७५ विधेयक पारित हुँदा ४९ अध्यादेश, २७ विधेयक निष्क्रिय

काठमाडौँ । प्रतिनिधि सभाको कार्यकाल आज राति १२ बजे सकिँदै छ । २०७४ मा निर्वाचित सांसद्हरुको अन्तिम संसद् बैठक आज बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकको यो समाचार तयार पार्दासम्म कुनै कार्यसूची तोकिएको छैन ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभाको कार्यकालको जारी अधिवेशन अन्त्य गर्न शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरिसकेको छ ।
मङ्सिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनको बन्दसूची पेस गर्ने कार्यतालिका असोज २ र ३ मा रहेकाले असोज १ सम्म कार्यकाल मानेर सदनका पछिल्लो बैठकमा बोल्ने सांसद्हरुले बिदाइ सम्बोधन गर्ने गरेका थिए ।
७५ विधेयक पारित हुँदा ४९ अध्यादेश, २७ विधेयक निष्क्रिय हुँदै
प्रतिनिधिसभाको उतारचढावपूर्ण पाँच वर्षे कार्यकाल पूरा भएको छ । कानुन बनाउन जनताबाट निर्वाचित सभाले ७५ विधेयक पारित गर्दा यो बिचमा सरकारले तजबिज चलाउन ४९ अध्यादेश ल्याएको छ । दुई पटक विघटन र नौ महिना अवरोध झेलेको प्रतिनिधिसभाको कार्यकाल सकिँदा २७ विधेयक निष्क्रिय हुने भएका छन् । यही अवधिमा सांसदहरूको सेवा सुविधाका लागि ढुकुटीबाट तीन अर्ब ८० करोड खर्च भएको छ ।
सरकारले संसद्को ११ औँ अधिवेशन शनिबार मध्यरातदेखि अन्त्य गर्न सिफारिस गरिसकेको छ । आउँदो मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आइतबार र सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउने निर्वाचन आयोगको कार्यतालिका छ । सरकारमा शेरबहादुर देउवाको नेतृत्वबाट शुरु भएको प्रतिनिधिसभाको कार्यकाल उनकै नेतृत्वमा टुङ्गिएको छ ।








