इसेवाको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा प्रालिको प्रमुख कार्यकारी अधिकृतमा जगदिश खड्का नियुक्त भएका छन् । चार्टर्ड एकाउन्टेन्ट खड्कालाई इसेवाको सञ्चालक समितिले सीईओ नियुक्त गरेको हो । नवनियुक्त सिईओ खड्कालाई इसेवाका अध्यक्ष परशुराम कुवँर क्षेत्रीले पद तथा गोपनियतताको सपथ ग्रहण गराए । सिइओ खड्काले बुधबार नै आफ्नो जिम्मेवारी सम्हालेका छन् ।

बिजनेस अपरेशन म्यानेजमेन्ट, फाइनान्सियल प्लानिङ एण्ड म्यानेजमेन्ट, भेन्चर्स बिल्डिङ्गमा १२ वर्षभन्दा बढी समय काम गरेको अनुभव सीईओ खड्कासँग छ । यसअघि उनी एफवानसफ्ट गु्रप अन्तरगतको फोनपे पेमेन्ट सर्विसमा डाइरेक्टर थिए ।

इसेवामा प्रमुख कार्यकारी अधिकृतको रूपमा आफ्नो कार्यभार संहाल्दै नवनियुक्त सिइओ खड्काले भने, ‘डिजिटल भुक्तानीको क्षेत्रलाई अगाडी बढाउन इसेवाले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । डिजिटल भुक्तानीको क्षेत्रमा पायोनियर मानिएको इसेवामा आबद्ध हुन पाउँदा म निकै नै खुशी छ । मैले इसेवाका सेवालाई अझ विस्तार गरी आम मानिसको दैनिक जनजीवन सहज बनाउन भूमिका खेल्नेछु र कम्पनीलाई अझ सशक्त बनाउँदै अगाडि बढ्नेछु ।’

इसेवा सञ्चालक समितिले यसअघिका सिइओ सुभास सापकोटालाई धन्यवाद दिएको छ । उनी सीइओ नरहे पनि कम्पनीको बोर्ड सदस्यमा भने रहने भएाक छन् । सिइओबाट उनले दिएको राजीनामा कम्पनीको सञ्चालक समितिले स्वीकृत गरिसकेको छ ।

इसेवाबाट मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको शुल्क लगायतका सेवाको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५१ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा बैंक खातामा पठाउन सकिन्छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या ६५ लाख बढी रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब १ करोड ७० लाख जनसंख्याले इसेवा मार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ५० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *