गठबन्धन सरकारले देशलाई दुर्घटनाबाट जाेगाएकाे छ : नेता सिंह

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन सरकारले देशलाई ठूलो दुर्घटना हुनबाट जोगाएको बताएका छन् ।
वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका विषयमा बिहीबार काठमाडौँमा आयोजना गरिएको कार्यक्रममा उनले तत्कालीन नेकपाको सरकारले नेपालको संविधान, भावना र मर्म अनुसार काम नगरेको र संसद्लाई दुईपटक भंग गरेको कारणले संविधानलाई जोगाउनका लागि गठबन्धनको सरकार बनेको बताएका हुन् ।
आगामी निर्वाचनबाट देशलाई विकास र समृद्धिको दिशामा अघि बढाउन आम मतदाताहरूले विकास गर्ने पार्टी र नेताहरूलाई मतदान गरेर जिताउनुपर्ने उनले बताए । त्यस्तै उनले वाग्मती नदी किनारका अव्यवस्थित बस्तीहरूको दीर्घकालीन समस्या समाधानका गर्न आफू प्रतिबद्ध रहेको बताए ।
काठमाडौँ जिल्ला भूमि आयोगले थालनी गरेका कामलाई तदारुकताका साथ अघि बढाउन सहयोग गर्नुपर्ने उनको भनाई छ । नेता सिंहले वाग्मती नदीको किनारका बस्तीहरूको आक्रोश रहेको भन्दै त्यहाँका समस्याको समाधान गरेर नै अघि बढ्नु पर्ने आवश्यकता रहेको धारणा राखे ।
तत्कालीन नेकपाको सरकारले आवश्यक कानुन समयमा नै नबनाइदिएका कारण अहिले स्थानीय सरकारलाई दिनुपर्ने अधिकार केन्द्रबाट नै हुने गरेकाले समस्या सिर्जना भइरहेको उनले बताए ।








