पर्व सामग्र्री बनाउन व्यस्त कुम्हाले

भादगाउँ । भक्तपुर नगरापालिका–४ तालाक्वका रामकृष्ण प्रजापतिको परिवार यतिखेर निकै व्यस्त छ । बिहानदेखि रातिसम्म फुर्सद छैन । यतीसम्म कि खाना खाने समयसमेत मिलाउन मुस्किल छ । बडादशैंमा सप्तमी, महाअष्टमी, महानवमी र बडादसैँका दिन पूजा गर्न आवश्यक सामग्री बनाउन अहिले उहाँको परिवारलाई भ्याइनभ्याई भएको हो ।

‘अहिले दशैं पर्व लागिसक्यो अर्डरको सामान बनाउन अझै धेरै बाँकी छ ।’ उनले भने, ‘अहिले त म मात्र होइन परिवारका सबै सदस्य यसै काममा व्यस्त छन् । बच्चाहरुको बिदा भएदेखि यसै काममा लगाइराखेका छौ । दसैँका लागि नातिनातिनालाई लुगा किन्न जाने समय नै मिलाउन सकेको छैन ।’

रामकृष्णका श्रीमती, छोरा, बुहारी, छोरी, नातिनातिनीसमेत दसँैमा पूजाकोठामा राख्ने धुपौरो, दूध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अन्ती, दूध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्लीलगायतका सामग्री बनाउनमा व्यस्त छन् । दसैँमा जमरा राख्ने ढुकुटी कोठामा देवी दुर्गाको पूजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । यही माग धान्न अहिले रामकृष्णका परिवारका सदस्य भाडा बनाउने, सुकाउने, रङ्ग लगाउने र मिलाउनेदेखि बजार पठाउने कार्यमा तल्लीन छन् ।

त्यसैगरी ६५ वर्षीय अर्का व्यवसायी हरि प्रजापतिलाई पनि भ्याइनभ्याई छ । बिहान चार बजे उठेदेखि दशैँको अर्डरका लागि आएको सामग्री बनाउने कार्यमा उहाँ व्यस्त हुनुहुन्छ । दशैँ र तिहारको समयमा अर्डर आएका पर्व सामग्र्री मागअनुसार समयमा पु¥याउन सके वर्षदिनका लागि खान अरू बेला खासै जोहो गर्न नपर्ने उनी बताउँछन् ।

उनले भने, ‘यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाबाट अर्डर आएका पर्व सामग्री समय पु¥याउन सके खासै अरू बेला व्यस्त हुन पर्दैन । यसैले वर्षदिनमा खान पुग्छ । हामीले बढी दुःख गर्ने भनेको दसैँ र तिहारका लागि तीन महिना जति हो । अरू बेला खेली खेली काम गरे पनि खासै फरक पर्दैन । यतिले नै वर्षदिनमा गुजारा गर्न सहज हुन्छ ।’

पछिल्लो समय बजारमा विभिन्न आधुनिक सामान भए पनि पर्वको समयमा माटोका सामग्री बढी प्रयोग हुने भएकाले पनि यस्को व्यापार निकै फस्टाउँदै गएको व्यापारी बताउँछन् । यस व्यवसायमा लागत र परिश्रमअनुसार आम्दानी हुने भएकाले पनि यस पेसाप्रति नयाँ पुस्तासमेत आकर्षित भएको देखिन्छ ।

भक्तपुरमा रु सात सयसम्मका पर्व सामग्र्री उत्पादन हुन्छन् । चाडपर्वको समय भक्तपुर तालक्वका कुम्हाले मात्र होइन सुजमारी, लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं र सूर्यविनायकका कुम्हालेको परिवारसमेत पर्व सामग्र्री बनाउने कार्यमा व्यस्त देखिन्छ ।

यो समय अधिकांश कुम्हाले परिवारका सदस्य भाँडा मिलाउने, सुकाउने, रङ्ग लगाउने, बुट्टा राख्ने, बजार पठाउने कार्यमा व्यस्त छन् । यहाँ उत्पादन गर्ने पर्व सामग्र्री काठमाडौँ, ललितपुर, पनौती, त्रिशूली, पोखरा, कीर्तिपुर, थेचो, बनेपा, धुलिखेलसम्म पुग्ने व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × five =