चोलेन्द्रको बयानको सार- ‘हरेक अभियोगमा म एक्लो छैन’

काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको एकसरो बयान सकिएको छ । १५ भदौ २०७९ बाट प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले जबरासँग बयान लिन सुरु गरेको थियो । मंगलबारसम्म पाँच दिन समितिको बैठकमा उपस्थित भएर जबराले बयान दिए ।

जेष्ठ सदस्यको हैसियतका महाअभियोग सिफारिस समितिको सभापतित्व गर्दै आएका राम बहादुर विष्टका अनुसार जबरासँगको एकसरो बयान सकेकाले अब  बयानका क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले नाम लिएका नाम लिएका व्यक्तिहरूसँग छलफल हुनेछ । तर, जबराले बयानका क्रममा नाम लिएका सबै पात्रहरूलाई भने महाअभियोग सिफारिस समितिले बोलाउने छैन । बहालवाला न्यायाधीश र पूर्व प्रधानमन्त्री र बहालवाला प्रधानमन्त्री बाहेकका जबराले नाम लिएका पात्रहरूसँग जबराले लगाएको आरोपबारे महाअभियोग सिफारिस समितिले छलफल गर्नेछ । जेष्ठ सदस्य बिस्ट भन्छन्, ‘बयानका क्रममा जसजसको नाम सम्माननीय प्रधानन्यायाधीश जबराले उल्लेख गर्नुभएको छ, समितिले आवश्यक ठहर्‍याएका, कानुनले दिएका र आवश्यक देखिएका व्यक्तिहरूलाई बोलाउँछौँ ।’ उनीहरूलाई बुधबार पत्राचार गर्ने र अनुकूलता हेरेर छिटो भन्दा छिटो बलाएर छलफल गर्ने समितिको तयारी छ । साथसाथै, जबरासँग प्रतिप्रश्न सोध्ने पनि महाअभियोग सिफारिस समितिको तयारी छ ।

जबराले बयानका क्रममा नाम लिएकाहरूसँग समितिले छलफलको आवश्यकता किन महसुस गर्‍याे ? यसबारे आम चासो छ । समिति सदस्यहरूका अनुसार जबराले आरोपको प्रत्यारोपमा जबराले अन्य पात्रको नाम मात्रै लिएका छन् । नाम सँगै ती व्यक्तिहरूमाथि सार्वजनिक रूपमा समेत प्रश्न उठाइदिएका छन् । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पाँच दिन लगाएर दिएको बयानमा पटक–पटक आफू नेपाली समाजकै उत्पादन भएको जिकिर गरे । आफूमाथि लागेका प्रत्येक अभियोगमा संलग्न अर्को पात्रको नाम लिए । उनको एउटै निचोड छ– म एक्लो दोषी कसरी हुन सक्छु ? तर। आफूलाई एक्लो बनाउने प्रयास भएको भन्दै उनले भावनात्मक अभिव्यक्ति पनि बयानमा दिएका छन् । मंगलबारको बयानका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम आफूमाथि लागेका विभिन्न अभियोगमा जोडेका थिए । मुलुकको नेतृत्वमा रहेका यी पात्रहरूको सहित अनेक व्यक्तिको नाम लिएर उनले एउटै निचोड पटक-पटक दिएका छन्- म एक्लो दोषी कसरी हुन सक्छु ? तथापि, आफूलाई एक्लै दोषी करार गर्न खोजिएको भन्दै उनले गत आइतबारको बयानमा भनेका छन्, ‘जहिले पनि बृहस्पति एक्लो हुन्छ ।’

जबरालाई मुख्यतः चार आरोप लागेका थियो । 
पहिलो– कार्यपालिकासँग साँठगाँठ गरेको । 
दोस्रो– गलत फैसला गरेर न्यायमा आँच पुर्‍यायाएको । 
तेस्रो– सेटिङमा मुद्दाको पेशी तोकेर आर्थिक लाभ लिएको । 
चौथो– भौतिक संरचना निर्माणमा अनियमितता गर्ने गरी निर्णय लिएको । 

यी चार मुख्य आरोपलाई नै समातेर १ फागुन २०७८ मा ९८ जना सांसदले पदीय मर्यादा विपरीतको आचरण देखाएको, न्यायपालिकाको गरिमा नबचाएको भनी महाअभियोग दर्ता गरेका थिए ।

मुख्य चार आरोपलाई प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले ४३ वटा प्रश्नमा ढालेर प्रश्नावली तयार पारेर जबराको बयान दियो । आफूमाथि जति धेरै प्रश्नहरू तयार पारेर बयान लिइयो उसै गरी जबराले पनि दर्जन बी प्रत्यारोप बयानकै क्रममा लगाएका छन् ।

जबरालाई लागेको गम्भीर आरोप हो – कार्यपालिकासँग साँठगाँठ गरेको । यो प्रश्न मंगलबार पनि जबराले सामना गरे । समितिका जेष्ठ सदस्य बिस्टले सोधे, ‘मन्त्री नियुक्तिमा सौदाबाजी गरेको आरोप छ । यसबारे आफ्नो जवाफ प्रस्तुत गर्नुहोस् ।’ जबराले जवाफ दिए, ‘यो प्रश्न नआएको भए हुन्थ्यो । धेरै कुरा खोल्दा राम्रो हुन्न ।’ अर्थात्, निलम्बित प्रधानन्यायाधीश जबराले सौदाबाजी गरेर मन्त्रिपरिषद्मा भाग लिएको आरोप अस्वीकार गरेका हुन् । प्रधानमन्त्री शेरबहादुर देउवाले जबराका जेठान गजेन्द्र हमाललाई उद्योगमन्त्री बनाएका थिए । तर चर्को विरोधपछि उनले दुई दिनपछि नै राजीनामा दिए । जबराको बयान लिइरहेको महाअभियोग सिफारिस समितिले मंगलबार मन्त्री नियुक्तिमा सौदाबाजी गरेको आरोपबारे जबरालाई सोधेको हो । जवाफ दिने क्रममा जबराले यस्तो प्रश्न नआएको भए हुन्थ्यो । धेरै कुरा खोल्दा राम्रो हुन्न । भनेर धेरै कुरा खोलेका छन्, विगतका बयानमा खोलिसकेका छन् ।

पहिलो दिन नै जबराले विभिन्न सवालहरू उठाएका थिए । पाँचौँ दिनसम्म आइपुग्दा उनले आफूमाथि लागेका आरोपहरूको खण्डन गर्दै बचाउका निम्ति  प्रश्न गर्नेहरूमाथि नै प्रश्न उठाइदिए । जबराले आफूमाथि प्रतिशोधका आधारमा महाअभियोग लगाइएको पटक–पटक जिकिर गरे । आफ्नो जिकिर पुष्टि गर्न उनले महाअभियोग लगाउनु र संसद्मा अड्काएर राख्नुलाई बलियो प्रमाणका रूपमा देखाउने प्रयास गरे ।

बौद्धिकहरूको बदख्याईं 
आफूमाथि लागेका आरोपहरूलाई उनले प्रतिनिधिसभा विघटन र पुनर्स्थापन हुने फैसला गर्ने संवैधानिक इजलासका अन्य न्यायाधीशरुलाई मुछ्ने प्रयास गरे । न्यायाधीशहरूको नामै लिएर गम्भीर प्रश्नहरू उठाए ।

न्यायाधीशरुलाई समेत मिलाएर काम गर्न नसक्नु कार्यक्षमताको प्रश्न भएको र कार्यक्षमता नभएपछि महाअभियोग लगाउने आधार तयार भएको भनी सोधिएको प्रश्नमा जबराको बयान छ, ‘बेन्चको कुरा आयो । हरिकृष्ण कार्की हरेक मुद्दा हेर्न पन्छिनु हुन्छ (हुन्थ्यो) । ओलीजीको एजी (महान्यायाधिवक्ता) भएको भन्नुहुन्छ (हुन्थ्यो) । तर, आफूलाई स्वार्थ परेको मुद्दा हेर्नुहुन्छ (हुन्थ्यो)’ ।

कामु प्रधानन्यायाधीशमाथि पनि जबराको कडा प्रहार छ, ‘यो (महाअभियोग) फिर्ता लिन्छौँ, एक डेढ महिना तपाईँ काम गर्नुस्, एक डेढ महिना पछाडि दीपक (दीपककुमार कार्की) लाई दिए हुन्छ भनेर पोलिटिकल पार्टीका शीर्ष नेताले भनेको । मैले त खोलिदिएको छु सार्वजनिक रूपमा ।’

कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीमाथि प्रधानन्यायाधीश पदको लोभले आफूविरुद्ध आन्दोलनको नेतृत्व गरेको आरोप लगाएका जबराले  न्यायाधीश हरिकृष्ण कार्कीमाथि दोहोरो भूमिका खेलेको आरोप लगाएका छन् ।

न्यायाधीश प्रकाशमानसिंह राउतमाथि आचारणजन्य आरोपसहित उनको व्यक्तिगत विषयमा टिप्पणी गरेका थिए । न्यायाधीश ईश्वरप्रसाद खतिवडामाथि संकेत गर्दै ‘इमेल पठाएको’ भनी कटाक्ष गरेका छन् ।

नेपाल बार एसोसिएसनका तत्कालीन पदाधिकारी समेत जबराको आरोपमा परेका छन् । नेपाल बारका निवर्तमान अध्यक्ष चण्डेश्वर श्रेष्ठ र महासचिव लीलामणि पौडेलमाथि न्यायाधीश पदमा भागबन्डा खोजेको आरोप छ । सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्यमाथि मुद्दा मिलाउन सिफारिस गरेको आरोप जबराले लगाएका छन् ।

जबराले भनेका छन्, ‘तत्कालीन बारका अध्यक्ष र महासचिवले न्यायाधीश माग गर्नुभएको थियो । अर्का पूर्णमान शाक्यको पनि स्वार्थ स्पष्ट थियो । यो विषय बोल्दा पनि नहुने, नबोल्दा पनि नहुने आरोपित भएर बस्नुपर्ने ?’

बयानका क्रममा जबराले आफुविरुद्ध बोल्ने पूर्व न्यायाधीशहरुलाई मण्डलेको संज्ञा दिए । जबरालाई पूर्वन्यायाधीश, नागरिक समाज सबैले प्रधानन्यायाधीशको काममा गम्भीर प्रश्न खडा गरेको, नेपाल बारले आन्दोलन गरेको अवस्थामा महाअभियोग अति आवश्यक भएको आरोपबारे प्रश्न सोधिएको थियो । जवाफमा जबराले भनेका छन्, ‘मण्डलेले नै नेतृत्व गरेको छ । जस्तो टोपबहादुर सिंह, हिजोको मण्डले हो । उसले नेतृत्व गरेको छ । त्यसपछि (पवनकुमार) ओझाजी, त्यसपछाडि सबै गर्ने चाहिँ घनघोर मण्डले भनेको शम्भु खड्का हो ।’ निलम्बित प्रधानन्यायाधीश जबराले थपेका छन्, ‘आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर गैरकानुनी माग राख्ने ? गैरकानुनी काम गर्ने ? यस्तोलाई त कानुन बमोजिम बन्द गर्नुपर्ने हो ।’

आफ्नाविरुद्ध चार पूर्वप्रधानन्यायाधीशले पनि बोलेको भन्दै जबराले पूर्व भएपछि मध्य भागमा नै बस्न खोजेको आरोप पनि लगाए । पूर्व भएपछि पनि प्रवृत्तिमा सुधार नआएको भन्दै उनले भने, उहाँहरूले जहिले पनि आफूलाई न्यायाधीश नै मान्नुभयो ।’ न्यायाधीशहरुले पूर्व भएपछि आफूले न्याय सम्पादन गरेको अदालतमा वकालत गर्न नपाउने र सर्वोच्चका न्यायाधीशहरुले केही पनि गर्न नपाउने भन्दै जबराले भनेका छन्, ‘अनि गर्ने के त भन्दा यही न्यायपालिकामा हेर्ने हो । यो न्यायपालिकामा हेर्ने भनेको तीन चिज हो, एउटा मुद्दामा इन्ट्रेस्ट, एउटा न्यायाधीश नियुक्तिमा इन्ट्रेस्ट, एउटा न्यायाधीश र कर्मचारी सरुवामा इन्ट्रेस्ट । यो भन्दा बढ्ता केही होइन ।’

प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले आन्दोलन गरिरहेका बेला पूर्वन्यायाधीश समाजले पनि ५ कात्तिक २०७८ मा विज्ञप्ति जारी गर्दै जबराले राजीनामा दिनुपर्ने बताएको थियो । जबराले राजीनामा दिनुपर्ने बताएको समाजले त्यसो नगरे प्रतिनिधिसभा संवैधानिक कर्तव्य (महाअभियोग)तर्फ अग्रसर हुनुपर्ने बताएको थियो ।

साथसाथै, निलम्बित प्रधानन्यायाधीश जबराले वकिलहरूमाथि पनि लाञ्छना लगाए । उनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठलाई नामै लिएर ठालुको संज्ञा दिएका छन् भने अधिवक्ता ओम प्रकाश अर्यालको चरित्रमाथि प्रश्न उठाएका छन् ।

‘उहाँहरू ठालु सात÷आठ जना मध्येमा नाम लिँदिन । उहाँ ठालुहरूले सर्वोच्च अदालत ‘डोमिनेट’ गरेर ओगटेर बस्नुभएको थियो । त्यो मेरो कालमा नष्ट गरिदिएँ त्यो गिरोहलाई । त्यही गिरोहले मलाई अहिले (महाअभियोग) लगायो । त्यो गिरोहको नेतृत्व एकदमै देखिएकै छ’ जबराले भने । नाम लिँदिन भन्दा भन्दै पनि उनले वरिष्ठ अधिवक्ता रमण श्रेष्ठको नाम लिए ।

‘अस्ति माननीयले सोध्नुभएको थियो मैले नाम लिइनँ, क्विन्टलको कुरा गर्नुभएको थियो । त्यो क्विन्टलको कुरा गर्ने वरिष्ठजी हुनुहुन्थ्यो त्यो नेपाल बारमा व्यक्त गर्नुभयो, पछि भाषणमा पनि व्यक्त गर्नुभयो, अन्तर्वार्तामा पनि बोल्नुभयो त्यो हुनुहुन्थ्यो रमण श्रेष्ठ । उहाँहरू ठालु हो’ जबराले भने ।

एकले अर्कोलाई मुद्दा दिने, राख्ने गरेर सर्वोच्च अदालतलाई ७-८ जनाको गिरोहले ओगटेर राख्ने प्रवृत्तिलाई आफूले तोडिदिएको जबराले बताए । त्यसवापत आफूमाथि महाअभियोग लागेको उनको बयान छ । ‘हिजोको कालमा पनि महाअभियोगको नेतृत्व रमणजीले लिनुभएको थियो आज पनि रमणजीले लिनुभएको छ’ उनले भने ।

जबराले अधिवक्ता ओमप्रकाश अर्यालको पनि नाम लिए । ‘सम्पत्ति शुद्धीकरणको (रिट) दिन गोविन्द केसीजी जानुभएको थियो । त्यसमा जानुहुने अधिवक्ता चाहिँ ओमप्रकाश अर्याल हुनुहुन्थ्यो । यो नोट होस्, ओमप्रकाश अर्यालको क्यारेक्टर एकदमै गम्भीर छ ।’

‘बारको अध्यक्ष चण्डेश्वरजीले न्यायाधीशमा दुई चोटि सिफारिस गर्नुभएको दुवै चोटि मैले इन्कार गरेको हो । पुनदेवी महर्जनजी हुनुहुन्थ्यो मैले उहाँलाई इन्कार गरेको थिएँ । पुनदेवी महर्जनजी ओमप्रकाश अर्यालजीको अर्धाङ्गिनी हो । यत्ति भन्दाखेरि नै पुगिहाल्छ’ उनले अगाडि भने, ‘यसकारण उहाँले नेतृत्व गरेर सम्पत्ति शुद्धीकरणसम्म जानुभो । सम्पत्ति शुद्धीकरणले यो निरर्थक हो भनेर निर्णय नै गरिसकेको छ ।’

एउटा बचाउ र अरूको विरोध
आफूविरुद्धको महाअभियोगमाथि बयान दिने क्रममा निलम्बित प्रधानन्यायाधीश जबराले निरन्तर रूपमा प्रत्यारोप गरे । यसक्रममा उनले पूर्वप्रधानमन्त्रीहरु, पूर्वअर्थमन्त्रीहरुको पनि नाम लिएका छन् ।

जबराले सर्वोच्च अदालतको भवन ठेक्कामा भएको भनिएको भ्रष्टाचार सम्बन्धी आरोपमाथिको प्रश्नमा उनले पूर्ववर्ती सरकारका प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वअर्थमन्त्री विष्णु पौडेलको नाम लिए ।

सर्वोच्च अदालतको भवन निर्माणमा भ्रष्टाचार भएको सम्बन्धमा सोधिएको प्रश्नमा जबराले सकारात्मक शब्दमा जवाफ दिए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको भवन निर्माण सम्बन्धमा अति मेहनत परेको छ । तत्कालीन अर्थमन्त्रीज्यू अहिले यहाँ नै हुनुहुन्छ । उहाँको सौहार्दपूर्ण सहयोगात्मक सहयोग नभएको भए अनि तत्कालीन प्रधानमन्त्रीज्यू सकारात्मक नहुनुभएको भए त्यहाँ एकदमै जटिल अवस्था थियो । अहिलेको अवस्थामा बन्ने नै थिएन, आउने नै थिएन ।’ यो पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई प्रत्यारोप भन्दा बचाउका निम्ति भएको टिप्पणी भएको छ ।

तर, महाअभियोग लगाउने राजनीतिक दलका नेतृत्वको त नामै लिएर कडा प्रहार गरे । राजनीतिक दलहरूले न्यायालयलाई ध्वस्त पार्न आफूलाई महाअभियोग लगाएको टिप्पणी गर्दै उनले महाअभियोग लगाउने राजनीतिक दलका नेतृत्वको नामै किटेर मुछ्ने प्रयास गरे ।

बयानमा जबराले भनेका छन्, ‘मेरो बयानले सिङ्गो न्यायपालिकालाई नै असर पर्‍याे भन्ने कुराहरू बाहिर आइराख्या छन् । यसलाई कसरी समायोजन गर्ने भन्ने कुरो म आफैँले गम्भीर रूपमा बुझ्न सकेको छैन ।’

अझ अगाडि बढेर जबराले नेताहरूको नामै लिए, ‘नेपाली कांग्रेसको डिनाजी (कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना) लाई हुन्छ । उहाँ मकहाँ आउनुभएको हो, यसमा मैले प्रचण्डजी र शेरबहादुरजीसँग सल्लाह गरेर तपाईँसँग कुरा गर्न आएको हुँ । यसलाई हामी फिर्ता लिइदिन्छौ, तपाईँले मिलाएर राजीनामा दिए हुन्छ ।’ कांग्रेस सहमहामन्त्री डिनाले के भनेर पनि जबराले सुनाए, ‘प्रचण्डजीको पनि सहमति, प्रधानमन्त्रीजीसँग पनि बसेर कुरा गरेर आएको हुँ भन्नुहुन्थ्यो ।’

जबराले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल लगायतको पनि नाम लिएका छन् । ‘फागुन एक गते माधव नेपालको मुद्दा (१४ जना सांसदको मुद्दा) थियो । ‘गठबन्धनलाई सिध्याउन खोज्ने ?’, छाती पिटेर ‘यी हामीले महाभियोग ल्याएको हो’ भन्नुभयो । (महाभियोग लगाएकोमा संकेत गर्दै) ‘यी हामीले सिध्यायौं ‘भन्नुभएको हो । यसरी अगाडि बढाउँदै लैजाँदा त भइहाल्छ नि । यो भन्दा बढ्ता दुःखद के छ र ?’ जबराको भावुक बयान छ ।

जानी जानी नाम लिएको संकेत उनी स्वमंले गरेका छन् । ‘यो धेरै खोल्दाखेरि पनि के के भएको जस्तो हुन्छ । त्यसले गर्दाखेरि’ जबराले पटक-पटक भनेका छन् । ‘मेरो बयानले सिङ्गो न्यायपालिकालाई नै असर प-यो भन्ने कुराहरू बाहिर आइराख्या छन् । यसलाई कसरी समायोजन गर्ने भन्ने कुरो म आफैँले गम्भीर रूपमा बुझ्न सकेको छैन ।’ उनले भनेका छन् ।

आफ्नो भनाइ सार्वजनिक भइरहेको छ भन्ने जान्दाजान्दै पनि जबराले व्यक्तिगत आरोप र लाञ्छना नरोकेका हुन् । आफूविरुद्ध धेरै लागेको उल्लेख गर्दै अनेक व्यक्तिको नाम लिइरहेका उनले आइतबारको बयानमा तीन पटक दोहोर्‍याएको उस्तै वाक्य हो– बृहस्पति, बृहस्पति जस्तो, बृहस्पति साँच्चै एक्लो हुँदो रेछ हजुर ।’

जबरालाई लागेको अर्को आरोप हो- संविधान विपरीत आएको अध्यादेश अनुसार विभिन्न संवैधानिक निकायमा भएको नियुक्तिमा साथ दिएको र भाग लिएको । यो आरोप अस्वीकार गदै उनले उल्टै पूर्ववर्ती सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश र अध्यादेश अनुसार नियुक्त भएका÷ संसदीय सुनुवाइ विनै नियुक्ति लिएका ५२ जनाको बचाउ गरे । ‘त्यो बेलाको संवैधानिक नियुक्तिसम्बन्धी कानुन अनुसार हामीले बसेर नियुक्ति गरेका हौँ । त्यो नियुक्तिमा कुनै पनि व्यक्तिहरू अयोग्य छन् भन्ने प्रश्न छैन । प्रक्रियाको कुरामा मात्र विवाद आइरहेका हुन्’ आइतबार महाअभियोग सिफारिस समितिमा बयानका लागि उपस्थित भएका निलम्बित प्रधानन्यायाधीश जबराले भने ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्का अध्यक्षसहित तीन जना भए संवैधानिक परिषद्को बैठक बस्न सक्ने र त्यसले निर्णय गर्न सक्ने गरी ल्याएको अध्यादेशको आधारमा विभिन्न संवैधानिक निकायमा ५२ जनाको नियुक्ति सिफारिस भएको थियो ।

अध्यादेश अनुसार तत्कालीन प्रधानमन्त्री ओली, निलम्बित प्रधानन्यायाधीश जबरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना मात्रै सहभागी भएको संवैधानिक परिषद्को बैठकको सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले २१ माघ २०७७ मा ३२ जना र १० असार २०७८ मा २० जना गरी विभिन्न संवैधानिक आयोगमा ५२ जना नियुक्त गरेकी थिइन् । नियुक्ति पाउने ५२ जनाको संसदीय सुनुवाइ भएको थिएन । यस सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दा १ पुस २०७७ देखि सर्वोच्च अदालतमा विचाराधीन छ ।

समग्रमा जबराले आफूमाथिको आरोपलाई गम्भीरतापूर्वक लिने, त्यसको प्रमाण खोज्ने र आफ्नो तर्फबाट सक्दो प्रतिवाद गर्ने प्रयास गरेनन् । परिवार र नातेदारको विषयमा गोलमटोल जवाफ दिए । आफ्ना बाबुका सन्तानहरू र उनीहरूका समेत वंशवृक्ष केलाउँदै ७७-७८ पुग्ने भन्दै घुमाउरो रूपमा सबैको क्रियाकलाप आफूलाई थाह नहुने जवाफ दिए ।

केही नातेदारलाई प्रयोग गरी सम्पत्ति कमाएको आरोपमा उनले प्रतिवाद गरेनन्, बरु परिवारका सदस्य नातेदारको सम्पत्ति आफूले खोज्न नमिल्ने बताए । ‘मेरो सम्पत्ति विवरण न्यायपरिषदबाट झिक्दा भइहाल्छ’ जबराले बयानका क्रममा भने, ‘नेपालको संविधानले सबै नागरिकलाई उमेर पुगेपछि स्वतन्त्र मान्छ । सबैको हरहिसाब खोज्न मिलेन । (सबै नातेदारको सम्पत्तिको विषय) त सम्भावना भन्दा बाहिरको कुरा भयो ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + sixteen =