सुर्खेतमा चाडपर्व लक्षित नागरिक सहायता कक्ष स्थापना

सुर्खेत । जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले दसैँ, तिहार र छठपर्व जस्ता चाडपर्वमा नागरिकहरूलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउने उद्देश्यले सुर्खेतका सिटी बसपार्कमा नागरिक सहायता कक्ष स्थापना गरेको छ । चाडपर्वका अवसरमा सवारी साधनमा यात्रा गर्दा नागरिकले भोग्नु पर्ने हैरानी तथा समस्यालाई फिल्डमै सम्बोधन गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक (एसपी) पदमबहादुर विष्टले बताए ।

विशेष गरी चाडपर्वका अवसरमा यात्रुले विभिन्न किसिमका समस्याहरू भोग्नु पर्ने स्थिति सिर्जना हुने भन्दै यात्राका क्रममा कोही कसैबाट त्यस्ता गुनासा आए नागरिक सहायता कक्षबाट सेवा लिन सकिने विष्टको भनाई छ । कर्णाली आउने र जाने नागरिकलाई सुरक्षित तवरले गन्तव्यसम्म पुर्‍याउन प्रहरी २४ घण्टा तयार रहेको विष्टको भनाई छ ।

यस्तै मातहतका कार्यालयहरूलाई निर्देशन दिँदै विष्टले भने ‘भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिकलाई प्रहरी कार्यालयका बारेमा थाहा नभएर समस्यामा परेका हुन सक्छन्, त्यस्ता नागरिकले सहजै प्रहरीको पहुँचमा पुग्न सहायता कक्ष स्थापना गरेका हौँ ।’ उनले भने, ‘सहायता कक्षमा सेवा लिन आउने सेवाग्राहीसँग नम्र भएर प्रस्तुत हुनुस्, उहाँहरूका समस्या बुझेर आफूले समाधान गर्न सक्ने भए फिल्डमै गर्नुस् नभए माथिल्ला निकायमा तत्काल जानकारी गराउनु होला ।’

यात्रा गर्दा अपरिचित व्यक्तिले दिएको खानेकुरा नखान, तोकिएको ठाउँबाट टिकट लिएर सुरक्षित यात्रा गर्न विष्टले अनुरोध गरे । यस्तै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन यातायात व्यवसायीलाई आग्रह गर्दै तोकिएको भन्दा बढी भाडा नलिन र क्षमताभन्दा बढी मान्छे नबोक्न आग्रह गरे ।

भाडा समायोजनका लागि संघीय कानुन भएपनि प्रदेश कानुन बन्न नसक्दा भाडा दर कति तोक्ने भन्ने विषयमा अन्यौलता रहेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय स्थानीय प्रशासन र यातायात व्यवसायीसँगको छलफलमा केही दिनमै भाडा विवाद टुङ्गिने विष्टको भनाई छ ।

यस्तै उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बस्यालले विगतमा जस्तै सहायता कक्षलाई कर्मकाण्डी भन्दापनि यात्रुको सुरक्षामा ध्यान दिन आग्रह गरे । यात्रुले बसपार्कमा हैरानी खेप्न र यातायात व्यवसायीलाई गाली खानु पर्ने स्थितिको सिर्जना नहोस् भन्दै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पुर्‍याउन हेल्पडेक्सले प्रभावकारी भूमिका खेल्नेमा विश्वस्त रहेको बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार कर्णाली भित्रने मुख्य नाका बबईमा र छिन्चुमा यसअघि नै सहायता कक्ष स्थापना भई सकेका छन् भने, अबको केही दिनमै सुब्बाकुनामा पनि सहायता कक्ष स्थापना हुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *