको निष्कर्ष निकाल्दै अतिरिक्त विकल्पमा जाने निर्णय नै गरेको छ । जसपा अध्यक्ष उपेन्द्र यादवले भने, ‘पाँचदलीय गठबन्धन सँगसँगै अब अरूसँग पनि तालमेलबारे कुराकानी गर्ने भनेका छौँ । गठबन्धनमै सन्तोषजनक भए त किन बोल्नुपथ्र्यो र ? सिट बाँडफाँडकै विषयमा हाम्रो असन्तुष्टि हो । हामीले दाबीभन्दा निकै कम सिट पाउने भयौँ।’

प्रतिनिधिसभामा दुई र प्रदेश सभामा ७ सिट दाबी गरेको जनमोर्चा पनि सहमति जुट्नेमा ढुक्क छैन । त्यसैले जनमोर्चामा समानुपातिकमा राखेका केही नेतालाई प्रत्यक्षमा उठ्नुपर्ने भन्दै नाम फिर्ता लिएको छ।

‘समानुपातिकमा राखेका केही राम्रा उम्मेदवार प्रत्यक्षमा उठाउने भनेर फिर्ता गर्‍यौँ । प्रत्यक्षतर्फ लानुपर्ने स्थिति नै आयो,’ जनमोर्चाबाट कार्यदल सदस्य हिमलाल पुरीले भने । कांग्रेस–माओवादी लचिलो भए सहमति जुट्ने उनको दाबी छ । उनले भने, ‘कांग्रेस र माओवादी अलिकति लचक हुने हो भने सबै मिल्छ । गठबन्धन अहिले राजनीतिक आवश्यकता हो ।’ –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *