अब राजनीतिमार्फत जनसेवा गर्न चाहन्छु, मर्नेबेला दुई थाेपा आँसु भए पुग्छ : राजनकुमार श्रेष्ठ (अन्तर्वार्ता)

काठमाडाैँ । ‘मर्ने बेलामा दुई थाेपा आँसु खाेजिरहेछु,’ राजनकुमार श्रेष्ठ भन्छन् । उनी एक सफल व्यवसायी हुन् । तर, अब उनी जनतासँग जाेडिन चाहन्छन्, राजनीतिकरूपमा अगाडि बढ्न चाहन्छन् । उनी भन्छन्, ‘व्यवसाय राम्रै भयाे । यसबाट एकखाले सन्तुष्टि पाएँ । अबचाहिँ जनतासँग जाेडिन चाहन्छु, जनताका सुख, दु:खमा साथ दिन चाहन्छु ।’

उनी आसन्न प्रदेश सभाकाे निर्वाचनमा भाेजपुर प्रदेश सभा ‘ख’बाट सिफारिस भएका छन् । त्यहाँका जनताकाे प्रतिनिधित्व गरेर भाेजपुरलाई आत्मनिर्भर बनाउने सपना छ उनकाे । ‘मैले त्यहाँका जनतालाई आर्थिकरूपमा केही सहयाेग गरेपनि भाैतिक सहयाेज गरेकाे छैन । अबचाहिँ उहाँहरूसँगै जाेडिएर सँगै हिँड्न चाहन्छु । जाेडिन चाहन्छु । त्यसका लागि मंसिर ४ गते हुने प्रदेश सभाकाे निर्वाचनउता भाेजपुर प्रदेश सभा ‘ख’का जनताकाे प्रदेश सभामा प्रतिनिधित्व गर्न चाहन्छु ।

जीवन उत्तरार्द्धतिर गएकाे र अबकाे रहर जनताकाे सेवा भएकाे उनी सुनाउँछन् । ‘अब मेराे व्यवसाय पनि छाेराले सम्हाल्छ । अबचाहिँ तपाईंले आफ्नाे इच्छा पूरा गर्नुस् भनेर छाेराले भनेकाे छ । त्यसैले अब म सामाजिक कार्यमा जाेडिन चाहन्छु । अबचाहिँ कसैकाे घाउमा थाेरै मात्रै मल्हम-पट्टी गर्न पाए पनि सन्तुष्ट मिल्छ भन्ने लागेकाे छ,’ श्रेष्ठ भन्छन् । उनी थप्छन्, ‘कसैलाई भजन-किर्तन गाएर/सुनेर सन्तुष्ट मिल्छ भने मलाईचाहिँ जनताकाे सेवा गरेर सन्तुष्ट मिल्छ । अब म यही गर्न चाहन्छु ।’

‘आफ्नाे गाउँ आफैँ बनाउन चाहन्छु’

श्रेष्ठले सानै उमेरमा गाउँ छाडे । पढाइकाे सिलसिलामा उनी घुम्दै-घुम्दै काठमाडाैँ आए । व्यवसायमा जाेडिए, प्रकारान्तरले व्यवसाय सफल भयाे । तर, अब उनी गाउँ फर्किने चाहन्छन्, गाउँलेहरूसँग सँगै रहन चाहन्छन् । ‘त्यसै जननी जन्मभूमिस्च, स्वर्गदपी गरियसी भनिएकाे हाेइन रहेछ । गाउँ भनेकाे गाउँ रहेछ, आफ्नाेपन भनेकाे आफ्नाेपन हुँदाेरहेछ,’ श्रेष्ठलाई बाेध छ, ‘अब उतै रहेर जनताकाे सेवामा समर्पित हुने मन छ ।’

उनलाई आफ्नाे गाउँ आफैँ बनाउन मन छ । आफू सम्बद्ध पार्टी नेकपा एमालेकाे अभियान ‘आफ्नाे गाउँ आफैँ बनाउँ’ काे अभियन्ता भएर आफ्नाे गाउँ निर्माण गर्ने उनी बताउँछन्, भन्छन्— ‘आफ्नाे गाउँ आफैँ बनाउँ भन्ने अभियानमा म पनि छु, हिजैदेखि थिएँ तर सक्रिय थिइनँ । अबचाहिँ म सक्रियपूर्वक लाग्न चाहन्छु । भाेजपुरलाई साँच्चै एउटा आत्मनिर्भर बनाउन चाहन्छु । अहिलेसम्म निकै ठक्कर-हण्डर खाएँ । अब यसबाट गरेकाे अनुभव र सीपलाई गाउँकाे विकासमा लगाउन चाहन्छु ।

आफूले लगाउने वस्त्र आफ्नै देशमा उत्पादित हाेस्, आफ्नाे पेट भर्ने खानेकुरा आफ्नै माटाेमा फलाेस् भन्ने कुराकाे हिमायती हुन् श्रेष्ठ । त्यसैले त उनकाे याेजना छ— आफ्नाे क्षेत्रमा कम्तीमा पनि एउटा पालिकामा एउटा घरेलु उद्याेग खाेल्ने, जहाँबाट जनता प्रत्यक्षरूपमा लाभान्वित हाेऊन् । उनी भन्छन्, ‘भाेजपुर हरेक हिसाबले अब्बल छ । त्यसमा सिर्फ एउटा नेतृत्व चाहिएकाे हाे । त्यसका लागि म सधैँ तयार छु ।’

‘जनताकाे शुभेच्छाले गाउँ फर्काैँ-फर्काैँ लाग्छ’

तपाईंलाई तपाईंका क्षेत्रका जनताले के भनेका छन्, कस्ताे प्रतिक्रिया दिएका छन् ? भन्ने मकालुखबरकाे सवालमा उनले भनेका छन्, ‘त्यहीँ उहाँहरूकै शुभेच्छाका कारण, उहाँहरूले नै देखाउने मायाका कारण त मलाई त्यहाँ जान मन लागछ । उहाँहरूकाे सेवा गर्न मन लाग्छ ।’

आफूलाई आफ्ना जनताले सधैँ बाेलाइरहेकाे उनी बताउँछन् । ‘अकेजनल्ली कहिलेकाहीँ त्यहाँ पुग्दा तपाईंहरूजस्ताे बुझे/पढेकाहरू आउनुपर्छ भन्नुहुन्छ । टूरिस्ट नेता नहुनु भनेर सुझाव दिनुहुन्छ । त्यसैले मलाई त्यहाँ जानका लागि उक्साइरहन्छ,’ उनले भनेका छन् ।

उनकाे आह्वान छ, भन्छन्— अब सक्षम युवाहरू गाउँ फर्किनुपर्छ र आफ्नाे गाउँ विकासमा लाग्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *