हेमराज भण्डारीले देखेका ‘माओवादी क्षयीकरण’का ३ कारण !

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेला-बखत भन्ने गरेका छन्— ‘माओवादी माओवादीजस्ताे रहेन, हामी बिग्रियाैँ ।’ हुन पनि पछिल्लाे माओवादीसँग सम्बन्धित राजनीतिक ‘सिनारियाे’ उस्तै देखिन्छ । २०६४ सालमा मुलुककाे पहिलाे शक्ति बनेकाे माओवादी अहिले तेस्राे शक्तिमा सीमित छ । यसरी सरासररूपमा हेर्दा पनि हिजाेकाे भन्दा माओवादीप्रतिकाे जनताकाे भराेसा टुटेकै हाे । यसमा दुईमत छैन ।

त्यसाे त यसकाे पछाडिकाे कारण के हुनसक्छ ? याे सिर्फ एक प्रश्न मात्रै नरहेकाे र कटु-गम्भीर समीक्षा गर्नुपर्ने विषय बनिरहेकाे माओवादी नेताहरू नै बताउँछन् । अत: साेही विषयमा हामीले माओवादीभित्र प्राय: विषयमा नेतृत्वसँग फरक मत राख्ने र वैचारिक नेताकाे छवि बनाएका हेमराज भण्डारीसँग साेधेका थियाैँ । उनले यसरी कारण देखाए ।

१, माओवादीले आफ्नाे वर्ग-धरातल छाड्याे

नेता भण्डारी माओवादीले आफ्नाे वर्ग-धरातल छाडेपछि बिग्रिएकाे बताउँछन् । ‘माओवादीले पहिलाे कुरा आफ्नाे वर्ग-धरातल छाड्याे । माओवादी कसले बनाएकाे ? माओवादी बनेकाे याे देशका उत्पीडित जनता, श्रमजीवी जनता, मेहनत गरेर-पसिना बगाएर खाने जनताहरूका कारण हाे । जसले पसिना बगाएर पनि वर्षभरी खान पाउँदैनथ्याे, जाे याे देशमा जन्मिएर औषधि उपचार पाउँदैनथ्याे, जसले गरिबीकै कारणले राम्राे शिक्षा-दीक्षा दिन पाउँदैनथ्याे, गरिबीकै कारण ऊ जिन्दगी बेच्न, विदेश जान विवश थियाे, एउटा जातिविशेषमा जन्मिएकै कारणले अपहेलित हुनुपर्थ्याे । उनीहरूले बनाएका हुन् माओवादी । दलित, जनजाति, मधेशी भनाैँ कुनै जाति-समुदायमै जन्मिएकै कारणले उसले जन्मेदेखि नै अपमानित महसुस गर्नुपर्थ्याे । ती उत्पीडित जाति, लिङ्ग, समुदायकाे सांकेतिक एकताकाे प्रतीक थियाे माओवादी । जब माओवादी सरकारमा आयाे, ती सबै वर्गलाई उसले प्राथमिकता दिन सकेन । यसपछि माओवादी बिग्रियाे,’ नेता भण्डारी भन्छन् ।

उनीहरूलाई प्राथमिकतामा राख्न नसकेपछि माओवादीमाथिकाे जनताकाे विश्वास टुट्दै गएकाे विश्लेषण नेता भण्डारीकाे छ, भन्छन्— ‘जसलाई उसले पहिलाे प्राथमिकता दिनुपर्थ्याे, त्यसलाई प्राथमिकता दिन सकेन । प्राथमिकता दिन नसकेपछि के भयाे त भन्दा माओवादीमाथि भराेसा गर्ने जनता निराश हुन थाल्याे । माओवादीकाे क्षयीकरण त्यहीँबाट शुरू भयाे ।’

२, युवाहरूकाे व्यवस्थापन गर्न सकेन

पार्टी निर्माणमा खटिएका युवाहरूकाे व्यवस्थापन नहुँदा पनि माओवादी पार्टी क्षयीकरण भएकाे बताउँछन् नेता भण्डारी, भन्छन्— ‘माओवादी पार्टी बनाउनका लागि बलिदान दिएका, याेगदान दिए युवाहरू; खास गरेर जनमुक्ति सेनामा सहभागी भएका, भूमिगत भएका, त्याे युवा पुस्ताकाे ठिक व्यवस्थापन गर्न सकेन । यसकारण पनि माओवादीले अहिलेकाे अवस्था बेहाेर्नुपर्‍याे ।’

माओवादीसँग ठूलाे युवा लहर रहेकाे र त्यसलाई बर्कारार राख्न नसक्दा माओवादीले आफ्नाे राजनीतिक शक्ति गुमाउँदै गएकाे विश्लेषण गरेका नेता भण्डारी थप्छन्, ‘यदि त्यसकाे मात्रै ठिक व्यवस्थापन गर्न सकेकाे थियाे भने पनि अहिलेकाे निराशा, अहिलेकाे अवस्था आउने थिएन ।’ त्याे सेना समायाेजनकाे प्रश्न मात्रै नभए आम युवाहरूकाे प्रश्न रहेकाे सम्झाउँदै उनी थप्छन्, ‘माओवादी क्षयीकरणकाे एउटा प्रमुख कारण याे पनि हाे ।’

३, वैचारिक स्खलन

नेता भण्डारीले देखाएका तेस्राे कारण हाे वैचारिक स्खलन । उनी भन्छन्, ‘एकपछि अर्काे कारण खाेज्दै जाँदाचाहिँ वैचारिक स्खलन नै प्रमुख कारणका रूपमा देखिन्छ ।’ पछिल्लाे समय माओवादीभित्र वैचारिक/सैद्धान्तिक बहसहरू हराएकाे ठहर नेता भण्डारीकाे छ । उनी थप्छन्, ‘पार्टी भनेकाे विचारकाे एक संगठन हाे । तर त्यहाँ विचार हरायाे । यहीँबाट वैचारिक स्खलन शुरू भयाे ।’

त्यसअघि उनले भनेका छन्, ‘माओवादीलाई आभारभूत वर्गले पनि भराेसा गरेन । उच्च वर्ग थियाे, जाे माओवादीप्रति कहिल्यै भर परेकै थिएन । जाे मध्यम वर्ग थियाे, उसले पर्ख र हेरकाे स्थितिमा २०६४ सालमा हेरेकाे थियाे । त्याे वर्गकाे आशा र अपेक्षाअनुरूप काम हुन सकेन । उसले पनि भराेसायाेग्य शक्तिकाे रूपमा मानेन । आभारभूत वर्गले पनि यिनीहरूले गर्छाैँ मात्रै भने तर गर्नचाहिँ सकेन भन्छ । उच्च वर्ग छँदै थिएन भनेपछि अहिले त पुन:संगठित भएर माओवादी आएकै मान्नुपर्छ ।’

अब पुन: वैचारिक बहसका साथ माओवादी उठाउने बेला भएकाे बताउँछन् नेता भण्डारी । ‘समीक्षा राम्राेसँग गर्ने हाे भने माओवादी पछिल्लाे समय उदीयमान शक्ति नै हाे । तर, जब माओवादी कमजाेर हुँदै जान्छ, अहिलेकाे व्यवस्था कमजाेर हुन्छ । अहिलेकाे पार्टीभित्रकाे अवस्थाबारे गम्भीररूपमा छलफल गर्नुपर्छ,’ उनले भनेका छन् ।

  • सम्बन्धित सामाग्री

२०७४ सालमा पार्टीबाटै अपहेलित हुनुपर्‍याे, यसपटक धनकुटा छाड्दैनाैँ : हेमराज भण्डारी (अन्तर्वार्ता)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *