प्रचण्डको निर्वाचन क्षेत्रमा चन्द्रविलास अधिकारीको स्वतन्त्र उम्मेदवारी

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्र चितवन ३ मा चन्द्रविलास अधिकारीले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् ।
आज भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनले चितवन ३ बाट प्रतिनिधिसभा सदस्यमा स्वतन्त्रबाट उम्मेदवार लड्ने बताए । उनले चितवनमा ‘म पनि आउँदै छु’ अभियान सञ्चालन गरेका छन् ।
लमजुङ दोर्दी गाउँपालिका वडा नम्बर १ सिरुवारिमा जन्मिएका अधिकारी विगत १० वर्षदेखि रेस्टुरेन्ट तथा शैक्षिक परामर्शको क्षेत्रमा काम गर्दै आएका छन् । बालकुमारी कलेजबाट स्नातक अध्ययन गरेका अधिकारीले पार्टीहरूको सिन्डिकेट हटाउन आफ्नो स्वतन्त्र उम्मेदवारी रहेको बताए ।
पत्रकार सम्मेलनमा उनले भने, ‘यस क्षेत्रबाट पहिला निर्वाचित भएका प्रचण्डले चितवनलाई सही बाटोमा हिँडाउन सक्नुभएको छैन, भरतपुर महानगरमा छोरी, (रेनु दाहाल), केन्द्रमा बाबु (प्रचण्ड) हुनुभयो, चितवनको विकास खै के भयो ?’
उनले ११ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै चितवन क्षेत्र नं ३ को विकासको लागि आफ्नो उम्मेदवारी रहेको बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘कुनै चर्चा कमाउन प्रचण्डसँग भिड्न आएको होइन, यस क्षेत्रको विकासको लागि हो ।’
चितवनले राष्ट्रिय स्तरको नेता पाए पनि चितवनको मुद्दालाई कसैले उठाउन नसकेको बताउँदै उनले भने, ‘चितवन ३ मा सडक कालोपत्रे बाहेक अरू केही काम भएको छैन, कालोपत्रे गरेर मात्र विकास हुन्छ, त्यहाँको गरिबी निवारण खै हटेको ? बेरोजगार समस्या खै हल भएको ? शिक्षा र स्वास्थ्य क्षेत्रमा खै विकास भएको ?’
उनले दक्ष जनशक्ति उत्पादन गर्न, देशमा व्यापक रूपमा नीति नियममा सुधार गर्न, गुणस्तरीय र दिगो विकास निर्माण गर्न, एक जिल्ला एक मेघा कृषि फार्म, कृषिमा आधुनिकीकरण गरी कृषि उत्पादन वृद्धि गर्न र हरेक सरकारी कार्यालयमा आर्थिक कारोबारको डिजिटलाइजेसन गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
चितवन ३ मा सत्तारुढ गठबन्धनबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उम्मेदवारी पनि रहने भएको छ । सो क्षेत्रमा नेकपा एमालेले चितवनका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई एकल रूपमा उम्मेदवार सिफारिस गरेको छ ।
राप्रपाको उपाध्यक्ष विक्रम पाण्डे पनि चितवन ३ बाट उम्मेदवार बन्ने लगभग पक्काजस्तै भएको छ । एमाले र राप्रपाबिच चुनावी तालमेल भए यस क्षेत्रमा विक्रम पाण्डेलाई एमालेले सघाउने अवस्था देखिएको छ ।
२०७४ मा कांग्रेसको सहयोगमा चुनाव लडेका पाण्डेलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पराजित गरेका थिए । तत्कालीन नेकपाबाट उम्मेदवार बनेका प्रचण्डले ४८ हजार २७६ र पाण्डेले ३८ हजार ९३५ मत ल्याएका थिए ।








