शम्भु थापा भन्छन्- ‘भ्रष्ट प्रधानन्यायाधीशले कति भ्रष्ट बीउ रोपे, त्यसको हिसाब छैन’

काठमाडौँ । वरिष्ठ अधिवक्ता शम्भु थापा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि कडा रूपमा प्रस्तुत भएका छन् । बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले जबराले कति भ्रष्ट बीउ रोपे, त्यसको हिसाब भएको तर्क गरे ।
उनले जबराका स्वार्थको मुद्दाको छिटो छिटो सुनुवाइ हुने गरेको पनि दाबी गरे । ‘ललिता निवासको मुद्दा राणाको परेको भनेर नहेर्ने अनि त्यहीसँग जोडिएको माधव नेपालको मुद्दा हेर्ने र फैसला गर्ने बेला महाभियोग आयो भन्ने, उहाँको नियत, कुत्सितता हो,’ वरिष्ठ अधिवक्ता थापाले भने, ‘ भ्रष्ट प्रधानन्यायाधीशले कति भ्रष्ट बीउ रोपे, त्यसको हिसाब छैन ।’
उनले अगाडि भने, ‘पैसा लिन यिनले को पठाएनन्, व्यक्तिगत त छोडिदिऊ । यी फेरि अदालत आउँदैनन् । संविधानअनुसार आए भने बहस गर्दिन । किनकि त्यहाँ न्याय हुँदैन । न्यायालय लङडो हुन्छ । प्रधानन्यायाधीशको यति चलखेल छ कि कुनै लेनदेन बिना पनि फैसला नै हुँदैन भन्ने थप स्थापित हुन्छ ।’
वरिष्ठ अधिवक्ता थापाले जबराले सशस्त्र प्रहरी बलका पूर्व डिआइजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप पनि लगाए । ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद घट्छ ?’ थापाले भने, ‘त्यहाँ पैसादेखि बाहेक अरू होला त ? अनि बयानमा भन्नुहुन्छ, त्यो त मेरो गल्ती भयो ।’








