फिफाले बार्सिलोनालाई किन तिर्दैछ क्षतिपूर्ति ?

काठमाडौँ । उरुग्वेका खेलाडी रोनाल्ड अराउजो घाइते भएपछि फिफाले बार्सिलोनालाई क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । कुनै पनि खेलाडी राष्ट्रिय टिमबाट खेल्दा घाइते भएर २८ दिन भन्दा बढी मैदान बाहिर हुने अवस्था आएमा फिफाले व्यावसायिक क्लबलाई क्षतिपूर्ति दिने व्यवस्था अनुसार फिफाले बार्सिलोनालाई क्षतिपूर्ति दिनुपर्ने भएको हो ।

फिफाले २०१८ मा खेलाडी संरक्षण कार्यक्रम अनुमोदन गरेको थियो, जुन यस वर्षको अन्त्यसम्म लागु हुने छ । यसले राष्ट्रिय टिमबाट खेल्दा घाइते भएर २८ दिन भन्दा बढी मैदान बाहिर हुने अवस्था आएमा फिफाले व्यावसायिक क्लबलाई क्षतिपूर्ति दिने व्यवस्था गरेको छ । फिफाले यस कार्यक्रमका लागि वार्षिक ८० मिलियन युरो छुट्टयाउने गरेको छ ।

उरुग्वेका २३ वर्षीय डिफेन्डर रोनाल्ड अराउजो शुक्रबार इरानविरुद्ध खेल्दा घाइते भएपछि अब २ देखि ३ महिना मैदान बाहिर हुने भएका छन् । उनको सर्जरी गर्नुपर्ने भएको बताइएको छ । विश्वकपलाई ध्यानमा राख्दै रोनाल्डले सर्जरी गर्न नचाहेपनि बार्सिलोनाले भने उनलाई सर्जरी गरेर पूर्णरुपमा ठिक हुन जोड दिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

अब रोनाल्ड २८ दिनभन्दा बढी मैदान बाहिर रहने भएपछि फिफाले बार्सिलोनालाई प्रति दिन २० हजार ४५८ युरो क्षतिपूर्ति तिर्नुपर्ने भएको बताइएको छ । उनी ठिक हुने बेलासम्म फिफाले कम्तीमा पनि साढे ७ मिलियन युरो बार्सिलोनालाई तिर्नुपर्ने हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *