यसअघि बन्द सूचीमा नाम भएकाको पद निर्वाचन प्रक्रिया सुरु हुनुअघि स्वतः रद्ध हुने

काठमाडौँ । निर्वाचन आयोगले आगामी निर्वाचनको नयाँ कार्यकालका लागि समानुपातिक सूची तयार गर्दा पुरानो सूची स्वतः निष्क्रिय हुनेगरि प्रक्रिया अघि बढाउने जनाएको छ ।

बुधवार विभिन्न दलका प्रतिनिधिहरूसँगको छलफलपछि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले समानुपातिकको नयाँ बन्द सूची आएपछि यसअघिको सूची स्वतः निष्क्रिय हुनेगरि कुनै न कुनै प्रक्रिया अपनाउनुपर्नेमा एकमत रहेको बताए । आयोगले निर्वाचन आयोग ऐन २०७३ को दर्ता ४९ प्रयोग गरेर यसलाई उपयुक्त निकास दिने उनले जानकारी दिए ।

समानुपातिकको नयाँ प्रक्रिया प्रारम्भ हुनुअघि नै पुराना उम्मेदवारीहरूलाई स्वतः रद्द हुने उनको भनाई छ । त्यस्तै थपलियाले स्थानीय तहमा नै जारी गरेको आचारसंहितालाई नै केही व्यवहारिक बनाउने गरी आयोग अघि बढेको बताए ।

छलफलका क्रममा अधिकांश राजनीतिक दलहरूबाट संसदीय व्यवस्थामा सरकारका प्रमुख आफ्ना एजेण्डालाई जनतामा लिएर जान पाउने अधिकारलाई कुण्ठित गर्न नहुने माग आएको उनले बताए ।

उनले पदमा रहेका राजनीतिक व्यक्ति उम्मेदवार भएका स्थानमा सार्वजनिक स्रोत साधनको प्रयोग नगरी प्रचारप्रसार गर्न पाउने तर अन्यत्र जाँदा आयोगको परामर्शमा मात्रै जान पाउने व्यवस्था हुँदै आएकोमा यसपटक निर्वाचनको क्रममा मन्त्रीहरूको धेरै आगमनले आचारसंहिता कार्यान्वयनमा कठिन भएका कारण त्यसलाई पनि निरुत्साहित गर्ने आयोगको सोचाई रहेको बताए ।

थपलियाले प्रतिनिधिसभाको कार्यकालका बारेमा कुनै संवैधानिक व्यवस्था नदेखिएकाले समानुपातीको बन्द सूची बुझाउने दिनलाई आयोगले कार्यकालको अन्तिम दिन मानेको जिकिर गरे ।

छलफलपछि कांग्रेस नेता जीवन परियारले यसअघिको निर्वाचनका लागि बन्द सूचीमा भएका नामहरूको बारेमा के गर्ने भन्ने छलफल भएको र नयाँ बन्द सूची बुझाउनुअघि नै पुरानो बन्द सुची निष्क्रिय भएको सूचना जारी गर्ने बताए ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले समानुपातिकको बन्द सूचीको प्रक्रिया सुरु हुने अघि नै यसअघिको बन्द सूची निष्क्रिय गर्ने विषयमा सहमति भएको बताए ।

आयोगले आगामी निर्वाचनका लागि आचारसंहितामा केही परिमार्जन गर्ने तयारी गरेको छ । आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा हुँदैछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *