एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल

काठमाडाैँ । नेपाल प्रहरीका पूर्व आईजीपी सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् । आज एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उनलाई एमालेमा स्वागत गर्नेछन् ।
उनी अमृत साइन्स कलेज पढ्दादेखि नै नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघमा आवद्ध भए पनि अहिले भने एमाले प्रवेश गर्न लागेका हुन् । खनालले पाँच दलीय गठबन्धनको अतिसार देखेर आफूलाई राजनीतिमा सक्रिय राख्न मन लागेको बताए । ‘पाँच दलीय गठबन्धन दलको अतिसार देखेर राजनीतिमा सक्रिय राख्न मन लाग्यो,’ उनले भने, ‘यसका लागि उपयुक्त पार्टी एमाले नै लाग्यो र एमाले प्रवेश गर्न लागेको हुँ ।’
मंसिर ४ को निर्वाचनमा एमालेको लहर आउने उनको दाबी छ। एमालेको लहर ल्याउन आफूले पनि भूमिका खेल्ने उनको भनाइ छ । अन्य दलमा युवा आकर्षण गर्ने कुनै कार्यक्रम नभएको उनको आरोप छ ।








