प्रधानमन्त्रीका ‘रहरे’ रामचन्द्र भन्छन्- देशकाे नेतृत्व गर्ने इच्छा छ

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले एकपटक देशको नेतृत्व गर्ने इच्छा रहेको बताएका छन् । गृहजिल्ला तनहुँको दमौलीमा आइतबार उद्योगी व्यवसायीसँग आयोजित अन्तरक्रियात्मक कार्यक्रमलाई सम्बाेधन गर्दै वरिष्ठ नेता पौडेल यस्ताे बताएका हुन् । “कार्यकारी पदमा रहेर काम गर्ने इच्छाशक्ति र साहस मसँग छ । मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँबाट उम्मेदवार बन्ने भएकाले मलाई यसपटक सहयोग गर्नुहोस्,” उनले भनेका छन् ।

वरिष्ठ नेता पौडेलले कांग्रेसको १४औँ महाधिवेशनमा प्रधानमन्त्री शेरबहादुर देउवाले भेटेर देशलाई तपाईंको आवश्यकता छ, स्वास्थ्य ठीक राख्नुस् भनेको स्मरणसमेत गरे । उनले भने, ‘सभापति शेरबहादुजीले मलाई स्वास्थ्य ठिक राख्नुस्, देशलाई तपाईंकाे आवश्यकता छ भनेर पनि भन्नूभयाे ।’

निर्वाचनको दिन नजिकिँदै गरेकाले कांग्रेसको नेतृत्वमा रहेको गठबन्धनका उम्मेदवारलाई विजयी गराउने हिसाबले तयारी गर्न पौडेलले आग्रह गरे । ‘गठबन्धन देशको आवश्यकता हो, संविधान र लोकतन्त्र बचाउनका लागि गठबन्धन गरेका हौँ, गठबन्धनलाई सफल बनाउनुपर्छ,’ उनले भनेका छन् ।

कांग्रेसभित्रका नेताहरूलाई पनि व्यवस्थापन गरेर निर्वाचनमा जाने पौडेलको भनाइ थियो ।

छलफलमा सहभागी व्यवसायीले जिल्लामा ठूलो उद्योग स्थापना गर्नेतर्फ ध्यान दिन पौडेलको ध्यानाकर्षण गराए । जनताका कुरा सुन्न सधैँ जनताका माझ जानुपर्ने बताउँदै व्यवसायीले तनहुँमा कांग्रेसका नेताबीच देखिएको बेमेलले कांग्रेस कमजोर रहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *