सरकारले राम्रा उपलब्धि हासिल गरेको छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले राम्रा उपलब्धि हासिल गरेको बताएका छन् । उनले आफ्नो नेतृत्वको सरकारले राम्रा उपलब्धिहरु हासिल गरेको बताएका हुन् ।
प्रतिनिधिसभाको अन्तिम बैठकमा सम्बोधन गर्दै उनले आफ्नो नेतृत्वको सरकारले राम्रा उपलब्धिहरु हासिल गरेको बताएका हुन्।
‘मेरो नेतृत्वको सरकारले राम्रो उपलब्धि हासिल गरेको महसुसस गरेको छु,’ प्रधानमन्त्री देउवाले भने।
उनले प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीले वर्तमान सरकारलाई भन्दै आएको ‘परमादेशी सरकार’ को संज्ञातर्फ टिप्पणी गर्दै परमादेशकै कारण आफूहरुको संसदमा भेट भएको टिप्पणी गरे।
‘हुन त हाम्रो प्रतिपक्षी दलको नेताले परमादेशको सरकार भन्नुहुनेछ। भन्ने मलाई थाहा छ। यो संसद नै परमादेशबाट आएको हो,’ देउवाले भने, ‘त्यही भएरै हामी सबै सँगै काम गर्न पाइरहेका छौं। परमादेश नभएको भए उहाँ र हामी सँगसँगै बसेर काम गर्नै पाउने थिएनौं।’
उनले नेकपा एमाले अध्यक्ष ओलीका कारण निर्वाचित संसदले विघटनको समस्या व्यहोर्नु परेको पनि बताए।
‘गणतन्त्र आएपश्चात निर्वाचित संसदले विघटनको पहिलो पटक समस्या ब्यहोर्नु पर्यो,’ प्रधानमन्त्री देउवाले भने, ‘जनताका अधिकार सुरक्षित गर्न जनताले संघर्ष गरी ल्याएको संविधानलाई बचाउन राजनीतिक दलकाबीच सहकार्य गरेर मुलुकलाई पुनः संविधान बमोजिम अघि बढायौं।’








