डीनद्वारा पीडित विद्यार्थीको माग सम्बोधन : अनेरास्ववियू काठमाडौँले लगाएको ताला खोल्यो

काठमाडाैँ । नेपाली विद्यार्थीहरूको मूल प्रवाह अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीले त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान डीनको कार्यालय महाराजगन्जमा लगाएको तालाबन्दी खोलेको छ । चिकित्सा शास्त्र अध्ययनरत अवरोध प्रणालीमा परेका पीडित विद्यार्थीहरूको माग सम्बोधन गराउन दबाब स्वरूप बुधबार तालाबन्दी गरेको थियो ।

अनेरास्ववियू काठमाडौँ जिल्ला अध्यक्ष एटम विद्रोहीको नेतृत्वमा डीन कार्यालय पुगेर तालाबन्दी लगाए लगत्तै डीन कार्यालयले वार्ताको लागि बोलाएको थियो । शुक्रबार  हान ११ बजेदेखि झन्डै ४ घण्टा बसेको वार्ताले पीडित विद्यार्थीहरूको समस्या सम्बोधन गर्ने गरी सहमति भएसँगै जिल्ला अध्यक्ष एटम र सहायक डीन प्रेमराज ज्ञवालीको हस्ताक्षर सहितको सहमति पत्र सहित तालाबन्दी खोलिएको छ ।

सहमति पत्र अनुसार पीडित विद्यार्थीहरुसग सम्बन्धन प्राप्त क्याम्पसहरूले भर्ना हुँदा विभिन्न दरमा लिएको एकमुष्ट रकम प्रमाणको आधारमा डीनको कार्यालयले फिर्ता गर्न पहल गर्ने साथै अवरोध प्रणालीमा पहिलो वर्ष ६ पटक र दोस्रो वर्ष ४ पटक मात्र परीक्षामा सामेल हुन पाउने व्यवस्थालाई पुनरावलोकन गरी पहिलो वर्ष ८ पटक र दोस्रो वर्ष ६ पटकसम्म परीक्षा दिन पाउने व्यवस्थाको निम्ति सरोकारवालाहरुसँग छलफल गरी पहल गर्ने सहमति भएको वार्तामा सामेल अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहालले बताए ।

अनेरास्ववियू काठमाडौँ जिल्ला कमिटीको दबाबमा भएको वार्तामा त्रि.वि. चि. अ. स. बाट डीन प्रा. डा. दिव्यासिंह शाह, सहायक डीन प्रा. डा. प्रेमराज ज्ञवाली, प्रशासन प्रमुख बिर्खबहादुर तामाङ साथै विद्यार्थीहरूबाट अनेरास्ववियू काठमाडौँ जिल्ला अध्यक्ष एटम विद्रोही, अनेरास्ववियू केन्द्रीय उपमहासचिव कल्याण दाहाल, अनेरास्ववियू क्रान्तिकारी, नेविसंघको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *