कुमारी र एनसीसी बैंकलाई राष्ट्र बैंकद्वारा मर्जरकाे सैद्धान्तिक स्वीकृति

काठमाडौँ । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) र कुमारी बैंकले आपसमा गाभिन (मर्जर)का लागि सैद्धान्तिक स्वीकृति पाएका छन् । यी दबै बैंकले गत असोज १० गते मर्जरमा जाने सहमति गरेका थिए ।

नेपाल राष्ट्र बैंकले दशैँ बिदा सुरु हुनु अघिल्लो दिन (शुक्रबार) सैद्धान्तिक स्वीकृति दिएको हो ।

दुबै बैंक बराबरी हैसियतमा मर्जर हुने सहमति गरेका छन् । अब दुबै बैंकले मर्जर पूर्वका बाँकी काम सक्ने छन् । उनीहरुले सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांकन (डीडीए) गर्नेछन् ।

त्यसपछि विशेष साधारणसभाबाट मर्जर एजेण्डा पारित गरेर अन्तिम स्वीकृतिका लागि जाने छन् । दुबै बैंकको तयारी पुस मसान्तअघि एकीकृत कारोबार गर्ने भन्ने छ ।

दुई बैंक गाभिएपछि चुक्ता पुँजी २५ अर्ब ८५ करोड पुग्ने छ । बैंकको निक्षेप ३ खर्ब ११ अर्ब ३४ करोड निक्षेप हुनेछ भने कर्जा २ खर्ब ७४ अर्ब ५५ करोड हुनेछ। जगेडा कोषमा भएको रकम लगायतका आधारमा बैंकको कुल पुँजी ३७ अर्ब ६५ करोड हुनेछ ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल हुने छन् । कुमारीका रामचन्द्र खनाल वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक नै रहने सहमति छ ।

एनसीसी बैंकका कर्मचारीका लागि स्वेच्छिक अवकाश योजना ल्याइने छ । कुमारीले भने यो योजना ल्याउने छैन। अहिले एनसीसीमा १६०० कर्मचारी छन् भने कुमारीमा १९०० कर्मचारी छन् । दुइ बैंक मर्ज भएपछि एक्सटेन्सन काउन्टरबाहेक शाखा संख्या ३५५ पुग्ने भएकाे छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *