राष्ट्रपतिलक्षित उपराष्ट्रपतिकाे वक्तव्य- ‘संविधानको दायराभन्दा बाहिर जाने छुट छैन’

काठमाडाैँ । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई बाहिर जाने छुट कसैला नभएकाे बताएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै उपराष्ट्रपति पुनले संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरूलाई संविधानको दायराभन्दा बाहिर जाने छुट नभएको बताएका छन् । ‘संविधानको पालन र संरक्षणको जिम्मेवारीमा रहेकाहरुलाई संविधानको दायरा भन्दा बाहिर जाने छुट छैन,’ उनले भनेका छन् ।

संविधानको पालना गर्नु प्रत्येक व्यक्तिको कर्तव्य भएकाे दृष्टान्त सुनाउँदै उनले थप भनेका छन्, ‘संविधानबमोजिम सबैबाट आ-आफ्नो कर्तव्य पालना गर्नुका साथै संविधानको पालन र संरक्षण हुनुपर्दछ । पछिल्ला दिनमा विकसित घटनाक्रमले संविधानको प्रमुख पालक र संरक्षकबाट नै सचेततापूर्वक संविधानको पालन र संरक्षण हुन नसकेको भनी बृहत् जनआवाज उठिरहेका छन् । यो आवाज उठ्ने परिस्थितिको सिर्जना हुनु ज्यादै दुःखद पक्ष हो ।’

भर्खदै संविधान दिवस बनाएकाे र उक्त अवसरमा संविधानका परि-पालनामा प्रतिबद्ध रहेकाे दाेहाेर्‍याएकाे स्मरण गर्दै उनले भनेका छन्, ‘संविधान दिवसमा गरेको प्रतिबद्धतालाई स्मरण गर्दै संविधानको पालन र संरक्षणका लागि म सबै पक्षमा आग्रह गर्दछु ।’

यसअघि दाेस्राेपटक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेका नागरिकता विधेयक प्रमाणीकरण भएकाे थिएन । संविधानत: हिजाेसम्म प्रमाणीकरण भइसक्नुपर्ने विधेयक राति १२ बजेसम्म प्रमाणीकरण नभइसकेपछि स्वत: निष्क्रिय भएकाे छ । प्रमाणीकरण नगर्ने राष्ट्रपतिकाे कदमबारे सत्तारुढ दलसँगै संविधानविद् एवम् कानूनवेत्ताहरूले पनि प्रश्न उठाइरहेका छन् । यसैबेला उपराष्ट्रपति पुनले यस्ताे वक्तव्य जारी गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *