इसेवाकाे लखपति याेजनाअन्तगर्त अनुपम पोखरेलले जिते १ लाख

काठमाडौँ । भुक्तानी प्रणाली सेवा प्रदायक ‘इसेवा’ले सञ्चालन गरेको ‘बीमा शुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका छन् । उनले नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क इसेवा मार्फत भुक्तानी गरेका थिए । इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार रुपैयाँ नगद जित्न सफल भएका छन् । पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्सको इलाम शाखाले समेत नगद २० हजार रुपैयाँ प्राप्त गरेको छ । विजेताहरूलाई शुक्रबार एक कार्यक्रमका बीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले नगद प्रदान गरेका हुन् । लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले एक एक हजार रुपैयाँ जित्न सफल भएका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक विजेता चयन गरेको थियो ।

‘हामीले बीमितहरुले घरमै बसेर बसेर आफ्नो बीमा शुल्क भुक्तानी गर्नका लागि प्रोत्साहन मिलोस् भन्ने उदेश्यले यो योजना सञ्चालन गरेका थियौँ, यसमा आम बीमितको उत्साहजनक सहभागिता रह्यो, यसले हामीलाई थप हौसला प्रदान गरेको छ, आगामी दिनमा पनि हामीले बीमा क्षेत्रमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न थप योजनाहरु सार्बजनिक गर्नेछौँ,’ प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने ।

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका आइटी प्रमुख शरदचन्द्र प्याकुरेलले इसेवाले नेपालको डिजिटल भुक्तानीमा अग्रणी भुमिका खेल्दै आएको भन्दै पछिल्लो समय इसेवाले बीमा क्षेत्रको भुक्तानीलाई पनि अनलाइन मार्फत गर्नका लागि प्रोत्साहन गरिरहेको बताए । इसेवाको यस्तो प्रयासको कारण बीमा क्षेत्रमा थप सहजता ल्याइरहेको भन्दै उनले यसले बीमा गर्ने बीमित, बीमा एजेन्टदेखि कम्पनीहरुलाई पनि निकै सजिलो भइरहेको बताए ।

योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको कम्पनीले जानकारी दिएको छ । यस अवधिमा ६० वटाभन्दा धेरै बीमा शुल्क इसेवा मार्फत भुक्तानी भएका थिए । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५५ लाख र आइओस् मोबाईलमा करिब १० लाख गरि ६५ लाख बढि ग्राहकलाई एप्स् मार्फत सेवा प्रदान गरिरहेको छ । इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरुमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै किसिमका सहजता ल्याएको छ ।

इसेवाबाट इन्स्योरेन्सको प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकम जम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *