टिप्पणी

सरकारकाे मुख ताक्नबाहेक अरु के आउँछ हामीलाई ?

काठमाडाैँ । आफ्नो घरअगाडिको बाटो र आफ्नो घर वरपरको सार्वजनिक स्थलहरू राज्यको मुख नताकी आफैँले सरसफाइ गर्ने हो भने वातावरण पनि स्वच्छ रहन्छ र विभिन्न महामारी पनि फैलिनबाट जोगिन्छ । तर हामी नेपालीहरू आफ्नो घर वरपरको फोहोर सरसफाइ गर्न पनि सरकारकै मुख ताक्छौँ र आफैँले गरेको फोहोर पनि सरकारले नै व्यवस्थापन गरिदियोस् भनेर भन्छौँ ।

पाँच दशकअगाडि वा केही वर्ष अघिका मानिसहरू दशैं आउनेबित्तिकै आफैँ बाटो सफा गर्ने, पुराना मठ-मन्दिरको सरसफाइ गर्ने, चौतरा बनाउने, पार्टीपौवा बनाउने र वरपिपलको रुखहरू रोप्ने गर्थे । साथै पानी खाने ढुंगे धारा, कुवा, ताल-पोखरी वा सार्वजनिक स्थलहरू मिलीजुली गरेर सरसफाइ गर्ने र आफ्नो घरहरूलाई पनि रातो माटो लगाएर पोत्ने, कमेरो लगाउने वा मर्मत गर्ने गर्थे ।

दशैंमा कसको घरमा ठूलाे खसी छ वा कसको घरमा दशैं मनाउने परिस्थिति वा अवस्था पनि छ कि छैन भनेर हेर्ने गर्थे । साथै कमजोर वा दशैं मनाउन नसक्ने परिवारलाई आफ्नो सहयोग गर्ने वा आफूले काटेको खसीको मासु पनि भाग लगाएर दिने गर्थे । चाडबाड भनेको हामी सबै नेपालीहरूले मनाउनुपर्छ र धनी-गरिबीबिचको भावना राख्नुहुँदैन भन्ने सोच्ने गर्थे ।

चाडबाडमा सबैजना मिलेर रमाइलो गर्नुपर्छ र एकअर्कोले मिलीजुली सार्वजनिक कामहरू गर्नुपर्छ भन्ने भावनाका थिए । दशैं आउनेबित्तिकै खोलाको पानी घट्ने र खोला तर्न तुइन हाल्ने गर्थे र दशैंमा रमाइलो गर्नका लागि सबैजना मिलेर पिङहाल्ने गर्थे । दशैं मनाउनका लागि एक मानिसले अर्को मानिसलाई घरमा बोलाउने वा घरमा आएको मानिसलाई नखाइ नपठाउने गर्थे । त्यससमय मानिसहरूले जुवातास , जाँडरक्सीहरूको प्रयोग पनि गर्दैनन् थिए र त्यससमय आधुनिक प्रविधि नआएका कारण मानिसहरू फेसबूक पनि चलाउँदैन थिए । आफूभन्दा सानोलाई माया र आफूभन्दा ठूलाेलाई सम्मान गर्ने भावना बोकेका मानिसहरू त्यसबेला हुन्थे ।

दशैंमा टीका लगाउँदा बढी पैसा वा दक्षिणाको आशा कसैले नगर्ने र जे छ त्यसैमा रमाउने गर्थे । त्यसबेला पैसाको अभाव भएपनि मानिसहरू खुसी थिए । उनीहरू पैसाभन्दा पनि आफन्तहरूसँग मिलेर रमाइलो गर्न नै बढी रमाउँन्थे । तर अहिले यी सबै उल्टो भएका छन् ।

अहिलेका मानिसहरू आफ्नै घर पनि सरसफाइ गर्दैनन् । साथै आफ्नै घर वरपरको बाटो र सार्वजनिक स्थलहरू पनि सरसफाइ गर्दैनन् । नयाँ  मठ-मन्दिर, पार्टीपौवा, तालपोखराहरू पनि बनाउँदैनन् र भएकालाई पनि संरक्षण गर्दैनन् । मानिसहरू अहिले सबै काम सरकारले नै गरिदियोस् भन्छन् र सरकारको नै मुख ताक्छन् । सार्वजनिक काम गर्न अहिलेका मानिसहरू हिच्किचाउँछन् ।

पहिलाका मानिसहरू आफूले नखाएर पनि अरुलाई खान दिने र राति आएको मानिसलाई बास दिने गर्थे । तर अहिलेका मानिसहरू कोही गरिब खान नपाएर माग्न आएमा खाना पनि दिदैँनन् र खान नसकेर बेचेको खानाहरू पनि फोहोरमा लगेर फल्ने गर्छन्, बासको त कुरै छोड्दिऊँ । हाम्रो नेपालमा ७७ ओटा जिल्ला छ र झन्डै ३ करोड जनसंख्या रहेको छ । तर, कति जिल्लाका जनताले अहिलेपनि जिउमा एकजोर नयाँ कपडा लगाउन र एकछाक पेटभरि खाना खान पाएका छैनन् । उनीहरूलाई त शिक्षा र स्वास्थ्य भनेको पनि थाहा छैन । हामी मानिसहरू जहिलेपनि सरकारले केही गरेन भनेर सरकारमाथि नै सबै दोष लगाउँछौँ, तर हामीले चाहिँ अरुको लागि के गर्‍याैँ भनेर हामी कहिल्यै सोच्दैनौँ । हामीले पेटभरी खाने ठाउँमा आधा पेट खाएर वा खाइनसकेको खानाहरू खान नपाएको मानिसहरूलाई दिने हो भने त्यो मानिसको भोको पेट त भरिन्छ । तर हामी यस्तो गर्दैनौँ ।

हामी मानिसहरू नयाँ कपडा किन्छौँ र एकदुई पटक लगाउनेबित्तिकै फाल्ने गर्छाैँ तर हामीले त्यही कपडा आर्थिक कमजोर भएका मानिसहरूलाई दिने हो भने उसले पनि त कपडा लगाउन पाउँछ । अहिले पनि कति मानिसहरूसँग चप्पल किन्ने पैसा नभएकाले खाली खुट्टा हिँडेको र लगाउने कपडा नभएर च्यातिएको कपडा लगाएर हिँडेको हामी देख्छौँ । तर, हामीले प्रयोग गर्ने यस्ता चिजहरू हामी उनीहरूलाई दिँदैनौँ । हामी मानिसमा आफ्नो खर्च कटौती गरेर अरुलाई पनि सहयोग गरौँ भन्ने भावना कहिल्यै आएन ।

पैसा हुनेलाई जहिलेपनि दशैं छ, तर पैसा नहुने वा आर्थिक कमजोर भएका मानिसलाई एकछाक राम्रो खान वा लगाउन पनि दशैं आउनुपर्छ । अनि यसमा राज्य नै कता छ । अहिलेका मानिसहरू आफू सुकिलामुकिला वा चिल्लो गाडी चढेर हिँड्छन् , हात र घाँटीभरी नै भरिपूर्ण गरगहना लगाउँछन् । तर, गरिब, दुखीलाई सहयोग गर्दैनन् । यी मानिसहरूलाई दुःख भनेको नै थाहा हुँदैन, किनभन्दा यिनीहरूले कि त भ्रष्टाचार गरेर सम्पत्ति कमाएका हुन्छन् त कि सय रुपैँयाको सामानलाई ५ सय रुपैँयामा बेचेर जनता ठगेर कमाएका हुन्छन् ।

गरिब मानिसहरूको पीडा वा भोकको अर्थ यिनीहरूलाई थाहा हुँदैन । जो मानिसले एक जोर कपडा वा एक छाक खाना खान पाएको हुँदैन उसलाई नै दुःखको अर्थ थाहा हुन्छ । देशमा राजनीतिक परिवर्तन त भयो, तर देशमा गरिब जनताहरूको जीवनस्तरमा कहिल्यै परिवर्तन आएन । गरिब झन्‌झन् गरिब र धनी झन्‌झन् धनी बन्दै गएका छन् । हामी मानिसहरू जन्मिएपछि ढिलोचाँडो एकदिन मर्ने गर्छाैँ । तर हामीले बाचुन्जेल आफ्नो लागिभन्दा अरुको लागि के गर्छाैँ, त्यो नै हाम्रो सबैभन्दा ठूलाे धन हुन्छ । धर्तीमा जन्मिन त धेरै मानिस जन्मिछन् तर राष्ट्र र जनताको हितमा वा आफ्नो चासो नगरी अरुको हितमा काम गर्ने मानिस नै महान् हुन्छ । हामीले आफ्नो चासो नगरेर गरिब, दुखी वा राष्ट्रको हितमा काम गर्ने हामीलाई मरेपछि पनि सबैले सम्झन्छन् । तर अहिलेका नेता, सरकारी कर्मचारी वा व्यापारीहरू खाली भ्रष्टाचार गर्ने र कालोबजारी मात्र गर्ने गर्छन् ।

यिनीहरूले राष्ट्र र जनताको हितमा हुने काम कहिल्यै गरेनन् । हामी देख्छौँ र सुन्छौँ । साथै हामी नाङ्गै धर्तीमा आउँछौँ र नाङ्गै धर्तीबाट बिदा हुन्छाैँ । हामीजस्तो धर्तीमा आएका थियौँ, त्यस्तै नै धर्तीबाट जान्छाैँ । तर, हामीले बाँचुन्जेल अरुको लागि वा आफ्नो छोराछोरीका लागि भ्रष्टाचार गर्छाैँ, कालोबजारी गर्छाैँ र पापको भारी बोक्छौँ । पछिल्लो समय मानिसमा आफूमात्र खाऊँ, आफूमात्र लगाँऊ र आफूमात्र सोखमा बसौँ भन्ने भावना बढी भयो र अरुलाई सहयोग गर्ने भावना कम हुँदै गयाे ।

जो, मानिसले छोराछोरी जन्माउँछौँ र राम्रो शिक्षादीक्षा दिएर सोखमा राख्छ । भोलि त्यही छोराछोरीले त्यो आमाबुबालाई आश्रममा लगेर राख्छ । अनि त्यस्ता मानिसहरूले पनि जनता र राष्ट्रको हितमा काम गर्छन् त ? आफ्नै आमाबुबालाई त नहेर्नेले अरुलाई के नै हेर्थ्याे र ? पछिल्लो समय मानिसले पढेर सर्टिफिकेट त लिए, तर उसमा सामाजिक वा व्यवहारिक ज्ञानहरूको अभाव रह्यो ।

अहिलेका मानिसहरू एकदेखि तीन आना जग्गामा ६/८ तल्ले घर बनाउँछन् र एक तल्लामा आफू बसेर अरु सबै भाडामा लगाउँछौँ । तर, आफ्नो घरको कुकुरलाई दिसापिसाब गराउन भने बाटोमा ल्याउने गर्छन् । साथै आफूले आफ्नो घरभित्र बनाएको फोहोर पनि बाटोमा नै फाल्छन् । आफू करोडको घरमा बस्ने र चिल्लो गाडी चढ्ने तर आफ्नै घरअगाडिको बती बिग्रिएमा नयाँ बती नहाल्ने । सरकारले पनि आफ्नो घरअगाडिको बाटो वा आफ्नो घर वरपर रहेको मठमन्दिर, पार्टीपौवा, चौतरा, धाराहरू सबै नागरिकले नै सरसफाइ गर्ने र सरंक्षण गर्ने भनेर निर्णय नगर्दा पनि यस्तो भएको हो । अब सरकारले नागरिकलाई नै जिम्मेवारी बनाउनुपर्छ । अनि मात्र देश विकास हुन्छ ।

सरकारले मात्र सबै काम गर्न सक्दैन । सरकारले त नीति-नियम बनाउने हो र त्यसलाई कार्यान्वयन गर्न लगाउने हो । तर आफ्नो घरवरपरको बाटो, मठमन्दिर, पार्टीपौवा, धाराहरू त हामी नागरिकले पनि मिलेर सरंक्षण वा सरसफाइ गर्न सक्छौँ नि त ! सरकारले आर्मी, प्रहरीहरूलाई जनताले तिरेको करबाट तलबभत्ता वा रासन खुवाउँछ । तर, यस्तो सार्वजनिक काम भने केही पनि लगाउँदैन । के जनताले तिरेको करबाट तलबभत्ता खुवाउन मात्र आर्मी प्रहरी राखेको हो ?

दिनभरी आर्मी ब्यारेकभित्रै खाली हात बस्नुभन्दा सार्वजनिक कामहरू गर्ने हो भने देश पनि त विकास हुन्छ । साथै शनिबार सरकारी कर्मचारीहरूले पनि अनिवार्यरूपमा सार्वजनिक कामहरू गर्नुपर्छ भनेर सरकारले नियम बनाउनुपर्छ । अहिलेका मानिसहरू सार्वजनिक काम भने नगर्ने, फुर्सद हुनेबित्तिकै फेसबूक र टिकटकमा बिजी हुने वा जुवातास खेलेर बस्ने ।

सरकारले पनि मानिसलाई जिम्मेवार नबनाउने र घरका अभिभावकहरूले पनि छोराछोरीहरूलाई सार्वजनिक काम गर्नुपर्छ भनेर नसिकाउने हो भने अब आउने पुस्ताको हालत कस्तो होला र देश कतातिर जाला । नाैरथा लागिसक्याे, मठमन्दिरमा पूजाआजा गर्न जानेको संख्या पनि बढ्छ । तर मठमन्दिरहरू न त सफा नै छ न त व्यवस्थित नै । मन्दिर हेर्‍याे भने मन्दिरको छाना भत्किन लागेर पानी चुहिरहेको पाइन्छ ।

साथै मन्दिरहरूमा न त पानीको नै व्यवस्था छ न त शैचालयको नै । तर यस्ता मन्दिरहरूको मर्मत वा सरसफाइ गर्न त्यहाँका बासिन्दाहरूले कुनै व्यवस्था वा पहल गर्दैनन् । हामी मानिसहरू थाली लिएर मन्दिरमा पूजा त गर्न जान्छौँ तर मन्दिर मर्मत गर्न वा व्यवस्थापन गर्न आवश्यक पर्ने रकमहरूको सहयोग गर्दैनौँ । हामी यहाँ पनि राज्यको नै मुख ताक्छौँ ।

हामी आफू बसेको घरमा घरजग्गा दुवै गरेर करोडदेखि अर्बसम्म लगानी गर्छाैँ, घरभाडामा लगाएर महिनाको ५० हजारदेखि करोडसम्म आम्दानी गर्ने गर्छाैँ र घरमै व्यवसाय वा व्यापार गर्ने गर्छाैँ । तर, राज्यलाई कर तिर्दैनौँ । तर हामीले नै गरेको फोहोर भने राज्यले नउठाएमा सरकारलाई गाली गर्ने गर्छाैँ ।

पहिला कर तिरे त राज्यले फोहोर उठाउँछ त । हामीहरू आफ्नो कर्तव्य तै पूरा गर्दैनौँ । तर, अधिकार भनेचाहिँ खोज्छौँ । सरकार भनेको हामी जनता नै हौँ र हामीले नै मत दिएर सरकार बनेको हो तै भएर अब हामीले हाम्रो घर वरपरको बाटो वा सार्वजनिक स्थलहरू आफैँले सरसफाइ गर्ने र दुखी गरिबलाई सहयोग गर्ने गर्नुपर्छ । हामीले यस्ता कामहरू गरौँ भने देश आफैँ पनि विकास भइहाल्छ नि त !

सरकारको मुख ताकेर बस्नुभन्दा आफैँ काम गरौँ र एकअर्कोलाई सहयोग गरौँ । हामी नेपालीहरू मिलेर नै बाचौँ र मिलेर नै नेपाल बनौँ । देश नेता र सरकारी कर्मचारीले होइन, जनताले नै बनाउने हो । सरकारी कर्मचारी र नेताले त जनताले तिरेको करबाट तलबभत्ता र सेवासुविधा लिने हो र जनताले तिरेको करमा मोजमस्ती गर्ने हो । यदि जनताले कर नतिरेमा यिनीहरूले तलबभत्ता पनि खान पाउँदैनन् र भ्रष्टाचार पनि गर्न पाउँदैनन् ।

अब हामी जनताले सरकारी कर्मचारी र नेताबाट देश विकास हुन्छ भनेर आशा नगरेपनि हुन्छ । यिनीहरू त विदेशी ऋण लिने र देश डुबाउने काममा मात्र आबद्ध रहेका छन् । नेपालीको टाउकोमा विदेशी ऋण ७१ हजार पुगिसकेको छ र भोलि यो ऋण तिर्न नसकेमा नेपाल नै विदेशीले खाइदिन्छ ।

हामी नागरिकहरू नेपाली नागरिकता खल्तीमा बोकर हिँड्दैँमा र नेपाली ढाका टोपी टाउकोमा लगाएर हिँड्दैमा देश बन्दैन । त्यसकारण अब हामीले आफ्नो देश बनाउन आफ्नै घरबाट काम शुरू गराैँ तर, जनतालाई झुठो कुरा बोलेर पदमा पुगेर भ्रष्टाचार गर्छु भन्ने भावना नराखौँ । पद र पैसाको लोभ नगरौँ अनि मात्र हाम्रो नेपाली नागरिकता र टोपी हामीसँग बस्न पाउँछ । त्यसकारण समयमै हामीहरू होसियार भएर काम गर्न सिकौँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *