लियोनल मेसीको १००औँ अन्तर्राष्ट्रिय जित

काठमाडाैँ । अर्जेन्टिनी कप्तान लियोनल मेसीले एक सय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगितामा जित हात पारेका छन् । अर्जेन्टिनाले मंगलबार राति जमैकासँग मैत्रीपूर्ण प्रतिस्पर्धा गरेको थियो । मेसीले आफ्नो सय अन्तर्राष्ट्रिय जितमा दुई गोल गरेका थिए ।

अर्जेन्टिनाका लागि अल्भरेजले एक गोल थप्दा जमैका ३-० ले पराजित भयो । खेलको १३औँ मिनेटमा अल्भेरेजले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । मेसीले तीन मिनेटको अन्तरमा दुई गोल ठोके ।

खेलको ८६औँ मिनेटमा मेसीले अर्जेन्टिनालाई २-० ले अगाडि राखे । खेलको ८९औँ मिनेटमा उनले व्यक्तिगत दोस्रो गोल गरेका थिए । जमैकामाथिको जितसँगै अर्जेन्टिना विश्व कीर्तिमाननजिक पुगेको छ । अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा आफ्नो अपराजित यात्रा ३५ पुर्‍याएको छ । फुटबल इतिहासमा इटालीले लगातार ३७ खेलसम्म अपराजित रहेको रेकर्ड छ ।

खेलको ५६औँ मिनेट मेसी मैदानभित्र प्रवेश गरेका थिए । उनले सुरुमै सानदार फ्रिकिक प्रहार गर्दै जमैकाका गोलरक्षकलाई सचेत गराएका थिए । मेसीले एक सय ६४ अन्तर्राष्ट्रिय खेलमा ९० गोल संख्या पुर्‍याएका छन् । मेसीले अर्जेन्टिनी टोलीबाट सन् २००६ को विश्वकप छनोटअन्तर्गत पेरुविरुद्ध डेब्यु गरेका थिए । आफ्नो डेब्यु खेलमै उनले जित हात पारे ।

विश्वकप तयारीअघि अर्जेन्टिनाले अन्तिम मैत्रीपूर्ण खेल न्यु जर्सीविरुद्ध खेल्नेछ । त्यसपछि दुईपटकको विश्व च्याम्पियन अर्जेन्टिना कतार विश्वकप खेल्न जानेछ । अर्जेन्टिनाले विश्वकपमा आफ्नो पहिलो खेल २२ नोभेम्बरमा साउदी अरेबियाविरुद्ध खेल्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *