जय नेपाल हलको कम्पाउन्डभित्रै टुकुचा खोला

काठमाडाैँ । राजधानीको मध्यभाग नारायणहिटी पुतलीसडक हुँदै भृकुटीमण्डप हुँदै बग्ने ऐतिहासिक टुकुचा खोला फेला परेको छ । बढ्दो सहरीकरणका कारण टुकुचा लापत्तै थियो । काठमाडौं महानगरपालिकाले अभियानै चलाएर बिहीबार जय नेपाल हल प्रांगणमा उत्खनन् क्रममा टुकुचा फेला पारेको हो ।

महानगरले गत १२ साउनमा ३५ दिने सूचना जारी गरेर ‘टुकुचा अतिक्रमण हटाउन’ निर्देशन दिएको थियो । सूचनाअनुसार ‘कसैले पनि संरचना नहटाएपछि महानगर आफैं टुकुचा खोजीका लागि डोजर’सहित फिल्डमा उत्रेको हो ।

एक महिनायता महानगरले ‘अनधिकृत संरचना’ हटाउने अभियान जारी राखेको छ । खोला अतिक्रमणमुक्त बनाउने र दायाँबायाँ सडक कोरिडोर बनाउनेगरी बिहीबारदेखि अभियान चुस्त बनाइएको छ ।

टुकुचा खोला पुरेर त्यसमाथि वर्षौंदेखि भवनलगायत संरचना बनाइएका छन् । महानगर टोली टुकुचा खोज्ने क्रममा डोजरसहित जय नेपाल हल प्रांगण पुगेको हो । टोलीले नक्साअनुसार गरेको ‘मार्किङ’ आधार बनाएर डोजर चलाउँदा हल परिसरमा १५ फिट खनेपछि टुकुचा खोला फेला परेको छ । नारायणहिटी दरबार क्षेत्रबाट निस्किएको टुकुचा सो क्षेत्रमा पुग्दा ‘गायब’ बनाइएको छ ।

स्थानीय तथा सम्पदा संरक्षक क्षेत्रका अभियन्ताले ‘टुकुचा खोला पुरेर घर भवन बनाएको’ भन्दै टुकुचा संरक्षण गर्नुपर्ने माग उठाउँदै आएका छन् । महानगर प्रमुख बालेन्द्र साहका स्वकीय सचिव भूपदेव साहले ‘टुकुचा खोला अतिक्रमणमुक्त गरेर त्यहाँ कोरिडोर बनाउने’ योजना रहेको बताए । उनका अनुसार टुकुचामा पानी बग्न चार मिटर छाडिने र बाँकी दायाँबायाँ चार÷चार मिटरको करिडोर बनाइनेछ ।

स्वकीय सचिव शाह ‘पाँच वर्षभित्र यो काम पूरा गरिने’ दाबी गर्छन् । यसका लागि ६ अर्ब बजेट रहेकोसमेत उनले जानकारी दिए । ‘अनधिकृत संरचना हटाउने अभियान’ जारी राखेको काठमाडौं महानगरले बुधबार मात्र १९ ठाउँका बेसमेन्ट तथा जमिन तलाको व्यावसायिक प्रयोजन हटाएर पार्किङका लागि खाली गराएको थियो ।

नक्सा स्वीकृत गर्दा पार्किङ र भण्डार कक्ष देखाएर सुविधा लिएका र निर्माणपछि व्यावसायिक लाभमा प्रयोग भएका संस्थागत तथा व्यक्तिगत भवनका भूमिगत तथा जमिन तला खाली गराएको महानगरले जनाएको छ ।

यसैगरी, २० ठाउँका मापदण्डविपरीत निर्माण गरिएका अनधिकृत संरचना, ओभरल्यापिङ र सेडब्याक हटाएको पनि महानगरले जनाएको छ । बेसमेन्ट तथा जमिन तला पार्किङ रूपमा खाली गराइएकामा नेपाल ट्रस्ट र दरबार मलको भूमिगत तलासमेत छन् । –राजधानी दैनिकबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *