रुसद्वारा युद्धविरोधी सयौँ प्रदर्शनकारी गिरफ्तार

काठमाडाैँ । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको छ ।

रुसी मानवअधिकार समूह ओभीडी-इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ । सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन् । इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन् ।

राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ । पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन् । उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ ।

जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ । रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो । युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न सबै उपलब्ध साधनहरू आफूले प्रयोग गर्ने बताएका छन् । त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ ।

प्रदर्शनकारीलाई कडा चेतावनी
मस्को अभियोजनकर्ता कार्यालयले बुधवार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुनेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ ।

त्यस्ता व्यक्तिलाई सेनालाई बदनाम गरेको, युक्रेनमा रुसी सैन्य कारबाहीबारे झूटो समाचार फैलाएको वा नाबालिगलाई विरोध गर्न प्रोत्साहित गरेको आरोपमा कानुन अन्तर्गत मुद्दा चलाउन सकिने उसले जनाएको छ । युक्रेन युद्धबारे गलत सूचना फैलाउने विरुद्धको कडा रुसी दण्ड र पुटिन विरोधीमाथि भएका प्रहरी दमनका कारण रुसमा सार्वजनिक युद्धविरोधी प्रदर्शनहरू दुर्लभ भएका छन् ।

तर युद्ध विरोधी विपक्षी समूह भेस्नाले व्यापक विरोध प्रदर्शनका लागि आह्वान गरेको छ र उसले टेलिग्राममा रुसभरि भएका धेरै गिरफ्तारीहरूको जानकारी दिएको छ । येकातेरिनबर्गको एक भिडियोमा प्रहरीले हिंसात्मक रूपमा प्रदर्शनकारीलाई बसमा राखेको देखाइएको छ । भेस्नाले आफ्नो कार्यलाई नो टु मोगिलाइजेशन भनेको छ । त्यो भनेको उसले शब्दमा खेलेको हो किनकि रुसी भाषामा मोगिलाको अर्थ चिहान हुन्छ ।

रुसी मानव अधिकार समूह अगोराका वकिल पाभेल चिकोभले अगोराले मंगलवार बिहानदेखि आफ्नो हटलाइनमा सोधपुछका लागि ६ हजार कल प्राप्त गरेको बताए । उनका अनुसार रुसीहरूले सैनिकका अधिकार बारेमा जानकारी मागिरहेका थिए । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *