धनकुटामा मेराे जित घामजस्तै छर्लङ्गै छ : राजेन्द्र राई (अन्तर्वार्ता)

काठमाडाैँ । कुनै बेला नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीकाे उक्ति हुन्थ्याे— ‘बढी चरक-मरक गर्‍याै भने धनकुटाबाट राजेन्द्र राई पठाइदिन्छु ।’ राजेन्द्रले याे छवि र विश्वास बनाएका थिए २०७४ सालकाे चुनावमा । हुन पनि त्यसबेला एमालेले उनै राजेन्द्रकाे नेतृत्वमा धनकुटामा ‘क्लीन स्वीप’ नै गरेकाे थियाे । यसपछि अध्यक्ष ओली आफैँ धनकुटा पुगेर राजेन्द्रलाई ‘म्यान अफ द इलेक्सन’ उपमा दिएका थिए ।

४ मंसिरमा हुने आसन्न प्रतिनिधि सभाकाे निर्वाचनमा पनि एमालेले त्यहाँबाट राजेन्द्रलाई नै सर्वसम्मतरूपमा सिफारिस गरेकाे छ । तर, अवस्था ०७४ काे भन्दा बिल्कुलै फरक छ । एमालेले ०७४ काे आफ्नाे विरासत जाेगाउन सकेकाे छैन, जुन गत ३० वैशाखकाे स्थानीय निर्वाचनमा देखिएकाे छ । ७ वटा स्थानीय तहमध्ये एमालेले त्यहाँ  ३ वटामात्रै जितेकाे छ । बाँकी गठबन्धनकाे नेतृत्व गरिरहेकाे दल नेपाली कांग्रेसले जितेकाे छ ।

उसाे त के राजेन्द्रले फेरि पनि धनकुटेली जनताकाे प्रतिनिधित्व गर्न पाउँछन् प्रतिनिधि सभामा ? याे प्रश्न त उठ्ने नै भयाे । जसै— त्यहाँ गठबन्धन छँदैछ । गठबन्धनकाे नेतृत्वकर्ता दल कांग्रेसबाट सुनीलबहादुर थापा सर्वसम्मतरूपमा हुँदा नेकपा (माओवादी केन्द्र) बाट नेता हेमराज भण्डारी सिफारिस भएका छन् । हुन त गठन्धनभित्र पनि ‘तैँ छाेड् र मै छाेड्’काे अवस्था छ । जे हाेस् त्यसलाई केन्द्रीय ‘लबिङ्ग’मै भएपनि मिलाउने नेताहरूले बताएका छन् ।

यसबीचमा धनकुटाकाे सन्दर्भमा गठबन्धनमा नाटकीय परिवर्तन नभए गठबन्धन भर्सेस एमलाे हुने पक्कापक्की नै हाे । यस्ताेमा के राजेन्द्र आफूले भनेजस्तै सजिलाेगरी जित चुम्न सक्छन् ? उनले त भन्ने गरेका छन्— ‘धनकुटामा मेराे प्रतिस्पर्धी नै छैनन् ।’ तर, अवस्था ठ्याक्कै यस्तै पनि छैन । यसबारे उनै राजेन्द्रलाई मकालुखबरले अलिक विस्तृतरूपमा जिज्ञासा राखेकाे छ । त्यसका आधारमा याे सामाग्री तयार पारिएकाे हाे ।

‘मैले जित्ने आधार बनाएकाे छु’

राजेन्द्र याे ५ वर्षकाे बीचमा आफूले पुन: जित्ने आधार बनाएकाे दाबी गर्छन्, भन्छन्— ‘मैले ५ वर्ष यहाँका जनताकाे सेवा गरेँ । यसबीचमा मैले जित्ने आधार बनाएकाे छु ।’ शासक नभइ सेवक भएर काम गरेकाे जिकिर गर्दै उनी भन्छन्, ‘यहाँ हामीले गरिबी घटायाैँ, प्रतिव्यक्ति आए बढायाैँ, सबै पालिकामा सडक विस्ता गर्‍याैँ । धेरै काम गरेँ । त्यसकै आधारमा म जित्छु ।’

२०७४ सालमा अरु पार्टीले जितेकाे भए त्यत्ति काम नहुने ठाेकुवा गर्दै उनले भनेका छन्, ‘एमाले जितेपछि जनताकाे पक्षमा काम भयाे । यदि अरु पार्टीले जितेकाे हुन्थ्याे भने यदि विकास हुँदैनथ्याे । अब फेरि जितेर यसैलाई निरन्तरता दिनेछु ।’

उनले भाेटकाे ‘प्याटर्न’ नबिग्रिएकाे जिकिर गर्दै आफ्नाे जित पक्का भएकाे दाेहाेर्‍याए । ‘तपाईंले भाेटकाे प्याटर्न हेर्नुभयाे भने उस्तै छ । तलमाथि भएकाे छैन २०७४ साल र अहिले । हामीले जनतालाई भगवान् मान्छाैँ । एमालेसँग गठबन्धनकाे प्रतिरक्षा गर्ने क्षमता छ । हामीले जित्ने आधार बनाएका छाैँ,’ उनले भनेका छन् ।

‘मेराे जित घामजस्तै छर्लङ्गै छ’

उनले धनकुटामा आफ्नाे प्रतिस्पर्धी नै नरहेकाे दाेहाेर्‍याए । ‘धनकुटामा मेराे प्रतिस्पर्धी नै काेही छैनन्,’ उनले दाबी गरे, ‘मेराे जित घामजस्तै छर्लङ्गै छ ।’ आफूले कतै-कहीँ बेइमान नगरेकाे र त्याे जनताले थाहा पाएकाे भन्दै उनले भनेका छन्, ‘मलाई कसैले राेक्नै सक्दैन, मलाई राेक्ने आधार नै छैन । हिजाे लाेकतन्त्रकाे पक्षमा उभिने मान्छेहरू साइडमा लागिसके । अब जनताले जेलमा हाल्ने, जनतालाई दु:ख दिनेलाई भाेट दिँदैनन् । यसाे हुँदा त्यहाँबाट मैले नै प्रतिनिधित्व गर्छु । त्याे भएर म जित्छु । मेराे जित घामझैँ छर्लङ्गै छ ।’

गठबन्धनकाे उम्मेदवार जित्छ भन्नू सपनामा लड्डु खानुजस्तै रहेकाे राजेन्द्रकाे टिप्पणी छ, भन्छन्— ‘चाहे त्याे कुनै पार्टी हाेस् वा गठबन्धन नै पनि किन नहाेस्; जित्छु भन्नू सपनामा लड्डु खानुजस्तै हाे ।’ गठबन्धन चुनावसम्म फुट्नसक्ने उनले बताए । ‘एउटा तमाेरकाे किनारमा छ, एउटा अरुणकाे किनारमा छ । भेट हुन गाह्राे छ । कांग्रेसले भन्ने गरेकाे पूँजीवाद र कम्युनिष्टले भन्ने गरेकाे समाजवादबीच तात्त्विक फरक छ । एमाले हराउने मात्रै उद्देश्य भएर हुँदैन । यसमा प्रष्ट हुँदा हुन्छ,’ उनले भनेका छन्, ‘यहाँ मलाई मात्रै जनताकाे सेवकका रूपमा चितिन्छु । त्यसाे हुँदा म जित्छु ।’

‘०७४ काे एमालेकाे विरासत यथावत् छ’

राजेन्द्र ०७४ सालकाे एमालेकाे धनकुटेली विरासत यथावत् रहेकाे दाबी गर्छन् । ‘त्याे विरासत त यथावतै छ त । त्यहाँ काेही आओस् न त म जित्छु भनेर,’ उनले भनेका छन्, ‘हामीले आउँदाे चुनावमा देखाउँछाैँ ।’

३० वैशाखमा त त्याे देखिएन भन्ने प्रश्नमा उनले भनेका छन्, ‘हामी बढी ढुक्कै, आत्मकेन्द्रित भयाैँ, जनता बिग्रिएका छैनन् भन्याैँ र अलिक बिग्रियाैँ । तर, याे आउँदाे निर्वाचन सच्याउँछाैँ । त्याे विरासत बर्कारार छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *