गोठाटार गोली प्रकरण : प्रहरीको ‘लेन्स’मा भारतीय अभियुक्त ?

काठमाडाैँ । काठमाडाैँको गोठाटारमा भएको व्यापारी हत्याका मुख्य अभियुक्तको पहिचान भइसकेको प्रहरीले दाबी गरेको छ । प्रहरी उच्च स्रोतकाअनुसार सर्लाहीका व्यापारी लाल मोहम्मदको हत्यामा उनकै समूहका भारतीयको संलग्नता देखिएको जनाएको छ । हत्यामा संलग्नहरूको सीसीटीभी फुटेज पनि प्रहरीले फेला पारेको छ । फुटेजमा भारतीय अभियुक्त नितिन मदन भेटिएका छन् । हत्यामा प्रयोग भएका सुटरसँगै उनी गोठाटारको कोसीपारी गेष्टहाउसमा रहेको खुलेको हो । हत्यामा प्रयोग भएका सुटर भने अहिलेसम्म पत्ता लागेको छैन । तर उनीहरूले प्रयोग गरेको मोटरसाइकल र उनीहरूको फुटेज पनि प्रहरीले फेला पारेको छ ।

काठमाडाैँमा बस्दै आएका आपराधिक पृष्ठभूमिका नितिनकै योजनामा लाल माेहम्मदको हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ । प्रहरी विशेष ब्यूरो स्रोतकाअनुसार अहिलेसम्म नितिनकै मुख्य भूमिका रहेको देखिएको छ । तर प्रहरीले अन्य पनि संलग्न रहेको आशंकामा अनुसन्धान गरिरहेको छ । रसुवा कारागारमा रहेका भारतीय नागरिक उदय सेट्ठिको पनि संलग्नता हुन सक्ने आशंका प्रहरीको छ ।

नितिन र कारागारमा रहेका सेट्ठिबीच पटक पटक कुरा भएको र सेट्ठिलाई भेट्न नितिन रसुवा कारागार पुगेको समेत पत्ता लागेपछि प्रहरीले थप अनुसन्धान गर्ने भएको हो । गोली हानेर मारिएका लाल मोहम्मद र अभियुक्तहरू पहिले एउटै समूहमा रहेर आपराधिक गतिविधि गर्दै आएका थिए ।

हत्याको कारण : हुण्डिको रकम लुटपाट
मोहम्मदको हत्या हुनुको पछाडि हुण्डि कारोबार जोडिएको प्रहरीको आशंका छ । मोहम्मद र नितिनसँगै काठमाडाैँमा हुण्डिको कारोबार गर्थे । तर एक वर्ष पहिले हुण्डिको रकम लुटपाट भएको थियो ।

काठमाडाैँमा भएको लुटपाटमा नितिनले मोहम्मदलाई शंका गरेका थिए । यही कारण उनीहरूको मनमुटावसमेत भएको थियो । तर प्रहरीमा जाहेरी गरे आफैँ कारबाहीमा पर्ने भएपछि उनीहरूले यो घटना प्रहरीमा पुर्‍याएनन् । तर ठूलो रकम भएकाले आन्तरिम द्वन्द्व भने शुरू भएको थियो ।

७० लाख नेपाली रुपैयाँ र ३० लाख भारु लुटपाट भएको र यही कारण हत्यासम्म पुगेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

०००

मोहम्मदको हत्यामा अर्को कारण भनेको भारतीय जाली नोट हुनसक्ने प्रहरीको आशंका छ । हत्या गरिएका मोहम्मदको पाकिस्तानसम्म कनेक्सन देखिएको थियो । उनले भारतीय जाली नोटको कारोबार गर्ने गरेको खुलेकाले भारतीय खुफियाले नै उनको हत्या गर्न लगाएको हुन सक्ने आशंका गरिएको छ । यसरी भारतीय खुफियाले गुण्डामार्फत हत्या गर्न लगाएको हुनसक्ने पनि प्रहरी उच्च स्रोत बताउँछ  ।

हत्याका मुख्य अभियुक्त भनिएका नितिन दुई वर्ष पहिले काठमाडाैँको जुवाखालबाट पक्राउ परेका थिए । पछि उनी धरौटीमा छुटे पनि काठमाडाैँमै डेरा जमाए । उनका परिवार अहिले पनि काठमाडाैँमै छन् । उनीहरूसँग प्रहरीले सोधपुछ गरिरहेको छ । तर नितिन भने हाल फरार छन् ।

प्रहरीले अनुसन्धानका क्रममा १५ वर्ष पहिले मोहम्मद संलग्न घटनाको अनुसन्धान गरेको थियो । उक्त घटनाको फाइल पल्टाउँदा मोहम्मदको पाकिस्तानसम्म कनेक्सन पत्ता लागेको थियो । २०६४ सालमा महम्मदकै समूहका बलराम पटुवाको हत्या भएको थियो। महम्मदसहितका व्यक्तिले मिलेर पटुवाको हत्या गरेका थिए । हत्यालगत्तै महम्मदले पाकिस्तानमा टेलिफोन गरेर जानकारी गराएको खुलेको छ ।

लाल माेहम्मदले त्यतिबेला पाकिस्तानका एजेन्टलाई फोन गरेको खुलेको प्रहरी स्रोतको दाबी छ । यही घटनामा दोषी ठहर भइ कैद भुक्तान गरेर छुटेका मोहम्मदले आफ्नो पाकिस्तानसम्म कनेक्सन रहेको बयानका क्रममा पनि स्वीकार गरेका थिए ।

तर कारागारबाट बाहिर निस्किएसँगै उनको समूहसँग दुरी बढेको थियो । त्यही भएर आफ्नै समूहको टार्गेटमा उनी रहेको प्रहरीको अनुमान छ ।

एभेन्जर इन्टरप्राइजेज –गार्मेन्टका सञ्चालक समेत रहेका मोहम्मदको मोटरसाइकलमा आएका ३ जना अपरिचित व्यक्तिहरूले गोलि हानी हत्या गरेका थिए । बा ६ च ५१५२ नम्बरको कारमा साँझ पौने ७ बजेतिर पसलमा आइपुगेका महम्मदलाई कारबाट झर्नासाथ गोली प्रहार गरेका थिए  ।

उक्त घटनाको समेत सीसीटिभि फुटेज फेला परेको थियो । तर तीनदिनसम्म पनि उनीहरूलाई प्रहरीले पक्राउ गर्न सकेको छैन  । प्रहरीले यो घटना अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपीको कमाण्डमा समिति बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *