कर्णाली प्रदेशसभा बैठक : यी हुन् सबैभन्दा बढी हाजिर र गयल हुने सांसद

पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही सबैभन्दा धेरै अनुपस्थित

सुर्खेत । प्रदेश, प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यको प्रमुख जिम्मेवारी संसद्मा उपस्थित भएर ऐन निर्माण प्रक्रियामा सहभागी हुनु हो । तर सांसदहरू आफ्नो जिम्मेवारीबाट विचलित भएको देखिन्छ ।

कर्णाली प्रदेशसभाको पहिलो कार्यकाल हेर्दा सांसदहरूले बिचमै पद गुमाउनेदेखि संसद् बैठकमा अनुपस्थिति हुने प्रवृत्ति देखिएको छ । पाँच वर्षमा कर्णाली प्रदेशसभाको दुई सय १७ वटा बैठक बसेको छ । तर बैठकमा कुनै पनि प्रदेशसभा सदस्य शतप्रतिशत उपस्थित भएका छैनन् ।

प्रदेशसभा सचिवालयले दिएको तथ्याङ्कका अनुसार संसद्मा धेरै अनुपस्थित हुनेमा बहालवाला र पूर्व मन्त्रीहरू छन् । सचिवालयको रेकर्ड अनुसार सबै भन्दा बढी अनुपस्थित हुनेमा पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही भएका छन् । शाही २ सय १७ मध्य ८४ वटा संसद् बैठकमा मात्रै उपस्थित भएका हुन् । प्रदेशसभामा सबैभन्दा धेरै उपस्थित हुनेमा भने नेकपा एमालेकी सांसद राजु नेपाली छन् । उनी प्रदेशसभाका दुई सय १७ वटा बैठक बस्दा दुई सय १० दिन उपस्थित भएका हुन् । उनी ७ वटा बैठकमा मात्रै अनुपस्थित हुनु भएका छन् । यस्तै दोस्रोमा नेपाली कांग्रेसकी सांसद झोवा विक संसद्मा दुई सय ७ दिन उपस्थित भएकी छन् ।

त्यस्तै, मुख्यमन्त्री जीवनबहादुर शाही एक सय ६४ दिन संसद् बैठकमा हाजिर भएका छन् भने उनी ५३ बैठकमा गयल भएका छन् । शाही मुख्यमन्त्री बन्नु अघि प्रमुख प्रतिपक्ष दलको नेताको भूमिकामा रहेका थिए । उनी नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका छन् । कर्णाली प्रदेशसभामा सत्तापक्ष जस्तै प्रतिपक्ष दलका सांसदहरूको उपस्थिति कमजोर नै देखिएको छ । प्रमुख प्रतिपक्ष दल एमालेका संसदीय दलका नेता यामलाल कँडेल एक सय ७२ दिन संसद् बैठकमा उपस्थित भएका छन् । उहाँ संसद्मा ४३ वटा बैठकमा अनुपस्थित भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

एमालेका प्रमुख सचेतक गुलाबजंग शाह एक सय ९६ दिन बैठकमा उपस्थित भएका छन् । प्रदेशसभामा माओवादी केन्द्रका पूर्व आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्मा अहिलेसम्म प्रदेशसभाका बैठकमा एक सय ४९ दिन उपस्थित भएका छन् । शर्मा ६८ दिन संसद्को बैठक अनुपस्थित रहेका छन् । प्रदेशसभा सदस्य सोशीला शाही एक सय ८९ दिन उपस्थित रहेकी छन् । उनी कर्णाली प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टीको एक्ली सांसद समेत हुन् ।

यस्तै कांग्रेसकै प्रदेशसभा सदस्य अमृता शाही एक सय ८९ दिन उपस्थित छन् । शाही प्रदेशसभामा कांग्रेसकी सचेतक समेत हुन् । एमालेकी प्रदेशसभा सदस्य मिनासिंह रखाल पनि दुई सय चार दिन र पद्‍मा खड्का दुई सय ३ दिन उपस्थित भएको संसद् सचिवालयले जनाएको छ ।

प्रदेशसभाका सदस्यहरूले संसद् बैठक भन्दा पनि पार्टीका बैठक, भेला, प्रशिक्षणलगायतका कार्यक्रमलाई प्राथमिकता दिँदै आएका छन् । संसद् जनताको आवाज बोलेर सरकारलाई खबरदारी गर्दै कानुन निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने दायित्वबाट उनीहरू पछि हटेको देखिन्छ ।

कर्णालीका सांसदहरू जनताका सवालभन्दा सत्ता राजनीतिको खेलमा बढी रुमलिएको आलोचनासमेत हुँदै आएको छ । कर्णाली प्रदेशसभाका ४० मध्य ६ जना सांसदले बिचमै पद गुमाएका छन् । एमालेका निर्वाचित भएका सल्यानका प्रकाश ज्वाला, दैलेखका अमर बहादुर थापा, कालिकोटका कुर्मराज शाही र डोल्पाका नन्द सिंह बुढाले फ्लोर क्रस गरेर पद गुमाएका थिए भने नेकपा माओवादीबाट निर्वाचित भएका दैलेखका धर्मराज रेग्मी र सुर्खेतका ठम्मर विष्टले बिचमै सांसद पद त्यागेर एमालेमा प्रवेश गरेका थिए । जनताले आफ्नो प्रतिनिधिका रूपमा पठाएका सांसदहरूले सत्ता स्वार्थले बिचमै पद त्याग गरेर मतदातामाथि अन्याय गरेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *