टीआरसी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा राखौँ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई राजनीतिक पूर्वाग्रह भन्दा टाढा रहेर टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

बुधवार सिंहदरबारमा बसेको मानवअधिकार समितिको बैठकमा सत्यनिरुपण तथा मेलमिलाप सम्बन्धी विधेयकमाथिको छलफलका क्रममा प्रचण्डले विस्तृत शान्ति सम्झौता कानुनी भन्दा पनि राजनीतिक सम्झौता भएको भन्दै राजनीतिक सहमतिका आधारमा विना पूर्वाग्रह सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई टुङ्गो लगाउनुपर्ने बताएका छन् ।

सङ्क्रमणकालीन न्यायसम्बन्धी विषयमा सबैको चिन्ता र चासोको विषय भएको र यसमा कोही पक्ष र विपक्ष हुन जरुरी नभएको उनले बताए । प्रचण्डले समस्या बल्झाउनेका साथ विधेयकमा कुनै शब्द राख्न खोजे दुर्भाग्यपूर्ण हुने जिकिर गरे ।

उनले विधेयकमा शब्द जस्तोसुकै राखेपनि भोलिका शक्ति सन्तुलनले नै कार्यान्वयन गर्ने महत्त्वपूर्ण हुने बताए । प्रचण्डले मानवअधिकारको गम्भीर उल्लंघनका मुद्दामा अदालतले गर्ने फैसलाविरुद्ध अपिलमा जान सक्ने व्यवस्था राख्नुपर्ने समेत बताए ।

त्यस्तै एमाले सांसद सुवास नेम्वाङले सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुनलाई टुङ्गाउनुपर्ने सबैको साझा विषय भएकाले यसै पटक टुङ्गो लगाउनुपर्ने धारणा राखे ।

उनले पीडित र पीडकको बिचमा मेलमिलाप र गम्भीर उलङ्घनमा विषयमा प्रक्रियाबाटै सङ्क्रमणकालीन न्यायलाई टुङ्गो लगाउनुपर्ने विषय महत्त्वपूर्ण रहेको भन्दै विधेयकमा रहेका विषयवस्तुलाई निर्विवाद ढंगले अन्तिम रूप दिनुपर्ने बताए ।

समितिले संसद्को यही कार्यकालमा नै उक्त विधेयक पेस गर्ने गरी सहमतिको प्रयास गरिरहेको छ । विधेयकमा सहमति खोज्न समितिले कार्यदल गठन पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *