सन्दर्भ : संविधान दिवस

‘संविधान जत्तिसुकै राम्राे भएपनि त्यसले बुद्धि बाँड्दैन’

काठमाडाैँ । आज साताैं संविधान दिवस । २०७२ साल असाेज ३ गते नेपालकाे संविधान जारी भएकाे थियाे । उसाे त संविधान जारी भइसकेपछि त्यसकाे कार्यान्वयनकाे पाटाेका सन्दर्भमा विभिन्न समयमा फरक-फरक प्रश्नहरू उठ्ने गरेका छन् । नयाँ संविधानलाई ‘समझदारीकाे एक दस्तावेज’ भनिए पनि खासगरी मधेशकेन्द्रित दलहरू अझै असाेज ३ लाई कालाे दिनका रूपमा मनाउँछन् ।

हुन त सरकारका जिम्मेवार नेतादेखि संविधान सभा अध्यक्ष तथा सदस्यहरूकाे एउटै बाेली हुने गरेकाे छ—  संविधान एक गतिशील दस्तावेज । तर विभिन्न दल, समुदाय तथा विशेष वर्गहरूले गरेकाे संविधान संशाेधनकाे मागले भने खासरूपमा स्थान पाउँदैन । किन यस्ताे हुन्छ ? स्वाभाविक प्रश्नहरू उठ्छन् । के यसले संविधान कार्यान्वयनमा सकारात्मक प्रभाव पारिरहेकाे छ ? वा यसले फरकखाले भूमिका राख्छ ? के संविधान सबैकाे सर्वस्वीकार्यताकाे विषय बन्न सक्दैन ? यी नै प्रश्न हामीले संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई साेधेका छाैँ ।

‘संविधान बनाउनेहरू नै संविधानकाे परि-पालनामा कटिबद्ध देखिँदैनन्’

अध्यक्ष नेम्वाङ पछिल्ला दिनहरूमा संविधानमाथि विभिन्नखाले प्रश्नहरू उठ्ने गरेकाे बताउँछन् । ‘त्यसमा नेकपा (एमाले) ले नै पनि कतिपय ठाउँहरूमा प्रश्न उठाइरहेकाे छ । समग्रमा यसकाे कारण संविधान बनाउनेहरू; त्यसमा पनि संविधान कार्यान्वयन गराउने ठाउँ सरकारमा रहनेहरू इमान्दार नदेखिनू हाे,’ उनले भनेका छन् ।

यसका कारण जनता निराशा देखिँदै गएकाे भनाइ अध्यक्ष नेम्वाङकाे छ, भन्छन्— ‘अहिलेकाे चर्चायाेग्य कुराचाहिँ हिजाेमात्रै तपाईंले देख्नुभयाे कि सिटिङ्ग प्रधानन्यायाधीशलाई आफ्नै निवासमा कैदीजस्ताे व्यवहार गरियाे । याे पनि एकखाले काम हाे जसले संविधानलाई चुनाैती दिन खाेज्छ । यी र यस्तै कदमहरूले हाे संविधानप्रति जनताकाे विश्वास घट्ने ।’

संविधान बनाउनू आफैँमा एउटा महत्त्वपूर्ण उपलब्धि भएकाे बताएका नेम्वाङले अब राजनीतिक लडाइँका लागि लड्न नपर्ने बताए । संविधान जारी भएसँगै राजनीतिक लडाइँ सकिएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘कानूनी व्यवस्थाहरूकाे सन्दर्भमा याे संविधानले राम्रै उपलब्धि हालिस गरेकाे छ । मैले भन्ने गरेकाे छु, अब हामीले यही संविधानमार्फत आर्थिक, सामाजिक र विभिन्नखाले संघर्ष गर्ने हाे । अब राजनीतिक लडाइँ सकियाे ।’

‘जत्ति राम्राे भएपनि संविधानले बुद्धि बाँड्दैन, कार्यान्वयन राम्राे हुनुपर्छ’

नेम्वाङ नेपालकाे संविधान साह्रै राम्राे बनेकाे बताउँछन् । सँगै उनी थप्छन्— ‘तर संविधान मात्रै राम्राे भएर हुँदैन, कार्यान्वयन गराउने र गर्ने कुरा ठूलाे हाे । जत्तिसुकै राम्राे भएपनि यसले बुद्धि, विवेक र ज्ञान बाँड्दैन ।’

संविधान निर्माणपछि जनतामा जानु, आशीर्वाद लिनु र चाहेकाे कुरा संसद्‌मा पुगेर कार्यान्वयन गर्नुपर्ने भएपनि त्याे अवस्था अहिले नदेखिएकाे भन्दै उनले चिन्तासमेत व्यक्त गरेका छन् । ‘विभिन्न प्रसङ्गहरूमा राम्राे सन्देश नजानेखाले कामहरू भएका छन् । आजभाेलिका प्रसङ्गहरू छन् चर्चायाेग्य । यसलाई संविधान निर्माणमा भूमिका खेलेका दलहरू कमसेकम सचेत रहनुपर्छ,’ उनले भनेका छन् ।

‘संविधान धेरैका लागि सर्वस्वीकार्यता छ’

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जारी भएकाे चुच्चे नक्साकाे सन्दर्भ जाेड्दै अध्यक्ष नेम्वाङले संविधानका विषयमा सर्वस्वीकार्यताकाे समेत रहेकाे जिकिर गर्छन् । ‘त्यसबेला ल्याइएकाे संविधान संशाेधनकाे विषयले पनि त्यसकाे स्वीकार्यताकाे पुष्ट्याइँ गर्छ,’ उनले भनेका छन्, ‘त्यसबेला कुनै पनि दलले असहमति जनाएनन्, सबैले सहमति जनाएका थिए । यसरी हेर्दा यसकाे स्वीकार्यता पनि छ ।’

भारतकाे संविधान खासगरी दक्षित भारतले १० वर्षसम्म नस्वीकारेकाे यथार्थ प्रस्तुत गर्दै उनले थपेका छन्, ‘त्यसकाे ठाउँमा हाम्राे त निकै लागू भइसकेकाे अवस्था छ । जे हाेस् हाम्राे संविधान सर्वस्वीकार्यतामै छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *