सरकारलाई चुनौती दिँदै दुर्गा प्रसाईँको घोषणा- ‘दसैँपछि तुरुन्तै बिमा कार्यक्रम सञ्चालन गर्छु’

काठमाडौँ । मेडिकल व्यवसायी तथा नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईँले दसैँपछि तुरुन्तै बिमा कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका छन् । उनले बि. एण्ड सी. हस्पिटलको तर्फबाट बिमा सञ्चालन गर्ने घोषणा गरेका हुन् ।
बि. एण्ड सी. मेडिकल कलेजका कार्यकारी निर्देशकसमेत रहेका प्रसाईँले सरकारले बिमाको पैसा नदिएपछि जनताको सेवाको लागि आफैँले बिमा कार्यक्रम सञ्चालन गर्ने बताएका छन् । ‘गठबन्धन सरकारले स्वास्थ्य शिक्षा जस्तो कुरामा खेलबाड गरेको छ,’ उनले भने, ‘मङ्सिर १ गतेदेखि बि. एण्ड सी. हस्पिटलले बिमा लन्च गर्नेछ ।’
सरकारबाट ४० करोड मध्ये अझै ३० करोड रकम आउन बाँकी रहेको भन्दै उनले आफूहरूको पैसा दिन आनाकानी गरेको बताए । ‘टिचिङ हस्पिटल, वीर हस्पिटल, धरानको बिपी हस्पिटल भनेको जग्गा पनि सरकार, भवन पनि सरकारको, इक्युमेण्ट पनि सरकार र तलब पनि सरकारले दिन्छ । तर हाम्रो भनेको बैङ्कको पैसाले बनाएको हो । हामीले सरकारको भन्दा उच्च स्तरीय डाक्टरको टिम, उच्च स्तरको इक्युमेण्टहरु राखेर सरकारी रेटमा नै उपचार गर्दै आइरहेका छौँ,’ प्रसाईँले अगाडि भने, ‘सरकारी हस्पिटलले लिने रेटमा नै हामीले स्वास्थ्य बिमा सञ्चालन गर्दै आएका थियौँ । तर सरकारले झापा जिल्लामा पहिलोचोटि प्रोजेक्टको रूपमा लगेको थियो र नेपालमै पहिलोपल्ट बि. एण्ड सी. हस्पिटलसँग सम्झौता गरेको थियो ।’
‘बि एण्ड सी. जीवन बचाउने अभियान’ भनेर कार्ययोजना ल्याउने तयारीमा रहेको उनको भनाई छ । ‘अब मेची अञ्चलका जनताहरूको हामीले आफ्नै बिमा शुरु गर्छौँ । बि.एण्ड सी. हस्पिटलको तर्फबाट बिमा सञ्चालन गर्नेछौँ, यो हाम्रो दायित्व पनि हो । सरकारले गरेन, मैले भन्दै आएको छु, नेपालमा दुई वटा सरकार छ, एउटा सरकार शेरबहादुर देउवाको छ र एउटा सरकार मेची अञ्चलमा दुर्गा प्रसाईँको छ,’ उनले अगाडि भने ।








