फ्लोरिडामा समुद्री आँधीको सङ्कटबीच ‘लुटपाट’ रोक्न कर्फ्यु

काठमाडाैँ । शक्तिशाली तुफानसहितको समुद्री इयान आँधी अमेरिकाको फ्लोरिडा राज्यमा बज्रिएपछि उक्त दक्षिणपश्चिमी तटीय क्षेत्रमा बाढी आएको छ ।

त्यहाँ तीव्र वेगले हावा चलिरहेको छ भने उच्च वर्षाका कारण कैयौँ घरहरू डुबेका छन् । उक्त राज्यका गभर्नरले यो आँधी फ्लोरिडामा बज्रिएका हालसम्मकै शक्तिशाली पाँच आँधीमध्येमा एक भएको बताएका छन् । उनका अनुसार आँधीले पूरै राज्यभरि क्षति पुर्‍याएको छ ।

अमेरिकी सीमामा गस्ती गर्ने सुरक्षाकर्मीले क्युबाबाट फ्लोरिडा कीज्‌तर्फ आप्रवासीलाई बोकेर आउँदै गरेको एउटा डुङ्गा डुब्दा २३ जना मानिसहरू हराइरहेको बताएका छन् । उक्त राज्यभरि १८ लाखभन्दा बढी मानिस विद्युत आपूर्ति बन्द हुँदा अन्धकारमा बस्न बाध्य भएका छन् । इयान आँधी बुधवार फोर्ट मायर्स सहर नजिकै २४१ किलोमिटर प्रतिघण्टाको गतिमा बज्रिएको थियो ।

फ्लोरिडाका गभर्नर रोन डिसान्टिसले उक्त आँधीको चपेटामा पर्नसक्ने स्थानका मानिसलाई केही दिन नराम्रो अवस्थाका लागि तयार रहन चेतावनी दिएका छन् । उक्त आँधीकै कारण क्युबामा मङ्गलवार आएको तुफानले दुईजनाको ज्यान लिएको थियो भने त्यहाँ पनि विद्युत् आपूर्ति अवरुद्ध भएको छ ।

कर्फ्यु घोषणा
आँधीका कारण फोर्ट मायर्स सहरसहित ली काउन्टीमा कर्फ्यू घोषणा गरिएको छ । बुधवार बेलुका ६ बजेबाट सुरु भएको कर्फ्यु अर्को सूचना नभएसम्म कायम रहने काउन्टीले जनाएको छ ।

आँधीका कारण पेट्रोल स्टेसनहरूमा लुटपाट भएका भनी आएका विवरणमा फोर्ट मायर्स प्रहरीले कारबाही गर्न असमर्थ भएपछि कफ्यु लगाइएको हो । काउन्टीका प्रबन्धक रोजर डेजार्ली उक्त आदेश कानुन कार्यान्वयन गर्ने निकायद्वारा लागु गरिने बुधवार साँझ एक पत्रकार सम्मेलनमा बताए । उनले आफ्नो सहरमा लुटपाट र हिंसाका लागि शून्य सहनशीलताको नीति अपनाइने बताएका छन् ।

उनले फोर्ट मायर्स समुदाय केही हदसम्म ध्वस्त भएको बताएका थिए । तर त्यस क्षेत्रमा भएको चरम क्षतिको आकलन गर्न केही समय लाग्ने बताइएको छ । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *